स्याङ्जा । स्याङ्जामा कोरोना संक्रमितको संख्या २ सय १२ पुगेपछि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी र हिमाली जिल्लामा २ सय संक्रमितको संख्या पुगेपछि जिल्लालाई लकडाउन वा निषेधाज्ञा गर्ने निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बैशाख २१ गतेदेखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जारी गरेको आदेशमा भनिएको छ, अत्यावश्यक सेवा बाहेक सबै बन्द हुनेछन् । निषेधाज्ञामा औषधि उपचार तथा आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र अनावश्यक हिंड्डुल गर्न रोक लगाइएको छ ।
सिद्धार्थ राजमार्गमा भने आवागमन बन्द नगरिएको तर जिल्लाभर यात्रु झार्ने र ओराल्न भने नपाईने आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो र दोस्रो लहरको कोरोनाबाट अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् । ती मध्ये ८ सय २१ जना निको भएको र २ सय ४० जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । यसभन्दा अगाडि तीन पालिका वालिङ, गल्याङ र चापाकोटले बैशाख २५ गतेसम्म स्वास्थ्य संकट घोषणा गरी अत्यावश्यक बाहेक सबै बन्द गर्न आह्वान गरेका थिए । जिल्लामा नेपाल सरकारले तोके बमोजिमको कोरोना संक्रमितको संख्या २ सय नाघेकाले जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रजिअ नेपालले बताए । ११ पालिकामध्ये सबैभन्दा बढी कोरोना भेरियन्टले वालिङलाई समस्यामा पारेको छ ।