केशव पराजुली
नवलपरासी ।
पश्चिम नवलपरासीको सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पतालका कर्मचारीमाथि अभद्र व्यवहार गरिएको छ । आइतबार राति १० बजे रामग्राम नगरपालिका १५ ननईका एक बिरामीका आफन्तहरूले अस्पतालको एमजेन्सी वाडमा कार्यरत अहेब शशी चौधरीलाई अभद्र व्यवहार गरेका हुन् ।
अभद्र व्यवहार गरेपछि अस्पतालका कर्मचारीहरूले अस्पतालका सबै सेवा बन्द गर्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । जिल्ला प्रशासन पुगेका अस्पतालका पीडित कर्मचारीहरूलाई प्रजिअ धर्मेन्द्रकुमार मिश्रले दोषीमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएपछि अस्पतालका सेवा सुचारू गरिएको छ ।
राति १० बजे आएका बिरामीसहितका आफन्तले आफूलाई एकाएक अभद्र व्यवहार गरेको अहेब चौधरीले बताइन । पृथ्वीचन्द्र अस्पतालम रातको समयमा पनि एक जनास्वास्थ्य कर्मीले मात्र सेवा प्रदान गर्नु पर्ने बाध्यता रहेको अस्पतालका अहेब श्यामसुन्दर जैसवालले बताए । उनका अनुसार अस्पताल व्यवस्थापनलाई बारम्बार त्यस विषयमा जानकारी गराउँदा समेत व्यवस्थापक सुरेन्द्र अधिकारीले कुनै बास्ता नगरेको बताए । व्यवस्थापक अधिकारीले अस्पतालका समस्या समाधान गर्नेभन्दा पनि आफ्नो सुविधा कसरी लिने भन्नेमा चासो राख्ने गरेको आरोप अस्पतालका कर्मचारीहरूको रहेको छ । ५९ जना कर्मचारी कार्यरत रहेको अस्पतालमा १७ जना मात्र स्थाई रहेका छन् भने ४३ जना करारमा कार्यरत रहेका छन् । करारमा कार्यरत कर्मचारीहरूलाई काम मात्र लगाउने, सेवा सुविधा माग गर्दा कुनै सुनवाई नभएको उनीहरूले बताएका छन् । कोरोना संक्रमण हुँदा समेत अस्पतालका कर्माचारीहरूलाई पिपिईलगायतका सामग्री उपलब्ध नगराएको आरोप कर्माचारीहरूले लगाएका छन् ।