राजनीतिक उतार चढावकाबीच लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार गठन भएको छ ।
लुम्बिनी संवाददाता
बुटवल
दिनभरमा विकसित भएको राजनीतिक घटनाक्रमले लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनेको छ । माओवादी केन्द्रले दिएको समर्थन फिर्ता भएपछि शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पुगेको थियो । सांसदको पद रिक्तलगायतका घटनाक्रमले अन्ततः एमाले एक्लैको सरकार बनेको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । उनले आइतबार साझा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । प्रदेशसभामा हाल कायम रहेका ८१ सांसदमध्ये ४१ सांसदको हस्ताक्षरसहित पुगेपछि एमालेका नेता पोखरेल मुख्यमन्त्रीमा नियुक्त भए । लुम्बिनी प्रदेशमा रहेका ८७ सांसदमध्ये ६ जना सांसदको पद रिक्त रहेको छ ।
माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टीका चार सांसदको पद रिक्त रहेको छ । ६ सांसदको पद रिक्त हँुदा नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमतको सरकार बनाएको हो ।
त्यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । प्रदेशसभामा कांग्रेस, माओवादी र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमाथि छलफलकै दिन मुख्यमन्त्रीले राजीनामा दिए । यसअघि दुई दलको बहुमतका आधारमा पोखरेल मुख्यमन्त्री बनेका थिए । माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा थिए । अल्पमतमा परेका मुख्यमन्त्रीले जसपाका चार सांसदलाई बैशाख ६ गते सरकारमा भित्र्याउँदै बहुमत जुटाएका थिए ।
सरकारमा पुगेको १० दिनमै जसपाका चार सांसदलाई पार्टीले निस्कासित गरेपछि मुख्यमन्त्री पोखरेल एकल बहुमतमा बलियो बने । एमालेको संसदीय दलले मुख्यमन्त्रीमा पोखरेललाई प्रस्ताव गर्दै आइतबार प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएको थियो । हस्ताक्षर बुझाएलगत्तै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव एवं प्रवक्ता चिरञ्जिवी पौडेलले ४१ सांसदको हस्ताक्षरका आधारमा बहुमतको सरकार गठन भएको बताए । ‘हामीकहाँ ४१ सांसदको हस्ताक्षर आएको थियो,’ उनले भने–‘संविधानअनुसार त्यसकै आधारमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।’
पोखरेललाई मुख्यमन्त्री बनाउन एमाले माधव नेपाल समूहमा खुलेका विष्णु पन्थी र रमा घर्तीले पनि हस्ताक्षर गरेका छन् । लुम्बिनीबाट पार्टी एकताको सन्देश दिन समर्थन भएको बुझिएको छ ।
मुख्यमन्त्री नियुक्त भइसकेपछि कांग्रेस र माओवादी गठबन्धनले आफूहरुसंग बहुमत सदस्य रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको छ । पोखरेललाई समर्थन गर्दै हस्ताक्षर गरेकी दाङबाट उपचुनावमा निर्वाचित विमला वली (खत्री)ले आफू माओवादी पार्टीमा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी थिइन् । ‘म नेकपाबाट निर्वाचित भएकी हँु, राजीखुसीले माओवादी केन्द्र रोजे ।’– उनले भनिन् ।
त्यस्तै आइतबार नै कपिलवस्तुबाट निर्वाचित एमालेका दृगनारायण पाण्डेले संसद पदबाट राजीनामा दिएका छन् । बिहान एमाले संसदीय दलको बैठकमा बसेर मुख्यमन्त्रीको प्रस्तावमा हस्ताक्षर गरेका उनले पछिल्लो राजनीति प्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएको बताए ।
सूर्य चिन्हबाट निर्वाचन जितेका हृदेष त्रिपाठी समूहका नवलपरासीबाट निर्वाचित अजय शाही र कपिलवस्तुबाट निर्वाचित धर्मलाल श्रीवास्थवले पक्ष र विपक्ष दुबैमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीमा शंकर पोखरेललाई प्रस्ताव गरेका उनीहरुले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई पनि समर्थन गरेका छन् ।
शपथ रोक्न धर्ना
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरेको गठबन्धनले प्रदेश प्रमुखलाई ४२ सांसदको हस्ताक्षर बुझाएको छ । जसमा एमालेका तीन जना सांसदको हस्ताक्षर पनि छ । सोही हस्ताक्षरका आधारमा केसीलाई मुख्यमन्त्री नियुक्ती गर्न माग गर्दै गठबन्धनले प्रदेश प्रमुख कार्यालयमा धर्ना ग¥र्याे ।
कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले एमालेले बिमला वलीको हस्ताक्षर दुरुपयोग गरेर एकल बहुमतको दाबी गरेको बताए । ‘एमाले अल्पमतमा छ । अल्पमतको सरकार गठन हुन सक्दैन ।’– उनले भने ।
बने चार मन्त्री
शंकर पोखरेलले आफूसंगै क्याबिनेटमा दुई जना मन्त्रीलाई शपथ दिलाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा बैजनाथ चौधरी नियुक्त भएका छन् । चौधरीले केही दिन अघिमात्रै यो मन्त्रालय सम्हालेका थिए ।
त्यस्तै प्यूठानका सांसद हरि रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि यो मन्त्रालय सामाजिकमा थियो । केही दिनअघि मात्रै मन्त्रालय टुक्राइएको थियो ।
जनता समाजवादी पार्टीका दुई जना नेताहरू सन्तोष पाण्डे र विजयबहादुर यादव पुनः मन्त्री भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले रुपन्देहीका पाण्डे र बाँकेका विजयबहादुर यादवलाई मन्त्री नियुक्त गरेका हुन् । पाण्डे र यादवले यसअघि नै सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।