नेत्र पन्थी

६ जनवरी २०२० साँझ
दिउँसोको खानापछि सियानको ठूलो मस्जिद हेर्न गइयो । यो मस्जिद इ. सन् ७४२ मा स्थापना गरिएको रहेछ । विभिन्न वंशका राजाहरूको समयमा यसलाई विस्तार गर्दै पुनः निर्माण गरिएको रहेछ । चीनको जनक्रान्तिपछि जनसरकार र चिनियाँ कम्युनिष्ट पार्टीको राम्रो धार्मिक नीतिका कारण अल्पसंख्यक समुदायका विकासका लागि सम्बन्धित निकायले हरेक वर्ष विशेष बजेट प्रदान गर्दै आइरहेको रहेछ । त्यसै कारण मस्जिद विशाल ऐतिहासिक धरोहर हुन पुगेको छ । मस्जिद १३ हजार वर्गमिटरमा, घरहरू ६ हजार वर्गमिटरमा बनेका छन् । यसभित्र चार ओटा चोक छन् । पहिलो चोकमा पुरानो काठ, गेट र इट्टाको संरचना छ । गेटको दुवैतर्फ घरहरू छन् त्यहाँ १७ औं शताब्दीका पुराना फर्निचरहरू राखिएका छन् । दोनो चोकमा चारवटा पिलरसहित ढुङ्गाको विशाल गेटमाथि चिनियाँ भाषामा स्वर्गको अदालत लेखिएको छ । यो ढुङ्गाको परिसर पुरैमा राम्रो आर्ट छ । चिनियाँ भाषामा ऐतिहासिक कुराहरू लेखिएको छ । तेस्रो चोकमा सबैभन्दा पुरानो मस्जिद भवन छ । त्यहाँ एउटा ढुङ्गा छ त्यसलाई द मुन टयाबलेट भनिदो रहेछ । त्यसमा अरबी भाषामा प्राचीन प्रसिद्ध इमामले लेख्नुभएको थियो । यो शिला लेखले मुस्लिम क्यालेण्डरको हिसाब गर्ने तरिका बताएको छ । यो शिलालेख शांशी प्रान्तमा इस्लामको महत्त्वपूर्ण ऐतिहासिक रेकर्ड हो । मस्जिद परिसरको मध्य भागमा सबैभन्दा अग्लो बिल्डिङ्ग छ । यसलाई आत्मनिरीक्षण और घर भनिन्छ र यहाँ प्रार्थनाका लागि सबै मुस्लिमला । बोलाइन्छ । यसको दक्षिणतर्फ कार्यालय छ । उत्तरतर्फ प्रार्थना हल छ जहाँ हातले लेखिएको मिङ राजाको पालाको पवित्र कुरान र मक्का शहरको नक्सा चीनवंशको समयको सुरक्षित राखिएको छ । चौथो पार्टमा मिङ राजाको समयमा निर्माण गरिएको कलाकृति सहितको फोनिक्स पोभिलियन भवन छ। यो मस्जिद परिसरलाई १९५६ मा शांशी प्रान्तीय सरकारले महत्त्वपूर्ण ऐतिहासिक धरोहर भनेर संरक्षण गर्ने नीति लियो । १९८८ मा चीनको धेरै महत्त्वपूर्ण ऐतिहासिक केन्द्रको रूपमा घोषणा गरियो । १९७८ मा चीन भ्रमणका लागि खुला गरिएपछि १०० देशका एक करोड मुस्लिम पर्यटकहरू यो मस्जिदमा आएका छन् । यो सियान ठूलो मस्जिदको संक्षिप्त भ्रमण र त्यहाँ बस्नुभएका मुल्ला–मौलवी–गुरुसँग कुरा गर्दा उहाँ धेरै सन्तुष्ट र खुसी भएको पाइयो । चिनियाँ सरकारले हामीलाई र हाम्रो इस्लाम धर्मको विकासका लागि सहयोग गरेको करा उनीहरूले बताए । हामी ठूलो जत्थामा थियौं । सँगै जानु भएका जलिल मियाजीलाई आधा घण्टा एक्लै कुरा गर्न पठायौं । फर्कंदा उहाँ आफै पनि धेरै खुसी भएर आउनुभयो ।
चीनका मुसलमानहरू र मस्जिदलाई चीन सरकारको ठूलो सहयोग र सम्मान रहेछ, उनीहरू खुसी छन् भन्दै आउनुभयो । मस्जिदको अवलोकनपछि मुस्लिम मार्केटतर्फ लाग्यौं । करिब १ किलोमिटरको गल्लीमा खचाखच बजारको चहलपहल निकै थियो । हाम्रा साथीहरूले केही सामान किन्नु भयो । गल्ली बाहिरको ठूलो रोडमा खाना र मासुका विभिन्न परिकार तथा अलि ठूला पसलहरू रहेछन् । त्यहाँ हामीले चकलेट किन्यौं । मुस्लिम मार्केट घुमेपछि त्यही रहेको धेरै स्तरीय रेष्टुरेण्टमा साँझको डिनर लियौं । आज हामीलाई हामी चीनमा होइन कि कुनै अन्य मुस्लिम देशमा छौं भन्ने महसुस भयो ।
शान्सी अन्तर्राष्ट्रिय पोर्ट सियान अवलोकन
२०२० जनवरी १७ बिहान
आजको भ्रमणको व्यवस्था जनसरकारको विदेश विभागले गरेको थियो । बिहान शान्सी अन्तर्राष्ट्रिय पोर्ट सियानमा सरकारी कर्मचारीहरूले हामीलाई स्वागत गरे । त्यहाँ पुग्दा हामीले अनुमान गरेको भन्दा धेरै गुणा विकास भएको देखियो ।
उनीहरूले सर्वप्रथम पर्दामा त्यहाँको विकासका सबै कुराहरू देखाए र हामीलाई त्यहाँ घुमाए । चीनको केन्द्र सियानबाट चीन र पुरै विश्वलाई सडक, रेल, समुन्द्र, हवाइ सबै मार्गबाट जोड्ने बीआरआई कसरी कार्यान्वयन भइरहेको छ भन्ने देखियो । त्यहाँका सडक रेलवे, औद्योगिक उत्पादन र वितरण (व्यापार) को आयतन देख्दा चीनको विकास धेरै अगाडि रहेछ । बुलेट रेलको आउजाउ बाक्लै छ । रेलमा भरेर पठाउनका लागि हजारौं कार पार्किङ्गमा छन् । अप्रशोधित कच्चा पदार्थको आयात र प्रशोधित सामान निर्यात संसारभर त्यहाँबाट हुँदो रहेछ । युरोप र मध्य पूर्वबाट कच्चा पदार्थ र केही अर्ध तयारी सामान आयात हुँदो रहेछ । निर्यात गर्ने मुख्य ठाउँ पनि युरोप र मध्य पूर्व नै रहेछ । प्राचीन रेशम मार्ग नै अहिले चीन र बाँकी संसार जोड्ने एक बेल्ट एक सडकको रूपमा विकास भएको रहेछ । जर्मनी र रोमसम्म सडक र रेलको सञ्जाल जोडिसकेको रहेछ । उनीहरूले हामीलाई चीनको विकास अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्ध एवं व्यापारको सम्बन्धमा धेरै कुराहरू बुझाउने कोशिस गरे । भाषाको समस्या दोभाषे मिलन भाइले आफूले बुझेसम्मका कुरा बताए । त्यहाँ हामीले चीनको उच्चस्तरको विकास हेर्ने र बुझ्ने अवसर पायौं ।
शान्सी राष्ट्रिय संग्रहालय
जनवरी १७ दिउँसो शान्सी राष्ट्रिय संग्रहालय हेर्न गइयो । यहाँ ढुंगे युगदेखि सुरु भएर मातसत्तात्मक समाज, पितृसत्ता, दासयुग, सामन्ती युग एवं केन्द्रीकृत शक्तिशाली राष्ट्र निर्माण भएको क्रमबद्ध ऐतिहासिक प्रमाणहरू संकलन गरेर राखिएको छ । त्यहाँ प्रदर्शन गरिएका प्राचीन सामग्रीहरूले इतिहासको आफै जीवित वर्णन गरिरहेका छन् । चीनमा मान्छेको उत्पत्तिदेखि आधुनिक युगसम्म कुन–कुन अवस्था पार गरेर यहाँसम्म आइपुगेको हो भन्ने कुरा प्रत्यक्ष देख्न र बुझ्न सकिने गरि राखिएको छ । विद्यार्थीहरू, अनुसन्धानकर्ता, समाजशास्त्री, मानवशास्त्रीहरू त्यहाँ अध्ययनका लागि आउँदा रहेछन् । यो धेरै ठूलो र प्रशस्त ऐतिहासिक तथ्यहरू भएको संग्रहालय रहेछ । संग्रहालय अवलोकनपछि सात तला रहेको बिग वाइल्ड गोज प्यागोडातर्फ गइयो । त्यसको सातौं तल्लामा पुगेर बाहिरको दृश्य अवलोकन गरियो । यसको ठूलो परिसर र धेरै भवनहरू रहेछन् । बुद्धका धेरै मूर्तिहरू राखिएका छन् । त्यहाँ एउटा बुद्धका धेरै हातहरू भएको, हातमा हतियार समातेको भव्य मूर्ति समेत रहेछ । हिन्दुहरूले पुज्ने दुर्गा, ब्रह्मा, विश्वरूप विष्णुलाई मानेझै बुद्धमार्गीहरूले पनि अलौकिक अवतारको रूपमा मानेको महसुस गरियो । त्यसको दर्शन गर्नेहरूको भिड थियो । त्यहाँ ८० जना भिक्षुहरू नियमित रूपमा बस्दा रहेछन् ।
(नेत्र पन्थीको भर्खरै प्रकाशित पुस्तक ‘चीन भ्रमण’बाट)