कोरोना संक्रमणबाट जीवन जोगाउन कोभिड–१९ विरुद्धको खोप प्रभावकारी मानिएको छ । पश्चिमा देशहरूमा खोप उत्पादन र प्रभावकारिताका बारेमा विभिन्न अनुसन्धान भइरहेका छन् । कोरोना संक्रमणबाट आक्रान्त विश्वलाई खोप उत्पादनपछि नयाँ आशाको सञ्चार गराएको छ । तर अहिलेसम्म उत्पादन भएका खोप प्राप्त गर्न सहज छैन र पर्याप्त पनि छैनन् । छिमेकी देश चीन र भारतले पनि खोप उत्पादन गरेका छन् । भारत भने यतिबेला कोरोना भाइरसको सबैभन्दा चपेटामा छ । र, त्यहाँका सबै नागरिकले खोप प्राप्त गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा नेपाल सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको भए पनि खोप आउन ढिलाई हुने देखिन्छ ।
छिमेकी देश चीनले भने खोप उत्पादन गरिरहेको छ । उसले अन्य देशहरूलाई पनि निर्यात गर्दै आएको छ । अब नेपाल सरकारले हरेक नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन पुग्ने गरी आयात गर्न जरूरी छ । किनकि कोरोना भाइरसको दोस्रो लहर निकै घातक देखिएको छ । यसबाट जोगिन खोप अनिवार्य जस्तै बन्न पुगेको छ । यद्यपि चीनले एक चरणमा अनुदानमा खोप दिएकाले खरिद गरेरै भए पनि खोप लगाउन जरूरी छ ।
हुन त सरकारले चीन, रूस र अमेरिकाबाट खोप खरिदका लागि कुटनीतिक प्रयास तीब्र पारेको जनाएको छ । चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउने प्रयत्नमा सरकार छ । तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल तीब्र पािरनु पर्दछ । कोभिड संक्रमण दर बढ्दै गएकाले यसबाट बच्न खोप लगाउनै पर्ने देखिन्छ ।
एक चरण पहल लिने र त्यसपछि सुस्ताउने बानी नेपालीको भएको छ । बेलैमा पहल नलिदा कतिपय समस्याहरू जटिल बन्न पुग्दछन् । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई खोप लगाउने काम भयो । त्यसपछिको समय भने ‘ग्याप’ रह्यो । हामीले यो बीचमा खोप आयातका लागि पहल लिनु पर्दथ्यो । त्यसो गर्न सकेको भए धेरै नागरिकले अहिलेसम्म खोप लगाइसकेका हुन्थे । जब महामारी व्यापक हुँदै जाँदा खोप ल्याउने तयारी भएको छ ।
ढिलै भए पनि सरकारले आम नागरिकलाई कोभिड–१९ विरुद्धको खोप आयात गर्ने जुन तयारी गरेको, यस कदमलाई स्वागत गर्नै पर्दछ । फेरि खोप लगाएपछि कोरोनाले संक्रमण गर्दैन भन्ने होइन । कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाउनै पर्दछ । यत्ति हो कथंकदाचित कोरोना संक्रमित भइहाले पनि खोप लगाएपछि पराजित गर्न सकिन्छ । त्यसैले खोप आयात गर्ने कुरा नागरिकको जीवन रक्षासँग जोडिएको महत्वपूर्ण कुरा हो । यतिबेला जे जसरी हुन्छ, जीवन जोगाउने कुरा नै सरकारको प्राथमिकतामा परेको छ र पर्नु पनि पर्दछ । यतिबेला देशका अधिकांश जिल्लामा लकडाउन छ । यसलाई सबै नागरिकले आफ्ना लागि हो भनेर पालना गर्न जरूरी छ ।