लुम्बिनी प्रदेशमा एकै दिनमा ९ सय ३९ संक्रमित थपिए, रूपन्देहीमा ३ सय १, सात जनाको मृत्यु, अक्सिजन र बेड पाउन मुस्किल
लुम्बिनी संवाददाता
बुटवल
लुम्बिनी प्रदेशमा कोरोना संक्रमण उच्च दरमा बढेको छ । शनिबार मात्रै ९ सय ३९ जना संक्रमित थपिएका छन् । २४ घण्टाभित्र सात जनाको मृत्यु भएको छ । यो दर अहिलेसम्मकै उच्च हो ।
रुपन्देहीमा मात्रै ३ सय १ जनामा संक्रमण देखिएको छ । प्रदेशमा रहेका सबै कोरोनाका बेड भरिएका छन् ।
आइसीयुमा बिरामीको मृत्युपछि मात्रै अर्काेले पालो पाउने अवस्था सिजर्ना भएको छ । अस्पतालहरुले जिल्लाबाहिर बिरामी पठाउने गरेका छन् । बाहिरको अवस्था समेत नाजुक छ ।
बाँके, दाङ र रूपन्देहीमा भएका कोरोना विशेष अस्पतालमा बिरामीले बेड पाउन सकेका छैनन् । अक्सिजन समेत अभाव भएपछि उपचारमा कठिन भएको छ । दाङको बेलझुण्डी अस्पतालमा अक्सिजनको संकटमा छ । दैनिक एक सय सिलिण्डर अक्सिजन ४२ जना बिरामीले खपत गरेका छन् ।
कोरोनको भयाभह स्थिति आउँदासमेत यहाँका विद्यालय, भीडभाड हुने क्षेत्रहरु सुचारु नै रहेका छन् । शनिबार मात्रै बुटवलका दजनौं पार्टी प्यालेसमा ठूला–ठूला विहे पार्टी गरिएको छ । प्रशासनले २५ जनाभन्दा धेरै भेला हुन जारी गरेको निर्देशन अवज्ञा गरिएको हो । तर यसको अनुगमन भएको छैन् । रुपन्देहीमा बुटवल र सिद्धार्थनगरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ । यी नगरसहित अन्य विद्यालयमा होस्टेल सञ्चालनमै रहेका छन् ।
ोरोना संक्रमण उच्च भइरहँदा पनि भारतबाट आउने क्रम रोकिएको छैन् । बैशाख महिनाको १० दिनमा करिव ३ हजार ५ सय नागरिक बेलहिया नाका हुँदै नेपाल आएका छन् । अन्य साना नाकाबाट आउने भीडभाड समेत उस्तै रहेको छ ।
सीमामा होल्डिङ सेन्टर बनाइए पनि त्यसको उपयोग भएको छैन । भारतबाट आउनेहरु सार्वजनिक बसमार्फत गन्त्व्यमा पुग्ने गरेका छन् ।
सीमा क्षेत्रमा संक्रमण उच्च दरमा बढिरहेको छ । शनिबार मात्रै रुपन्देहीमा ३ सय १ जना नयाँ संक्रमित थपिए । बाँकेमा परीक्षण गरिएका स्वावमध्ये ४ सय २५ जनामा संक्रमण देखिएको छ । शुक्रबार ४ सय ८८ जना संक्रमित थपिएका थिए ।
दाङमा अक्सिजन सिलिल्डरको अभाव भएकोे छ । कोरोना संक्रमितहरुको लागि स्थापना भएको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अस्पताललाई आवश्यक जनशक्ति र बिरामीलाई अति आवश्यक रहेको अक्सिजन अभाव भएको हो ।
अस्पतालमा दैनिक एक सय अक्सिजन सिलिन्डर खपत भइरहेकोले त्यसको व्यस्थापन अत्यन्त चुनौति पूर्ण रहेको अस्पतालका व्यवस्थापक दोर्णबहादुर ओलीले बताए । अस्पतालमा भर्ना भएका ४२ जना बिरामीले एक दिनमा एक सय सिलिन्डर खपत गर्ने गरेको र त्यो आपूर्तीमा समस्या रहेको बताए । ओलीले अहिले नेपालगञ्जबाट दैनिक ढुवानी भइरहेको र उपचारमा नेपालगञ्जको भर पर्नु परेको बताए ।