परासी । पश्चिम नवलपरासीमा कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि बेड अभाव हुन नदिन स्थानीय तहहरूले आइसोलेन्सन सेन्टर संचालन गरेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । रामग्राम नगरपालिकाले अक्सिजनसहितको बीस बेडको आइसोलेसन संचालनको तयारी गरेको छ ।
पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको प्रत्यक्ष निगरानीमा सोही केन्द्रको नयाँ भवनमा अक्सिजनसहितको दश बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । सञ्चालनमा आएको उक्त सेन्टरमा हाललाई पाँच वेडमा अक्सिजनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बैजु गुप्ताले बताए । आइसोलेसनका लागि एक जना चिकित्सकसहित स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया पनि चलिरहेको गाउँपालिकाले जनाएको छ ।
उक्त आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि अस्पतालको चाप कम हुनुका साथै अक्सिजन र वेड अभावमा ज्यान गुमाउने अवस्था कम हुने बताउँदै आइसोलेसनले बेड नपाएर छटपटाइरहेका बिरामीलाई राहत पुग्ने जनाउँदै सङ्क्रमण समुदायस्तरमा फैलिसकेकोले यसको रोकथाम र नियन्त्रणका लागि आफूहरु दिनरात खटिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
बिरामी ल्याउनका लागि आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।