प्रेम सुनार
गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिकाका विभिन्न धार्मिक स्थानलाई पर्यटकीय गन्तव्य बनाउने भन्दै केन्द्र र प्रदेश सरकारबाट करोडौं रकम विनियोजित भएर आयो र अझै आउँदैछ । तर दोश्रो चरणको कोरोना महामारीको संकटबाट जनता बचाउन जिल्लाको सदरमुकाम मै गत वर्ष स्थापना गरिएको कोभिड ल्याब भने रकम अभावका कारण सञ्चालनमा ल्याउन सकिएको छैन ।
गत वर्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा हिमालय एअरलाईन्सले उपलब्ध गराएको पीसीआर मेशिन र त्यसलाई चाहिने सबै प्रकारको ल्याब सामग्रीसहित उपल्लो तम्घासमा कोभिड ल्याब स्थापना गरिएको थियो । गत असोज ७ गते ठुलो तामझामका साथ परराष्ट्रमन्त्री ज्ञवाली उद्घाटन गर्दै ल्याब सञ्चालनका लागि रकम अभाव हुन नदिने उद्घोष पनि नेताहरूले गरेका थिए ।
केही दिनअघि राजीनामा दिएका लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबमा खटिने स्वास्थ्यकर्मीहरूलाई तलब मन्त्रालयले खुवाउने उद्घोष गरेका थिए । तर त्यो भाषण मै सिमित भएको गुनासो गत बिहीबार बसेको बैठकमा कुरा उठाइएको थियो ।
जिल्ला अस्पतालमा जम्मा ५ शैयाको आइसोलेशन रहेको र अन्य पालिकाहरूले चन्द्रकोट बाहेक काम चलाउ आइसोलेसन स्थापना गरेको बताइएको छ । जिल्लाका कैयौं धार्मिक स्थलहरूको संरचना निर्माणमा करोडौं खर्चिएको छ । सुन्दर पार्क निर्माण, खेल मैदान निर्माणमा पनि त्यति नै रकम स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारबाट परेको हुन्छ तर कोभिडको महामारीबाट जनता बचाउने कुरामा भने संघ र प्रदेशले वास्तै नगरेको पालिका प्रमुखहरूको गुनासो थियो ।
रेसुङ्गासहित विभिन्न धार्मिक क्षेत्रमा के–कति रकम परेको छ ? भनेर प्रश्न गर्दा रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले भने–‘त्यो त बसेर हिसाब गर्नुपर्छ तर अहिले ल्याब पुनः सुचारू गर्नेमा मेरो जोड जाने छ ।’
ल्याब सञ्चालन गर्ने निर्णय भएको पाँच दिन भयो । तर सञ्चालनमा आएको छैन । जिल्ला अस्पतालका प्रमुख डा. उत्तम पाच्यले आर्थिक स्रोतको अभावमा सञ्चालन हुन नसकेको जानकारी दिए । ‘पालिकाहरूले पैसा पठाए सञ्चालन गर्ने हो नत्र कसरी सकिन्छ ।’– उनले भने । उनले स्वास्थ्यकर्मीहरूको तलब अझै ३० लाख बुझाउन बाँकी रहेको र उनीहरू गत माघसम्म ५ महिना ल्याबमा खटेको बताए ।
जिल्ला अस्पतालबाट ज्यानको बाजी राखेर खटिएका १० जना स्वास्थ्यकर्मीहरूलाई तलब खुवाउने पैसा नभएपछि ल्याब बन्द गरिएको जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर पच्याले गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षिय बैठकमा गुनासो राखेका थिए । उनले नगरपालिका र गाउँपालिका प्रमुखहरूलाई भने–‘गत वर्ष खटिएका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसक्दा मलाई पाप लागेको छ, मेरो पाप पखाली दिनुहोस् । ’
गत वर्ष एक करोड बढी खर्च गरेर पीसीआर परीक्षण गर्ने ल्याब स्थापना गर्न १० वटा गाउँपालिकाले १० लाखका दरले र दुई वटा नगरपालिकाले १५ लाखका दरले रकम दिने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये कतिपय पालिकाहरूले बोले जति रकम नदिएकोले तलब खुवाउन नसकिएको डाक्टर पच्याको भनाइ थियो ।
स्वास्थ्य कार्यालयका सुपरभाइजर पशुपति आचार्यका अनुसार अहिले उक्त ल्याब बन्द हुँदा पीसीआर परीक्षणका लागि बुटवलका विभिन्न अस्पताल कुर्नु पर्ने भएको छ । बैठकमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रदेशका कुनै पनि सांसदले कोरोना संक्रमणबाट जिल्लाबासीलाई कसरी बचाउन सकिन्छ भनेर नसोचेका कारण स्थानीय सरकारलाई मात्र बोझ हुन पुगेको गुनासो गरे । प्रदेशमा गुल्मीका ५ जना सांसदहरू छन् । उनीहरूलाई ल्याब सञ्चालनका लागि आग्रह गर्ने बैठकले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सांसदहरूलाई धैरै पटक भनिएको तर निकास ननिस्किएको बताए ।
नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले कोरोना महामारीको संकटमा परेका नेपाली जनताका लागि अहिलेको सरकार निरही र अजिम्मेवार सरकार भएको आरोप लगाए । सोही पार्टीका सचिव खिलध्वज पन्थीले यही हो दुई÷दुई वटा मन्त्री भएको जिल्ला गुल्मीको अवस्था भनेर प्रतिप्रश्न गरे ।
सत्तारूढ दल एमाालेको तर्फबाट सरकारको बचाउ गर्दै रेडिमेट आरोप लिएर प्रस्तुत नहुन पार्टी अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्थले आग्रह गरे । कोभिड महामारीको बैठकमा केही धेरै बेरसम्म दलहरूको दोहोरी चल्यो ।
अन्त्यमा गाउँपालिका बाट दुई÷दुई लाख र नगरपालिकाबाट तीन÷ तीन लाख रकम दिएर कोभिड ल्याब सञ्चालनमा ल्याउने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयनको सुरुसार नहुनु दुःखको कुरा भएको सरोकारवालाले टिप्पणीले गरेका छन् ।
केही महिनाअघि गुल्मीको सदरमुकाम तम्घास आएका प्रदेश सांसद कमलराज श्रेष्ठले एउटा निर्माणधिन मन्दिर देखाउँदै भन्दै थिए–‘यस्ता मठ–मन्दिर, पार्कहरु बनाउन जहाँबाट जति पनि रकम पर्छ तर गरिबहरुका बस्ती सुधार र विपदमा परेका जनताको उद्धारका लागि गाह्रो हुन्छ ।’ कोभिड–१९ व्यवस्थापन केन्द्रकी अध्यक्ष समेत रहेकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गत बिहीबारको बैठकमा निर्णय भएअनुसार जति सक्दो छिटो ल्याब पुनः सञ्चालनमा ल्याउने बताउँदै आएकी छन् ।