बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले कोभिडको दोस्रोचरणको माहामारी फैलिंदै गएसंगै जिल्लाका चार सय बढी होटलहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाउनका लागि राज्यलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।
संघले कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर एक हजार बढी कोभिड संक्रमितहरूलाई राख्न सक्ने गरी तयारी गरेको जनाएको छ । संघको पदाधिकारीको आकस्मिक बैठकले सरकारलाई आवश्यक परेमा जिल्लाका होटलहरू उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामप्रसाद गौतमले कोभिडको महामारीमा व्यवसायीहरूलाई राहात प्रदान गर्न सरकारले गत वर्ष नै घोषणा गरेको व्यवसायीहरूलाई विद्युत् डिमाण्डको चार्ज मिनाहा गर्ने निर्णय गरेता पनि विद्युत् प्राधिकरणले परिपत्र नआएको भन्दै व्यवसायीलाई छुट नदिएकोमा सरकारको ध्यान जान जरूरी रहेको आंैल्याए ।
संघले कोभिडको माहामारीको अग्रभागमा खटिने होटल यवसायी र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गर्ने निर्णय समेत गरेको छ । सरकार र स्थानीय तहसंग सहकार्य गरी कोभिडविरुद्धको सचेतना कार्यक्रम गर्न पनि संघ तयार रहेको बैठकले निर्णय गरेको छ । संघले कोभिड संक्रमित भएका एक हजार बढीलाई संघमा आबद्ध व्यवसायीको होटलमा निम्नतम शुल्कमा राख्न सक्ने गरी तयारी गरिएको र बैठकबाटै सोको निर्णय समेत गराएको महासचिव माधवकुमार खनालले बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीमा एक हजार बढी व्यवसायी आबद्ध रहेको र करिव ४० अर्बभन्दा बढी लगानी रहेको छ । पछिला दिनमा स्तरीय होटल तथा रिसोट खोल्ने क्रम निकै बढे पनि कोरोनाको मारले व्यवसायीको लगानी धरापमा पर्न सक्ने भएकाले उनीहरूको लगानीको सुरक्षाका लागि सरकारले व्यवसायिक ऋणमा सहुलियत र ब्याज मिनाहा जस्ता राहातका कार्यक्रम सञ्चालन गर्न जरूरी रहेको व्यवसायीको माग रहेको छ ।