विनबहादुर कुँवर
कोरोना भाइरसको दोस्रो लहर विश्वव्यापी रूपमा फैलिरहेको छ । यो कोरनाको अर्को नयाँ रूप हो । पहिलो कोरोनाको रूपभन्दा यो अलि फरक अझ बढी जोखिम रूपमा देखिएको सम्बन्धित विज्ञहरूले बताइरहेका छन् । पहिलो कोरोना भाइरसको उत्पत्ति र विकास चीनबाट भएको थियो भने यो कोरोनाको उत्पत्ति र विकास बेलायतबाट भएको बताइएको छ । तर जहाँ पहिले देखिए पनि यसको विकास र फैलावट तुरून्त विश्वव्यापी नै हुने गरेको छ । पहिलो कोरोना भाइरस चीनमा देखिएकोले पश्चिमा मुलुकहरूले चीनको बदनाम गर्न यसको नाम नै चिनियाँ भाइरस भनी राखेका थिए । अझ पहिलेका अमेरिकी राष्ट्रपति ट्रम्पले त पटक÷पटक चीनको निन्दा र घृणा गर्दै यो भाइरस चीनले नै विश्वव्यापी फैलाएको भनी आरोप लगाएका थिए । ठिक अब त्यस्तै घातक यो दोस्रो कोरोना भाइरस पहिलोपटक बेलायतमा देखिएको र यहाँबाट नै विश्वव्यापी फैलिएकोले त्यसलाई अब बेलायती भाइरस नामाकरण गर्दा खासै फरक पर्ने देखिन । तर वास्तवमा कुनै पनि रोग–व्याधि, प्राकृतिक प्रकोप आदि घटना कुनै देश कुनै ठाउँ र कुनै व्यक्ति विशेषमा भर पर्दैन सबैलाई त्यही समानरूपमा आक्रमण गरी सताएको हुन्छ । त्यही भएर यस्ता घटनाहरूका विरुद्ध एक्ला एक्लै नभई आम सामूहिक, राष्ट्रव्यापी र विश्वव्यापीरूपमा लड्नुपर्ने हुन्छ । हिजो यो कोरोना भाइरस चिनमा देखिँदा खुसी भई चिनको बदनाम गर्ने अमेरिकी शासकहरूले अन्ततः यही भाइरसका कारण सबैभन्दा बढी जनधनको नोक्सान बेहोर्नु परिरहेको छ ।
यो कोरोना भाइरसविरुद्धको भ्याक्सिन अहिलेसम्म पनि खासै बनेको छैन् । खाली केही प्रतिशत मात्र यसविरुद्ध असर पार्ने खोप मात्रै बनेको भनिएको छ । थुप्रै देशहरूमा यो खोपको प्रयोग पनि भइरहेको छ । त्यही पनि यसको असर त्यति परेको पाइँदैन । थुप्रै मुलुकहरूमा यसको प्रयोग भएका व्यक्तिहरूमा पनि पुन यो भाइरस देखा परिरहेको छ । त्यसकारण योविरुद्धको पहिलो उपचार व्यक्तिगत सावधानी र सतर्कता नै हो । रोग लाग्नुभन्दा पहिले रोग लाग्न नदिनु नै बुद्धिमानी हो । यसकालागि रोगको प्रकृति पहिचान र असार बुझि त्यसका विरुद्ध गरिने पहिलो सावधानी नै प्रमुख हो । यसकारण सबैभन्दा पहिले यसको प्रकृति चरित्र अनि यसको असरको बारेमा चिनिया वैज्ञानिकहरूले पत्ता लगाई त्यही गर्न र गराउन विश्वलाई जनाकारी गराए । तर यसलाई सुरु सुरुमा विश्वका धेरै राष्ट्रहरूले खासगरी पश्चिमा साम्राज्यवादी राष्ट्रहरूले यसलाई महत्व नै दिएनन् । खाली यसलाई चिनियाँ भाइरस भन्दै यसको निन्दा गरिरहे । तर अन्ततः यही भाइरसको कारणले गर्दा पश्चिमा मुलुक अहिले आक्रान्त बनिरहेको छ ।
चिनियाँ वैज्ञानिकहरूको भनाइअनुसार पहिलो यसको विरुद्ध मास्कको पर्योग गर्ने, सेनिटाइजर वा साबुन पानीले पटक–पटक हात सफा गर्ने अनि निश्चित दूरी कायम गरी बस्ने आदि यसका प्रारम्भिक उपचारका उपायहरू बताएका थिए । त्यसपछि अन्तिम उपाय भनेको निश्चित अवधिका लागि लकडाउन वा निषेधाज्ञा नै हो । जसले यो भाइरसलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नपाओस् । तर पश्चिमा मूलक वा अन्य मुलुकहरूले यो अनुरूपको सतर्कता बेलैमा अपनाउन पट्टी लागेनन् । खाली चीनको मात्रै विरोध । यो समस्या चीनको मात्र हो भन्दै रमिते बनिरहे । यतिसम्मकी पूर्वअमेरिकी राष्ट्रपतिले आफ्नो देशमा लकडाउन कुनैपनि हालतमा नगर्ने घोषणा गरे । त्यस्तैगरी मास्कको प्रयोग नगर्न चेतावनी दिँदै यसको प्रयोग गर्नाले आतंकवादलाई फाइदा पुग्ने बताए । स्वयं उनले मास्कको प्रयोग नगरी खुल्लमखुल्ला ठूलाठूला सभा जुलुसमा देखा परिरहे । अन्ततः यसको दुरगामी असर अमेरिकी जनतामा देखा प¥यो र यसैको कारण त्यहाँका लाखौं जनताको ज्यान गइरहेको छ भने करोडौँ जनताहरू यसको असरमा परिरहेका छन् ।
अहिले बल्ल चीनको त्यो प्रारम्भिक भाइरस रोकथामको उपायलाई विश्वका थुप्रै राष्ट्रहरूले अपनाउन थालेका छन् । मास्क प्रयोगको अनिवार्य शर्त नमान्नेलाई कडा कर्बाही र डण्ड जरिवानाको समेत घोषणा गर्ने गरेका छन् । यतिसम्मकी थाइल्यान्डका प्रधानमन्त्रीले कुनै एक कार्यक्रममा मास्क प्रयोग नगरी सहभागी भएको भन्दै उनीविरुद्ध उजुरी हालियो र त्यही बापत उनलाई त्यहाँको ४ हजार भाट जरिवाना गराइएको छ । अरू विश्वका विभिन्न मुलुकहरूमा पनि यो कोरोना भाइरसविरुद्धका प्रारम्भिक उपायहरूलाई अनिवार्य लागू गर्नुपर्ने वाध्यात्मक व्यवस्था गरिएको छ । त्यो नगरे राज्यविरुद्धको कसूर भनी यस्ता नागरिक सबैलाई कडा नियम कानून नै बनाउन थालिएको छ ।
यो भाइरसविरुद्ध गर्नुपर्ने प्रारम्भिक रोकथामका उपाय यसप्रति भइरहेको लापरवाही र त्यसविरुद्धको कडा कानूनी कारबाही नै त्यसविरुद्धको एकमात्र उपाय हो भन्ने कुरा स्वयं चीनले पुष्टि गरिसकेको छ । संसारको सबैभन्दा ठूलो जनसंख्या भएको चीनमा यो भाइरसका कारण केवल ३,४ हजार नागरिकहरूको मात्र मृत्यु हुने तर अमेरिका भारतलगायतका थुप्रै देशहरूमा लाखौँ जनताको ज्यान जाने अवस्थाले पनि यी राष्ट्रहरूको यो भाइरस प्रतिको बेवास्ता र लापरबाही छर्लङ्ग देखिन्छ । त्यति ठूलो जनसंख्या भएको चीनले यसलाई रोकथाम गर्न सक्ने तर अमेरिका, भारतलगायतका थुप्रै मुलुकहरूले यसलाई रोक्न नसकी पटक–पटक दोहोरिँदै र नयाँ रूपमा यसको महामारी फैलिनुको पछाडि केही मुख्य कारणहरू छन् । ती हुन छाडा अराजकतावादी खुलापन र कथित मौलिक अधिकारका नाममा गरिने स्वतन्त्रको अभिव्यक्ति । बाँच्ने र बाँच्न पाउने अधिकार नै मानवका पहिलो अधिकार हुन् । जब यो अधिकार रहन्न त्यसपछि हुने अधिकारको कुनै अर्थ रहन्न । मानवको जीउ जीवन रहेमात्र यस्ता अधिकारको उपयोग गर्ने कुरा हो । मानवीय यी अरू अधिकारभन्दा पहिलो बाँच्ने र बचाउने नै प्रमुख हो । त्यही अनुरूप राज्यले पनि व्यवहार गर्नुपर्दछ । कथित स्वतन्त्रको नाममा छाडा र अराजकतावादि व्यवहार देखाउँदा विश्वका थुप्रै साम्राज्यवादी र पुँजीवादी मुलुकहरू नै अहिले यो भाइरसको बढ्दो प्रकोपबाट संक्रमित भइरहेका छन् । तर चीन यसबाट मुक्त देखिएको छ भने अझ उत्तर कोरिया त यसको प्रभावमा नै परेको छैन । विश्वको पूर्ण कोरोना मुक्त राष्ट्रमध्येको एकमात्र राष्ट्र उत्तर कोरिया बनेको छ । के विश्वले यी दुई राष्ट्रबाट शिक्षा लिनु पर्दैन ?