बाँकेमा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएर पनि अन्य संक्रमितको सेवामा निरन्तर खटिएका समाचार सार्वजनिक भएका छन् । पर्याप्त जनशक्तिको अभावका कारण कोरोना संक्रमण भए पनि अस्पतालमा खटिएका छन् । स्वास्थ्यकर्मी स्वयं संक्रमित भएपछि बिदामा बस्न पनि सक्थे । तर उनीहरुलाई आफ्नो स्वास्थ्यको मात्र ख्याल राख्न मनले मानेन् । महामारीका बेलामा सर्वसाधारणको जीवन जोगाउने दायित्व उनीहरुसँग थियो । यही कारण उनीहरु लगातार सेवामा खटिएका छन् ।
बाँकेको मात्रै कुरा होइन, देशभरका कोरोना विशेष अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी लगातार खटिएका छन् । अस्पतालमा छट्पटाएका बिरामीको संख्याअनुसार जनशक्ति छैन । र, पनि घण्टौं पीपीई लगाएर खटिनुु चानचुने कुरा हुन सक्दैन । यतिबेला चिकित्सक र स्वास्थ्यकर्मी सबैभन्दा अग्रमोर्चामा छन् । कोरोना भाइरस संक्रमणको जोखिम पनि उनीहरुलाई नै बढी छ । तर पनि राष्ट्रले खेपेको महामारीको मारबाट देशलाई निकाल्न स्वास्थ्यकर्मीको योगदान महत्वपूर्ण छ ।
कोरोना संक्रमित बिरामीका लागि कतै भगवान छन् भने तिनै चिकित्सक र स्वास्थ्यकर्मी भगवान भएका छन् । पुनर्जीवन दिने कुरामा उनीहरुको नै हात रहेको छ । यद्यपि कतिपय बिरामीलाई बचाउने प्रयास गर्दागर्दै पनि बचाउन सकेका छैनन् । जे होस् यतिबेला चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने गरी हाम्रा भूमिका हुनु पर्दछ । किनकि अन्य नागरिक घरभित्र बसेर कोरोना संक्रमणबाट जोगिन र फैलिन नदिन भूमिका खेल्न सक्दछन् तर स्वास्थ्यकर्मी घरमा बसे भने अवस्था भयावह हुने निश्चित छ ।
आज स्वास्थ्यकर्मीलाई घरमा बस्ने छुट छैन । त्यस्तो कल्पना पनि गर्न सकिंदैन । स्वास्थ्यकर्मीहरुको संक्रियतालाई हामी सबैले सम्मान गर्नै पर्दछ । अरु बेला जस्तो अहिले छैन । कोरोना संक्रमितको उपचारमा खटिनु भनेको बेग्लै चुनौतीको सामना गर्नु हो । ज्यान जोखिममा राखेर बिरामीको सेवा गर्नु हो । अहिलेको समयमा हरेक व्यक्तिले के–कसरी कोरोना संक्रमण हुनबाट जोगिन सकिन्छ भनेर ध्यान पु¥याउन जरूरी छ । यसो गर्नु भनेको अप्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीलाई सहयोग गर्नु हो ।
यतिबेला कोरोना विशेष अस्पतालका बेडहरु भरिएका छन् । स्वाभाविक रुपमा यस्तो अवस्थामा स्वास्थ्यकर्मी प्रेसरमा पर्दछन् । हामीले उपचारमा खटिने सबैलाई हौसला दिनु जरूरी छ । सरकारले पनि दिने भनेको सेवा सुविधा समयमै उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ । स्वास्थ्यकर्मीको आत्मबल र मनोबल उच्च बनाएर मात्रै कोरोना महामारीलाई पराजित गर्न सकिनेछ ।
अहिलेको महामारीका सबैभन्दा अग्रमोर्चामा रहेका योद्धा भनेका स्वास्थ्यकर्मी नै हुन् । अहिलेसम्मको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा थप योगदानको अपेक्षा सिंगो देशले गरेको छ । स्वास्थ्यकर्मीकै कारण धेरै नागरिकले बाँच्छु भन्ने आशा पालेर बसेका छन् । आज सबै स्वास्थ्यकर्मी सलामका पात्र बनेका छन् । हतोत्साहित भएर होइन, उत्साह पैदा गरेर नै कोरोनालाई पराजित गर्न सकिने छ ।