बुटवल । बुटवल उप–महानगरपालिकाले उप–महानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन लिएर पुग्नेछ ।
मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गरे । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुनेगरी व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए ।
कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै पुगिरहेका बेलामा अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पु¥याउने गरी नयाँ व्यवस्था गरिएको छ । एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।
बुटवलका अस्पतालमा आइसीयु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले मुलुकमै नौलो कामको थालनी गरेको हो ।

कोरोनाको दोस्रो लहरमा संक्रमितलाई आइसीयु बेड चाहिने र अक्सिजन थेरापीको खाँचो परेको छ । अक्सिजनसहितको आइसीयु बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर मुलुकमै नौलो कार्यक्रमको सुरुआत गरेको छ ।
होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधि घरमै पु¥याइरहेको छ ।
होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइने छ ।
उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिण्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए । उक्त कार्यदलमा रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत हुनुहुन्छ ।
अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलब्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको संयोजक एवम् उपप्रमुख आचार्यले बताइन । जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको उनले बताइन ।
आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा
कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख, उपप्रमुखसहितको टोली यस वर्ष पनि घरदैलोमा गएको छ । होम आइसोलेसनमा बसेकाहरूका लागि भिटामिन बी, सी, डी र ई, अमला र गिलोयोको चूर्ण, जीङ्ग ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोलसहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधिहरू यस वर्षपनि संक्रमितको घरघरमा पुगेका छन् ।
उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेका छन् । आयुर्वेद ओखती र जडीबुटीसहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघरमा पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले बताइन । बुटवलले मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो । महामारी नियन्त्रणमा बुटवलमा भएका नमूना काम मध्येको यो पनि एउटा हो ।
बुटवलले यहाँ डायलासिस गराउने जुनसुकै बिरामीका लागि पनि निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै, सहयोगापेक्षी सडकमानवलाई तत्कालै उद्दार गरेर आश्रममा राख्ने, परीक्षण गर्नेसम्मका उदाहरणीय काम गर्दै आएको छ ।