मुरुभुमिमा कतै कतै जलक्षेत्र हुन्छ । ओएसिस भनिन्छ त्यसलाई । बुटवल मिलनचोक स्थित बागेश्वरी त्यहीं ओएसिस हो कलाको ।

रामचन्द्र श्रेष्ठ

गत वैशाख ६ गते सोमबार साँझ ५ः३० तिर बुटवल मिलनचोक स्थित बागेश्वरी संगीतालयको प्रांगणमा चहलपहल थियो । मास्क लगाएर मानिसहरू यत्रतत्र छरिइरहेका थिए । भलाकुसारी गरिरहेका थिए । संगीतालयका संस्थापक सुरेश सेन्चुरी आगन्तुकलाई स्वागत गर्दै थिए । गायक बसन्त श्रेष्ठ भने विभिन्न कोणबाट तस्वीर खिच्न व्यस्त थिए । बुटवलका साहित्यकार, लेखक, पत्रकारदेखि कलामा चासो  राख्नेहरूको बाक्लो उपस्थिति थियो । प्रसंग बुटवलमा थियटर प्रारम्भको थियो । बागेश्वरी संगीतालयमा निर्माण भएको थियटरमा पहिलोपटक नाटक मञ्चन हुँदै थियो । सम्भवतः बुटवलको इतिहासमै थियटर नाटकको पहिलो स्थानीय उत्पादन हो यो । विगतमा सडक नाटक, स्टेजमा एकांकी र प्रहसन लगायतका अभिनय विधाहरू भएका थिए तर, थियटर नाटकको यो प्रयास सम्भवतः पहिलो नै हो ।

कोरोना कहरका माझ नाटक प्रदर्शन गर्नु मुश्किलप्रायः थियो । तर, बागेश्वरीमा लगभग दुई महिनादेखि नविन कलाकारहरूले प्रशिक्षण लिइरहेका थिए । आरोहण गुरुकुलका रंगकर्मी राजकुमार पुडासैनी प्रशिक्षणका लागि दुई महिनादेखि बुटवलमै थिए । दुई महिनाको कठोर बन्द प्रशिक्षणबाट एक जमात रंगकर्मी तयार भईसकेका थिए । उनीहरूको प्रशिक्षणलाई प्रस्तुत गर्नुथियो ।  दुई महिनाको मिहिनेत दर्शकसामु प्रकट गर्नु थियो र थियो सम्पूर्ण नाट्यटोलीलाई आफ्नो परीक्षा गर्नु । त्यसैले कोरोना कहरको संवेदनशील घडीमा सम्पूर्ण सावधानीका उपायहरू अपनाउँदै चार दिन बागेश्वरीमा ‘सूनको पिञ्जडा’ मञ्चन भयो ।

नाटक मञ्चनका पाश्र्व कथा लामो छ । बुटवलमा थियटरको आवश्यकता र सम्भावनाबारे अनौपचारिक र औपचारिक छलफलहरू धेरै भएका छन् । तर, ती छलफललाई मूर्त अवतरण गर्न व्यावहारिक प्रयासको जरुरत थियो । र, यो सत्कर्मका लागि ३२ वर्षदेखि संगीत तथा कलामा अनवरत खटिएका सुरेश सेन्चुरी नै अघि सरे । व्यापारको दबदबामा कलाको महत्त्व कम आँकिएको बुटवलमा सुरेश मरुभूमिका सिउँडी सरह हुन् । उनी पटक–पटक काठमाडौं गए र त्यहाँका थियटरहरू अवलोकन गरे । कैयौं नाट्यकर्मीहरू बुटवल आए र बागेश्वरी संगीतालयको भ्रमण गरें । यी आदानप्रदानहरूले सम्भावना खोतल्दै गयो । गत माघमा बागेश्वरीमा लगातार बैठक तथा छलफल भईरहेका थिए । कहिले साहित्यकारहरूसँग, कहिले कलाकर्मी त कहिले पत्रकार र स्थानिय सक््िरmय व्यक्तिहरूसँग । त्यसपछि प्रशिक्षार्थी कलाकारको छनौट शुरु भयो । अनि शुरु भयो बन्द प्रशिक्षण जसको उत्पादन थियो सोमबारदेखि मञ्चन भएको— सुनको पिञ्जडा ।

सुनको पिञ्जडा नाटकको एक दृश्य

बन्द प्रशिक्षणको यो क्रममा निरन्तर खट्ने अर्का व्यक्ति थिए सुरेश सापकोटा । सापकोटा मण्डला थियटरका पहिलो चरणका प्रशिक्षार्थी हुन् । काठमाडौंका थियटरहरूमा विभिन्न नाटकमा अभिनयदेखि व्यवस्थापनको अनुभव बटुलेका सापकोटा बुटवलमा थियटरको सम्भावना खोज्दै थिए । जब बागेश्वरीमा थियटरको तयारी हुँदै गरेको  थाहा पाएँ उनी सम्पूर्ण जोश जाँगर सहित खटिए । यो नाटक मञ्चनमा उनको भूमिका उल्लेखनीय छ ।

नाटकको सम्भावना र तयारीको क्रममा बुटवलका साहित्यकारहरू र बागेश्वरीको बीचमा पटक–पटक छलफल र विमर्श भयो । गत चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा बागेश्वरीमै पाठक मञ्चको सहकार्यमा ‘बुटवलमा किन भएन थियटर ?’ विषयक विमर्श भएको थियो । उक्त विमर्शमा साहित्यकार दिल साहनी, ऋषिराम भूसाल र राजकुमार पुडासैनी सहभागी थिए । मोडरेट रमेश पाण्डेले गरेका थिए । कार्यक्रममा यस क्षेत्रका साहित्यकारहरूको उपस्थिति थियो ।

यी सबै प्रयत्नहरूले बागेश्वरीलाई पाश्र्व उर्जा प्रदान गरिरहेको थियो । त्यसैले चार दिने नाटक मञ्चनको अनुभव सुनाउने क्रममा सुरेश सेन्चुरी सम्पूर्ण पत्रकार, साहित्यकार र दर्शकलाई आभार प्रकट गर्न हतारिंदै थिए । यो सेन्चुरीको विनम्रता हो । उनको विनम्रतालाई सलाम । तर, सम्मानको हकदार भने सेन्चुरी स्वयं हुन् ।  कवि मुरारि पराजुलीको भाषामा यो क्षेत्रमा कलालाई समृद्ध बनाउन उनले गरेको योगदानको कतै तुलना हुनसक्दैन ।

कला सामुहिक प्रयत्नको उपज हो । थियटर समाजको कला चेतको मापक हो । बुटवल गीत–संगीत र अभिनयका अन्य विधाहरूमा खासै पछाडि छैन । साहित्यमा पनि बुटवल खासै पछाडि छैन । तर, फेरि पनि इमान्दार भएर स्वीकार्नै पर्छ बुटवलको मुख्य विशेषता साहित्य, कला र रंगकर्म होइन । बुटवलको प्राथमकिता चयनमा कला–साहित्य–रंगकर्म अलि पछाडि नै आउँछ । प्राथमिकताको पहिलो लर्कोमा व्यापार, व्यवसाय, नाफा र नोक्सान आउँछ । त्यसैले बुटवलमा कला–साहित्य र अर्थको सम्बन्ध त्यति सुमुधुर छैन । कला–साहित्य क्षेत्रले अर्थसँग खासै जोडिन रुचाउँदैन । अर्थसँग जोडिएकाहरू कला–साहित्यको महत्त्वलाई त्यति गहिरो गरी आत्मसात गर्दैनन् । त्यसैले यहाँ फस्टाउँछ त केवल सस्तो मनोरञ्जन । द्विअर्थी भाषाको प्रयोग हुने कार्यक्रम सञ्चालन । सस्तो मनोरञ्जनको बजारले गहन कलालाई नेपथ्यमा धकेल्छ जसरी खोटो सिक्काले सक्कली सिक्कालाई बजारबाट विस्थापित गर्छ । साह्रै कम मानिसहरूमात्र सस्तो, फुटपाथे साहित्यबाट गम्भीर साहित्यमा उकालो लागेका छन् ।

त्यसैले यो नाटक र थियटरको तयारीमा लाग्दा सुरेश सेन्चुरीको अनुभव त्यति उत्साहप्रद छैन । उनले धेरै ठाउँमा प्रपोजल लिएर गए । सहयोगको याचना गरे । मानौं, उनी नितान्त वैयक्तिक स्वार्थको लागि याचना गरिरहेका हुन् । तर, समाजलाई सत्कर्म र कलाको सुन्दर मार्गमा डोहोर्‍याउन सेन्चुरीले गरेका प्रयत्नहरूमा साथ दिन अझै पनि बुटवल कञ्जुसाई रहेको छ । सेन्चुरी आफ्नो विनम्र स्वभावका कारण दोष आफ्नै थाप्लोमा बोक्लान् तर पनि सत्यको यो तस्वीर स्वीकार्नै पर्छ । बुटवल कला क्षेत्रमा लगानी गर्न खासै उत्सुक छैन । न त स्थानीय तहको तवरबाट न त अर्थबजारको तवरबाट ।

तर पनि मुरुभुमिमा कतै कतै जलक्षेत्र हुन्छ । ओएसिस भनिन्छ त्यसलाई । बुटवल मिलनचोक स्थित बागेश्वरी त्यहीं ओएसिस हो कलाको । त्यो ओएसिसको अभिनय कलालाई बुटवलका केही तिर्खालुहरूले चार दिन अवलोकन गरे । लगभग ३००को संख्यामा दर्शकहरू आए । अझै कैयौं छुटे । सो थोरै दिनको भएको गुनासो पनि भयो । तर, यो त शुरुवात न हो । कोरोना कहरलाई हामी परास्त गरौंला । फेरि भेटौंला । फेरि जुटौंला । बागेश्वरीले बुटवलको थियटर यात्राको बाटो कोरिसकेको छ । यस नाटकमा अभिनय गर्ने सिमा थापा, रमेश रिजाल, युगल पाण्डे, ध्रुव पोखरेल, प्रदिप एडी, अश्विन केसी, मनोज केसी, समिता न्यौपाने, सन्ध्या आचार्य, प्रविना मल्ल ठकुरी, मुक्ति सुवेदी र दिपजङ्ग शाही रंगकर्मको मैदानमा उत्रिसकेका छन् । यो नामावली थपिने क्रममा हुनेछ । बुटवल अब थियटरको यात्रा थालिसकेको छ । अब केवल उपयुक्त समयको र स्वस्थ दिनको प्रतिक्षा बाँकी छ ।