कोरोनाले महामारीको रूप लिइसकेको छ । यस्तो बेलामा कोही पनि हतास भएर होइन संवेदनशील बनेर राज्यले जारी गरेका निर्देशनहरू पालना गर्नु सबैको कर्तव्य हो । नेपालमा कोरोना संक्रमित बढ्दै जाँदा उपचार प्रणालीले धान्न कठिन हुनसक्छ तर जस्तो सुकै अवस्थामा पनि राज्य जिम्मेवार र संवेदनशील बन्नु पर्दछ । र नागरिकले पनि जिम्मेवार रूपमा आफ्नो भूमिका खेल्नु पर्दछ । कोरोनाको दोस्रो लहरले चौतर्फी हमला गरिरहेको छ । यस्तो बेलामा कसैले पनि लापरबाही गर्नु हँुदैन ।
अस्पतालहरूमा बेड अभाव हुन थालेको छ । अक्सिजन , आइसीयु र भेन्टिलेटर अभाव हुन थालेको छ । कोरोना संक्रमित बिरामीको उपचारको लागि तोकिएका अस्पतालहरू भरिएका छन् । अब कति पनि ढिला नगरि देशका प्रमुख शहरका निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था गरिनु पर्दछ । किनकी सरकारी अस्पतालले नधान्ने अवस्था आइसकेको छ । निजी अस्पतालहरूलाई कोरोना विशेष अस्पतालका रूपमा रूपान्तरण गर्न ढिला गर्नु हँुदैन । निजी अस्पतालसंग भएको जनशक्ती र स्रोत साधनको समुचित प्रयोगका लागि यथोचित पहल लिनुपर्दछ ।
अवस्था यस्तो आउँदै छ कि सरकारी अस्पतालले र निजी अस्पतालले पनि संक्रमितको उपचार गर्न संभव नहुन सक्दछ । यस्तो अवस्थामा नेपाली सेना र प्रहरीको सहयोग लिएर कोरोना प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरू स्थापना गर्नु बुद्धिमानी हुनेछ । जहाँ अक्सिजनसहितको उपचारको व्यवस्था होस् । आम नागरिकले कोरोना संक्रमित भइहाले पनि बाँच्छु भन्ने आशा जगाउनको लागि पनि उपचार केन्द्रहरू निर्माण गर्न ढिला गरिनु हँुदैन । यसैगरी अहिले रहेको चिकित्सक र स्वास्थ्यकर्मीको जनशक्तिले मात्रै भोलिको महामारी थेग्न कठिन छ । राष्ट्रलाई अफ्ठ्यारो परेको बेला जो कोहीले पनि काँध थाप्नु पर्दछ । नेपालमै र विदेशमा समेत सेवानिवृत्त चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । उनीहरूसंग पर्याप्त अनुभव र दक्षता छ । यसैले उनीहरूलाई महामारीमा सघाउनका लागि राष्ट्रले आह्वान गर्नुपर्दछ । बिरामीको उपचार सेवामा स्वयंसेवी भइ सहयोग गर्न अपिल गर्नुपर्दछ । यसो गर्न सकियो भने धेरै नागरिकको जीवन जोगाउन सकिने छ ।
अहिलेको अवस्थामा छिमेकी देश भारतले सहयोग गर्न सक्ने अवस्था छैन । उ आफै कोरोनाले थलिएको छ । अर्को छिमेकी देश चीनसंग विपद व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर पीपीई जस्ता आवश्यक सामग्री सहयोगका लागि अपिल गर्न जरूरी छ । कोभिड–१९ विरूद्धको खोप पनि आयात गर्न सकिन्छ । जसका लागि तत्काल कुटनीतिक पहल थाल्नुपर्दछ । सरकारले बेलैमा पहल नगर्ने हो भने पछुताउनु सिवाय केही हुनेछैन ।
महामारीको बेलामा ठिक समयमा चालिने स्टेपले ठूलो अर्थ र महत्व राख्छ । यतिबेला कुनै आरोप लगाएर वा दोष दिएर कोही उम्कन सक्दैन । सरकारले अभिभावकको भूमिका खेल्ने र नागरिकले सरकारी आदेश पालना गर्नै पर्दछ । अहिले जीवन जोगाउने कुरा नै मुख्य कुरा हो । बिकास नभएर केही फरक पर्दैन । तर जीवन अहिलेको मुख्य विषय हो लखर लखर बिना काम सडकमा डुल्ने काम बन्द गरांै । कोरोनालाई खेलाची नसम्झौ । स्वास्थ्य सुरक्षा मापदण्ड सबैले पालना गरौं ।