नरेश के.सी.
भैरहवा
अस्पतालहरूमा अक्सिजनको अभाव देखिएको खबर आएसँगै जिल्ला प्रशासन कार्यालय रूपन्देहीले अक्सिजन उत्पादकहरूलाई कडा निर्देशन दिएको छ ।
जिल्लाका तीन वटा अक्सिजन उत्पादकका सञ्चालक तथा व्यवस्थापकलाई प्रशासनमा बोलाई प्रशासनले मानवीय सेवालाई ध्यान दिन आग्रह गरेको हो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने– ‘यतिबेला मानवीय स्वास्थ्य मुख्य कुरा हो । हामीले उद्योगीहरूलाई अनुरोध गरेका छौं । जति अक्सिजन उत्पादन हुन्छ त्यो सबै अस्पतालहरूलाई मात्रै दिन भनेका छौं ।’ रूपन्देहीमा लुम्बिनी अक्सिजन इन्डस्ट्रिज, लुम्बिनी अक्सिजन प्रा.लि र शंकर अक्सिजन उद्योगले अक्सिजन ग्याँस उत्पादन गर्ने गर्दछन् । शंकर अक्सिजनले दैनिक ६ सय पीस सिलीन्डर उत्पादन गर्दछ भने अन्य दुईले अढाई सय अढाईसय पीस सिलीन्डर उत्पादन गर्ने गर्दछन् ।
सीमावर्ती भारतीय क्षेत्रमा कोभिडका बिरामीहरूको अक्सिजन अभावको कारण धेरैको मृत्यु भएको खबर आइरहेको बेला रूपन्देही प्रशासनले अक्सिजनको कमी हुन नदिन पूरा तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विजय राज पौडेलले बताए ।
अक्सिजन ग्याँस मेडिकल प्रयोजन बाहेक अधिकतम रूपमा फलाम उत्पादन गर्ने उद्योगमा बिलेट काट्न प्रयोग गरिन्छ । औद्योगिकतर्फ सिमेन्ट उद्योग, छड उद्योगले बढी अक्सिजनको माग गर्दछन् ।