आज वैशाख ११ गते । आजभन्दा १५ वर्ष पहिले प्रतिगमन विरोधी आन्दोलन निष्कर्षमा पुगेको दिन ।

तत्कालीन राजा ज्ञानेन्द्रले विघटित संसदको पुनःस्थापनाको घोषणा गर्र्दै प्रत्यक्ष शासनको अन्त्य गरेपछि २०६२ चैत्र २४बाट शुरु भएको देशव्यापी आम हड्ताल १९ औं दिनमा विजयमा टुंगिएको थियो । त्यसपछि वैशाख १५ गते पुनःस्थापित संसदको पहिलो बैठक बस्यो । जेठ ४ गते ‘प्रतिनिधीसभाको ऐतिहासिक घोषणा’ जारी भयो । त्यसले राजतन्त्रलाई निष्क्रिय पार्दै गणतन्त्रको बाटो कोर्‍याे । प्रतिगमनविरुद्धको त्यो ऐतिहासिक आन्दोलन २०६२ चैत्र २४ गतेबाट शुरु भएको थियो । २०५९ सालबाटै प्रतिगमनविरोधी आन्दोलन शुरु भईसकेको थियो । उक्त प्रतिगमनविरोधी आन्दोलनमा साहित्यकारहरू अग्रणी मोर्चामा थिए । कलमको मोर्चामा बुटवल र यस क्षेत्रका साहित्यकारहरूको योगदान उल्लेखनीय छ । त्यसक्रममा अनेकौ सडक कविता भएका छन् । अनेकौ कोठे गोष्ठी भएका छन् । अनेकौ फुटकर प्रकाशन भएका छन् । कैयौं संग्रह प्रकाशित भएका छन् । सामुहिक प्रयत्नको स्वर— ‘लोकतन्त्रको शंखनाद’ प्रकाशित भएको थियो । भने कैयौं कविहरूका एकल कविता संग्रह पनि प्रकाशित भएको थियो ।

प्रतिगमन विरोधी संघर्षका पहिलो शहीद हुन्— देविलाल पौडेल । २०५९ चैत्र २५ गते मंगलबार मूल्यवृद्धि विरुद्धको आन्दोलनको क्रममा बुटवल बहुमुखी क्याम्पसका नेता देविलाल पौडेलको शहादत भएको थियो । उनको हत्याको विरोधमा र संघर्षको पक्षमा चैत्रको अन्तिम शनिवार साहित्य संगम, बुटवलमा कविताहरू वाचन भए । ती कविताहरूलाई सृजनशील साहित्य यात्राले देवीलाल स्मृति अंकको स्वरूपमा प्रकाशित गरेको थियो ।

वैशाख ११ गते, त्यो ऐतिहासिक दिनको संस्मरण गर्दै, त्यो गौरवपूर्ण संघर्षको सम्मान गर्दै पाहुर प्रतिगमनविरोधी आन्दोलनका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । प्रतिगमनविरोधी आन्दोलनका प्रथम शहीद देविलालको सम्मानमा त्यतिबेला प्रकाशित कविताहरू पुनःप्रकाशित गर्दछ । लोकतन्त्रका पक्षमा तत्कालिन समयमा देखेका सपना अझै पुरा भएका छैनन् । साहित्यकारहरू कलमको मोर्चाबाट लोकतन्त्र, मानवता, भातृत्व र समानताको पक्षमा अनवरत संघर्ष हुन जरुरी छ । फेरि यी रचनाहरू पाठ गरौं । त्यो गौरवपूर्ण संघर्षको जोश, जाँगर, उत्साहको स्मरण गरौंः

देवीलाल पाैडेलको फाेटाे लिएर गरिएकाे प्रदर्शन । २०६३ । तस्वीर स्राेतः गेट्टी इमेज

देवीलालको रगतमा

अजम्बरध्वज खाती

“अभेद्य छ,
अकाट्य छ
आत्मा अविनाशी छ
यसैले अमर छ ।”
“जब आत्मा शरीरबाट निस्कन्छ
शरीर केही होइन,
ऊ ढल्छ, मर्छ
माटो र खरानी भएर सकिन्छ ।
तर आत्मा !
उसले त वस्त्र फेर्‍याे ,
पुरानो फाल्छ,
नयाँ लाउँछ ।”

किन बुझ्दैनन् यी बन्दूकहरूले
फेरि देवीलाल ढाले !
— ढाले—
— तर
त्यो त माटोको ढिस्को थियो भत्क्यो
आत्मा बोकेर देवीलाल
उनी कोटीमा समाहित भए
सहस्रमा सहस्र भए
हिजोसम्म एउटा देवीलाल हिंड्थ्यो
आज यो देश नै देवीलालले ढाकिसके ।

किन बुझ्दैनन् यी बन्दूकहरू
इतिहास यसै गरी लेखिन्छ
इतिहास यसै गरी जन्मिन्छ
इतिहास हो देवीलाल
देवीलालको रगतमा
आज देश ब्युँझिएको छ ।

आस्थाको श्रीपेच

गिरि श्रीस मगर

रात खसेको बेला दिनहरूको माझमा
महाराजधिराजको सक्रिय शासनकालको
एक सय सतासिऔं दिनको साँझमा
घाम अस्ताउँदै थियो अर्थहीन
अचानक एउटा रातो फूल झारियो गुलाफको बोटबाट
एउटा रक्तबीज मारियो पाशविक मनोविज्ञानको चोटबाट ।

महाराजधिराजको इच्छानुकूल कति चल्छ समय ?
महाराजधिराजको सपना पूरा गर्न कति जल्छ मान्छेको सपना ?
उराठ लाग्दो स्वाङ्हरूको झ्याङ्मा कति लुक्नु,
सडकमा टायरहरू बालिएका छन्
र प्रकाश पारेर रात खसेका यी दिनहरूमा
खोजी भैरहेको छ अनवरत् सत्यको ।

जति खस्दै जान्छन् फूलहरूर बोटबाट
त्यति त्यति नै खस्दै जान्छ आस्थाको श्रीपेच
मान्छेहरूका मनहरूबाट घृणाको धुलोमा
आस्थाको श्रीपेच खसेका मनहरू
बिल्कुल मुक्त हुन्छन् स्वतन्त्र, दासताको लज्जाबोध हुँदैन मनहरूमा
र आगो लगाउन तयार हुन्छन् ती
मानवता विरुद्ध सघन हुँद गइरहेका विष वृक्षको वनहरूमा ।

ठीक यहींबाट शुरु हुन्छ
महाराजधिराजको इच्छा प्रतिकुल पनि काम हुन
सडक, शासन र सत्ता पनि ‘जाम’ हुन
महाराजाधिराजको इच्छा बिना पनि सहरले हड्ताल गर्छ
र गतिशील हुन्छ रक्तबीजहरूको हुल
आस्थाको श्रीपेच जिल्ल पर्छ घृणाको धुलोमा पछारिएर
अहो श्रीपेच खसेको मन !
नदी, घाम र बतास जस्तै मनहरू
श्रीपेच बिनाका मनहरू ।

शहरको एकछेउमा रगतले भिजेको माटोको आसन्न
बेवारिस भएर खसेका छन् मनहरूबाट आस्थाको श्रीपेच
श्रीपेच खसेका मनहरूले चलाइरहेछन् शहर
महाराजाधिराजको सरकार छैन यहाँ
प्रशासन र कानुन छैन
शहरहरू महाराजाधिराजको इच्छा बिना पनि चल्दा रै’छन् ।

आस्थाको श्रीपेच जिल्ल पर्छ
जति जति बढ्दै जाने रहेछन् रक्तबीजहरू
खसाल्दै मनबाट क्रमशः आस्थाका श्रीपेचहरू ।

गजल

पार्वती ज्ञवाली

जनताको खून खान भोटे कुकुर पल्किदैछ
गाउँ घरमा अब फेरि ठूलो आगो सल्किदैछ ।

एक मरे हजारौंले ज्यान होम्न तयार छन्
रणभूमिमा फेरि पनि नयाँ युद्ध झल्किदैछ ।

विद्यार्थीको एकतालाई खेलबाड नठान है
अरिङ्गालको गोलो सरि भुनभुनाउँदै लम्किदैछ ।

आदरणीय वीर शहीद देवीलाल अझै तिम्रो
सम्मानले हाम्रा बीच तिम्रो शिर अग्लिदैछ ।

सत्य अगाडि बढिरहेछ

सुवास रिजाल

सत्य खोज्दा विमति हुन्छ भने
कसको के लाग्छ र ?
औंसीका ती कहालीलाग्दा रातहरू
अझ लम्बाउने प्रयत्न गरिन्छ भने
विद्रोहको ज्वाला निस्केकै हुन्छ
शायद फरि पनि देवीलालहरूको हत्या हुन्छ
मखमलीहरू बलात्कृत हुन्छन्
तर, सत्य अगाडि बढिरहेकै हुन्छ ।

देवीलाललाई बिदाई दिएपनि
ऊ त सधैँ बाँचिरहन्छ
त्यसैले त उसको यात्रा
अनवरत् चलिरहेछ
गोली लागेको बुद्धले पनि
विद्रोहको आग्रह गरिरहेछ
त्यसैले त देवीलाल मरेपनि
सत्य अगाडि बढिरहेछ ।