लुम्बिनी संवाददाता
बुटवल
कोरोना संक्रमित भइ श्वासप्रश्वासमा समस्यापछि अस्पताल आएका बिरामीले बेड पाएका छैनन् । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमतिका गम्भीर बिरामीको उपचारमा समस्या भएको छ । छिमेकी जिल्ला रूपन्देहीका कोरोना विशेष अस्पतालहरूमा समेत बेड अभाव हुँदा बिरामीहरू जिल्ला अस्पतालमा छटपटाएर बस्नु पर्ने बाध्यता छ ।
सोमबार बिहान कोरोना संक्रमितका गम्भीर बिरामी भइ आएका रामग्राम–९ का ४० वर्षीय बयस्कलाई सुविधायुक्त अस्पतालमा पठाउन खोजिए पनि बेड अभावले पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखिएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरूल होदाले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा गम्भीर बिरामीहरूको उपचार हुँदै आएको छ । उक्त दुवै अस्पतालमा सोमबार बिहानदेखि बेडको व्यवस्था गर्न अनुरोध गरेपनि अस्पताल प्रशासनले खाली नभएको जानकारी दिएका कारण बिरामीलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरेर राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।
‘अवस्था गम्भीर जस्तै छ । बेड खाली हुने बित्तिकै भैरहवा वा बुटवल पठाउँछौँ ।’ –प्रजिअ मिश्रले भने । जिल्लामा सुविधायुक्त आइसोलेसन बनाउन कुनै पनि स्थानीय तहले वास्ता गरेका छैनन् । पछिल्लो पटक १५ दिनको अवधिमा रामग्राम नगरपालिका क्षेत्रमा दैनिक जसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने यो अवधिमा रामग्राममा मात्र तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
तर नगरपालिकाले सामान्य आइसोलेन बनाउन समेत वास्ता गरेको छैन । यसैबीच स्थानीय तहहरूले आइसोलेसन बनाउन वास्ता नगरेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति(डीसीसीएमसी)ले जिल्ला अस्पतालमा सुविधायुक्त आइसोलेसनको तयारी गरेको छ । अस्पतालको पुरानो भवनमा १० बेडको एचडीयु (प्रेसरबाट अक्सिजन दिने) सेवा सञ्चालनको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जिल्लामा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार र सोमबार मात्र जिल्लामा ४३ नयाँ संक्रमित देखा परेका छन् । १५ दिनको अवधिमा जिल्लाभरी कुल चार जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अक्सिजन बेड थप्न अस्पताललाई बजेट
बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवल, नेपालगञ्ज, दाङ र भैरहवामा अक्सिजन बेड निर्माण गर्न कोभिड अस्पतालहरूलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ ।
कोभिड–१९ का बिरामीको संख्या बढेपछि अस्पतालमा बेड अभाव भइरहेको बेला प्रदेश सरकारले अक्सिजनसहितको बेड बनाउने निर्णय गरेको हो । सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारबाट बुटवल, दाङ र नेपालगञ्जले ५० लाख रुपैयाँ र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध हुनेछ । उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए ।
त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।