नेपालमा कोरोना संक्रमण दर दिनहुँ बढिरहेको छ । अहिलेसम्म संक्रमणको चेन ब्रेक गर्न सकिएको छैन । यही कारण संक्रमण बढिरहेको छ । पछिल्लो समय कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पनि चेकजाँच नगरेर सुरक्षित रूपमा घरमै बस्नेहरू थुप्रै छन् । अस्पतालहरू संक्रमितले भरिएकाले चेकजाँच गराउन छाडेका छन् । अवस्था यस्तो आउँदैछ कि कसरी बाँच्ने भन्ने त्रासले पनि नागरिक मानसिक समस्यामा पर्न थालेका छन् । कोरोनाले चौतर्फी घेराबन्दी गरिसकेको छ । शहरबजारमा मात्र होइन, गाउँघरमा समेत कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमणको डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै सरकारले भीडभाड हुने र संक्रमण फैलिएका मुख्य ठाउँहरूमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा लगाउनुको मुख्य उद्देश्य कोरोना संक्रमणको चेन ब्रेक गर्नु हो । अर्थात् संक्रमण फैलिनबाट रोक्नु हो । नागरिकको जनसम्पर्क टुटाउन सकियो भने संक्रमणमा कमी आउन सक्छ भन्ने सरकारको बुझाई छ । तर यसका लागि सबैको सहयोग जरूरी रहन्छ । सरकारी निर्देशन पालना गरिएन भने केही अर्थ रहँदैन । छिमेकी देश चीनमा सरकारी आदेशको पालना हुँदा सोचेभन्दा छिटो कोरोना नियन्त्रणमा आयो । तर अमेरिका, भारतलगायतका देशमा लापरबाही हुँदा संक्रमण काबु बाहिर गएको छ ।
नेपालमा पहिलो पटकको लकडाउनमा सरकारी आदेशको राम्रैसँग पालना भयो । तर अहिलेको निषेधाज्ञामा भने हेलचेक्र्याई कायमै छ । दिनहुँ कोरोना संक्रमण बढिरहेको छ तर नागरिकले मास्क समेत नलगार्ई सडकमा हिंड्ने क्रम रोकिएको छैन । यातायात र पसल बन्द भएर मात्रै कोरोना संक्रमण रोकिने होइन, स्वास्थ्य सुरक्षा सावधानी अपनाएपछि मात्रै संक्रमण फैलिन पाउँदैन । जबसम्म हरेक नागरिकले आफू बाहेक सबैलाई कोरोना संक्रमण भएको अनुभूति गर्दैन र सोहीअनुसार सावधानी अपनाउँदैन तबसम्म कोरोना संक्रमणको जोखिम कायमै रहन्छ । तसर्थ हरेकले आफूलाई बाहेक सबैलाई कोरोना संक्रमण भएको सम्झनु पर्छ र सोहीअनुसार सावधानी अपनाउनु पर्छ र सोहीअनुसार सावधानी अपनाउनु पर्छ । कोरोनाले को आफ्नो र को पराई भन्ने चिन्दैन । त्यसैले सबैसँग सुरक्षित रहनु पर्दछ ।
हामी सबैले बुझ्नु पर्ने मूल कुरा भनेको घरभित्रै बसियो भने कोरोना संक्रमण हुँदैन । सुरक्षा र सावधानी अपनाएर घरभित्रै बसियो भने कोरोना सर्ने सम्भावना असम्भव प्रायः हुन्छ । सरकारले सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाएकोे छ । यसको मतलब कतै हिंड्डुल नगर भनेको हो । सरकारको यो आदेश मान्नु भनेको सुरक्षित हुनु हो । अरूलाई पनि सुरक्षित राख्नु हो ।
त्यसैले सरकारले आदेश गरेअनुसार सबैले व्यवहारमा लागू गर्न सकियो भने कोरोना संक्रमित हुनबाट जोगिन सकिन्छ । विना काम लखर–लखर हिंड्डुल गर्ने नगरौं । महाविपत्तिको बेला सबै संयमित हुन जरूरी छ । पहिलो चरणको भन्दा दोस्रो चरणको संक्रमण निकै खतरा र घातक छ । यस अघि केही नभएका युवा पनि अहिले संक्रमणको शिकार भइरहेका छन् र कैयौंले ज्यान गुमाइरहेका छन् । कुुनै रोग नलागेका युवाहरूले ज्यान गुमाइरहेका छन् । तसर्थ स्वअनुशासनमा बस्न सकियो भने जीवन जोगिन सक्छ भन्ने कुरा कसैले नभुलौ ।