राधिका भुसाल
प्यूठान
स्थानीयबासीमा कोरोना भाइरस फैलिने त्रासका आइसोलेसन सेन्टरमा जाने बाटोमा स्थानीयले पु¥याएको अवरोध प्रमुख जिल्ला अधिकारी आफैले पन्छाएका छन् । स्थानीयबासीले जिल्ला अस्पताल प्यूठानले साविक जिल्ला स्वास्थ्य कार्यालयको भवनमा सञ्चालन गरेको आइसोलेसन सेन्टर जाने मुख्य बाटोमा अवरोध गरेका थिए । सोमबार प्रहरी तथा सशस्त्र प्रहरी टोलीसहित पुगेका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले तारबार गरिएको अवरोध हटाएका हुन् ।
कोभिड बिरामीको प्रारम्भिक रोग परीक्षण तथा उपचार हुने उक्त आइसोलेसन सेन्टरमा ५ जना कोभिड बिरामीहरूको उपचार भइरहेको छ । स्थानीयहरूले बिजुवारमै तयार गरिएको निर्माण व्यवसायी संघको भवनमा अवस्थित आइसोलेसन सेन्टर जाने बाटोमा समेत अवरोध सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । ‘पहिलो पटकलाई सम्झाई–बुझाई गरेर अवरोध हटाएको छौं,’ भुसालले भने–‘पुनः अवरोध गरे कडा कानूनी कारबाही गरिनेछ ।’ स्थानीय बासिन्दाहरूले महामारीको यो समयमा आफू सुरक्षित हुँदै सामाजिक एकता आपसी भाईचारा सम्बन्धको विकासमा जोड दिनुपर्नेमा प्रमुख जिल्ला अधिकारी भुसालले जोड दिए । यस्तो विपत्को समयमा एकअर्कालाई सहयोग गर्दै आत्मबल बढाउन पर्नेमा संक्रमितहरूको मनमा झन त्रास आउने गरी यस्ता क्रियाकलाप नगर्न प्यूठानबासी जनसमुदायलाई आग्रह गरेका छन् । सार्वजनिक क्षेत्रमा अनावश्यक वादविवाद तथा अवरोध गर्ने जो सुकैलाई स्थानीय प्रसाशन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कडा कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । मंगलबार नै प्रमुख जिल्ला अधिकारी भुसालले स्वर्गद्वारी नगरपालिकाले भिंग्रीमा तयार गरेको तयार गरिएको २५ बेडको आइसोलेसन सेन्टरको समेत अनुगमन गरेका छन् ।
स्रोतका अनुसार जिल्लामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २ सय ३४ जना पुगेको छ भने कोरोनाबाट हालसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् ।