तीन तहका सरकारले गत वर्ष यही सिजनमा भएको महामारी बिर्सेर तयारी नगरेपछि यो वर्ष झन बिजोग भइरहेको छ ।
लुम्बिनी संवाददाता
बुटवल
कोरोना महामारीका पहिलो चरणबाट पाठ नसिक्दा दोस्रो चरणमा अवस्था भयावह देखिएको छ । तीन तहका सरकारले समयमै स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापन नगर्दा नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । पछिल्लो दुई सातामा दर्जनौ कोरोना संक्रमितले उपचार नपाएरै ज्यान गुमाएका छन् ।
रूपन्देहीको देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री लुम्बिनी प्रादेशिक अस्पतालको बाहिर उभिएर टोलिफोनमा बोलिरहेका थिए । उनले बिहानैदेखि आइसियुसहितको खोजी गरे । वडाध्यक्षकी श्रीमतीलाई आइसीयुमा राख्नु थियो । बुटवलदेखि काठमाडौंसम्मका अस्पतालमा फोन गरे तर आइसीयु बेड फेला परेन । कोरोना संक्रमणपछि अक्सिजन कमी भई थलिएकी वडा नम्बर ६ का वडाध्यक्ष दामोदर क्षेत्रीकी ४९ वर्षीया श्रीमती कुष्ण कुमारीलाई उपचारका लागि बुटवल ल्याइएको थियो । चिकित्सकले आइसीयुमा राख्न सुझाव दिए । तर, बेड फेला नपरेपछि ‘फिभर वार्ड’मै राखियो । बैशाख १४ गते मंगलबार उनको निधन भयो ।
पश्चिम नवलपरासी रामग्रामका ३५ वर्षीया युवाले उपचार नपाएर ज्यान गुमाए । पृथ्वीचन्द्र अस्पतालमा बैशाख १३ गते उपचारका लागि आएका उनलाई आइसीयु आवश्यक थियो । उनका आफन्तले चारैतिर खोजी गरे तर आइसीयु बेड फेला परेन । आइसीयु नभएपछि अस्पतालले त्यहीकै नर्मल बेडमा राखेर सिलिण्डरबाट अक्सिजन दियो । तरपनि उनको जीवन बच्न सकेन । बैशाख १४ गते मंगलबार उनको ज्यान गयो । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. मोहम्द नुरूल होदा आइसीयु नभएकै कारण उनको ज्यान गएको बताउँछन् । ‘हामीले बुटवल र भैरहवाका अस्पतालमा आइसीयु बेड खोज्यौ तर खाली भएन,’ उनले भने–‘आइसीयुको सहयोगमा उपचार गर्नुपर्ने बिरामीको उपचार नभएरै ज्यान गयो ।’
यी दुई पछिल्लो साता भएका घटना हुन् । लुम्बिनी प्रदेशमा आइसीयु नपाएरै मृत्यु हुने बिरामीको संख्या बढ्दै गएको छ । बुटवलमै ६ जनाभन्दा बढीको अक्सिजन खोज्दा खोज्दै ज्यान गयो । ज्यान जाने जोखिम बढी रहेको चिकित्सकहरू बताउँछन् । गत वर्ष कोरोना महामारी भएपछि लुम्बिनी प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ्ग, नेपालगञ्जमा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्यायो । पहिलो चरणको महामारी सकियो । ०७७ चैतको दोस्रो सातासम्म आइसीयु बेडमा एकाध बिरामी थिए ।
चैतको दोस्रो साताबाट भारतमा संक्रमण उच्च दरमा बढ्न थाल्यो । त्यसयता रूपन्देहीको बेलहिया नाकाबाट मात्रै १० हजार बढी नेपाली स्वदेश फर्किए । भारतबाट फर्किएकाबाट नेपालमा दोस्रो चरणको संक्रमण फैलने र बिरामी बढ्ने चेतावनी चिकित्सकहरूले दिइरहेका थिए । पहिलो चरणको महामारी र चेतावनीबाट सरकारले चेत नखाएपछि दोस्रो चरणमा विजोग अवस्था सिर्जना भएको छ ।
लुम्बिनी प्रदेशमा पछिल्लो साता दैनिक एक हजारभन्दा धेरै संक्रमित थपिएका छन् । तर, अस्पताल बेड र आइसीयुहरू एक वर्ष अघिकै हालतमा छन् । कतिपय निजी अस्पतालको सेवा अहिले बन्द छ । अस्पतालमा बेड नथपिने र लक्षण भएका संक्रमित बढ्दा स्थिति भयावह हुने चेतावनी चिकित्सकको छ ।
प्रदेश सरकारले सञ्चालन गरेको दाङको बेलझुण्डी, बाँकेको भेरी अस्पताल, बुटवलको कोरोना विशेष र भैरहवाको भीम अस्पतालमा मात्रै आइसीयुसहितका बेड छन् । त्यो संख्या जम्मा ३९ छ, भेन्टिलेटर २१ वटा छन् । जटिल प्रकृतिका बिरामी मात्रै यहाँसम्म आउने गरेका छन् । एउटा बिरामीलाई निको हुन ९ देखि २० दिनसम्म लाग्ने गरेको छ । निको वा मृत्यु भएमात्रै अर्काे बिरामीले उपचार पाउँछन् ।
लुम्बिनी प्रदेशमा बैशाख २० गतेसम्म संक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ । यी संक्रमितको उपचारका लागि प्रदेशभर जम्मा ३ सय ३४ वटा सुविधायुक्त बेड छन् । अन्य सामान्य बेडको संख्या ५ सय २६ छ । तयारी नहुँदा………………
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चारवटा सरकारी कोभिड अस्पतालमा ३९ आइसीयु र २१ भेन्टिलेटर छन् । अन्य एक सय तीन एचडीयु हुन् । सरकारी अस्पतालमा १ सय ९२ वटा बेड छन् । यो संख्या गत वर्षभन्दा पनि कम हो ।
निजी क्षेत्रका ८ वटा अस्पतालबाट कोरोनाको उपचार हुने गरेको छ । ती अस्पतालमा १ सय ७१ आइसियु, एचडीयु र भेन्टिलेटर छन् । सामान्य बेड संख्या ३ सय ३४ मात्रै छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो चरणमा देखिएको संक्रमणमा लक्षणसहितका बिरामी धेरै छन् । अधिकांशलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । त्यसैले मृत्युदर समेत बढेको छ । ०७८ को बैशाख महिनाको २० दिनमा मात्रै लुम्बिनी प्रदेशमा १ सय ६५ जनाको ज्यान गएको छ । यो अघिल्लो महामारीमा मृतकमध्येको झण्डै आधा हो ।
जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी दोस्रो लहरको कोभिड तीब्रगतिमा सर्ने र लक्षणसहित देखिने गरेको बताउँछन् । ‘अहिले जसलाई लक्षण देखिएको छ, उसलाई अक्सिजनको सहायता आवश्यक देखिएको छ,’ उनी भन्छन्–‘यसो हुनु डरलाग्दो हो । सचेत र तयारी धेरै हुनुपर्छ ।’
कोरोना संक्रमितको बिरामी उपचारका लागि भइरहेको तयारीप्रति सरकारी कर्मचारी नै असन्तुष्ट छन् । सरकारले अहिलेसम्म अस्पतालमा पुगेका बिरामीको मात्रै निगरानी गरिरहेको छ । लुम्बिनी प्रदेशमा संक्रमितको १० प्रतिशत पनि अस्पताल पुगेका छैनन् । धेरै घरमै बसेका छन् । घरमै बसेका करिव एक दर्जन बिरामीको मृत्यु भएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ स्थानीय सरकारले होम आइसोलेसनमा बसेका बिरामीको निगरानी गर्नुपर्ने बताउँछन् । ‘रूपन्देहीमा एकसय बिरामीलाई हेरचाह गरेर मात्रै भएन, बाहिर भएका २२ सय संक्रमितलाई कसले निगरानी गर्ने ?’ उनले भने ।
स्थानीय सरकार चुपचाप
दोस्रो चरणको कोरोना संक्रमण रोक्न सीमामा कडाई हुनुपर्ने थियो । तर, जिल्लामा लकडाउन सुरु भइसक्दा पनि सीमाबाट निर्वाध आउनेक्रम जारी छ । पहिलो चरणको महामारीमा स्थानीय सरकारले सीमाबाट आफ्नो पालिकाका नागरिकलाई गाउँकै क्वारेन्टाइनसम्म ल्याउने काम गरेका थिए ।
रूपन्देहीका सैनामैना, बुटवल, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिकाले अस्पताल नै बनाएर सेवा थालेका छन् । अरू स्थानीय सरकार कोरोना महामारीप्रति बेखबर जस्तै बनेका छन् । रूपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले हरेक स्थानीय तहले एउटा आइसोलेसन अस्पताल बनाउने हो भने महामारी नियन्त्रणमा सहज हुने बताउँछन् । सैनामैना नगरपालिकाले ५ आइसीयुसहित ४५ बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।
प्रदेश सरकार सधै सुस्त
चार वटा कोरोना अस्पताल सञ्चालन गरेको प्रदेश सरकार एक वर्षअघिकै बेड संख्यामा सिमित भएको छ । बाँके जिल्ला कोरोनाले आक्रान्त हुँदा समेत प्रदेशको तयारी थिएन । प्रदेश सरकारले चारवटा अस्पतालमा आइसीयु बेड थप्न बैशाखको पहिलो सातामात्रै एक करोड ७५ लाख बजेट बिनियोजन गरेको छ । तर, त्यसको प्रक्रिया अझै सुरु भएको छैन ।
कोरोनाबाट बाँके सबैभन्दा बढी आक्रान्त छ । यहाँ ८० भन्दा धेरै चिकित्सक नै संक्रमित भएका छन् । अस्पतालमा बेड नहँुदा सबैभन्दा बढी तनाव चिकित्सकले झेल्नुपरेको छ । ‘दैनिक हजारजति बेड चाहियो भन्दै फोन आउँछ, हामी त निरिह नै भएका छौं’, भेरी अस्पतालको आकस्मिक बिभागका डा. देवेन्द्र आचार्य भन्छन्, ‘हामीले हाम्रै लागि पनि बेड सुरक्षित गर्न सकेनौं ।’
दोस्रो चरणमा आएको कोरोना भेरियन्टले युवापुस्तालाई आक्रमण गरेकाले चिकित्सकहरू झन भयावह अवस्था देख्छन् । जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख गिरीका अनुसार अहिले युवापुस्तामा संक्रमण देखिने दर ६०÷४० मा छ । पहिलो चरणमा जेष्ठ नागरिक ८० प्रतिशत थिए भने युवाहरू २० प्रतिशत । अहिले करिव ६० प्रतिशत देखिन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले आइसीयु र अन्य सामान्य बेड थप्ने तयारी भइरहेको बताए । ‘सरकारले बजेट बिनियोजन गरिसकेको छ, अहिलेकै कोरोना अस्पतालहरूमा बेड थपिनेछन् ।’– उनले भने । उनले बुटवलसहित केही अस्पतालमा बेड थपिइसकेको बताए ।
अस्पतालहरूमा बेड मात्रै होइन, जनशक्ति र अक्सिजनको समेत अभाव छ । बाँकेको बेलझुण्डी, बुटवलको धागो कारखाना, बाँकेको भेरी अस्पतालमा सीमित जनशक्तिले सेवा दिएका छन् । संक्रमित चिकित्सक नै सेवामा छन् । गतवर्ष प्रदेश सरकारले भर्ना गरेका करीव दुई सय स्वास्थ्यकर्मीको अवधि सकिएपछि जनशक्ति अभाव भएको हो । प्रदेश सरकारले आइतबार मात्रै झण्डै ६ सय नयाँ जनशक्ति कोरोना अस्पतालमा थप्ने निर्णय गरेको छ ।