राधा पाण्डे

मैले बिताएका
कुनै पनि वर्ष,
म आफू भएर बाँच्न सकिनँ
सकिरहेकै छैन ।
विगत केही वर्ष,
अञ्जान भएर बाँचे
केही वर्ष जिज्ञासु भएर बाँचे
कहिले छाल भएर लहराएँ,
कहिले थाक्रो भएर थामिएँ
कति वर्ष आशा भएर बाँचे
कति वर्ष रहरै रहर भएँ
रहरमा बाँच्ने प्यासले,
पानी भएर बाँचे
पियूषको आशाले,
आगो भएर बाँचे
म लड्दै र उठ्दै ,
घाउ भएर बाँचे
म निभ्दै र सल्कदै,
साँझ र बिहानको भोक भएर बाँचे
आखिर !
अहिले म ,
त्यहीं भोक मेटाउने
औषधि भएर बाँचिरहेछु !
मेरो खुसी भन्नू ,
बिहान एक चक्की औषधि
मेरो जीवन भन्नू ,
साँझ एक चक्की औषधि
बस् ,
यतिखेर जीवन बेल्दाबेल्दै
दवाइको चक्की बनेको छ
म आगोबाट अँगार हुन
नसकेर होला ,
थिचिदै पिटिदै चिम्टा भएको,
धेरै बर्कत जोडिएका फिलिङ्गा
पानीमा चोब्नु फगत,
मेरो कर्म भएको छ ,
के नयाँ वर्षले मेरो कर्मलाई
विस्थापित गर्ला नगर्ला ?
अब म भएर बाँच्नको लागि,
नयाँ वर्ष आउला कि नआउँला
उदाउने दिन र अस्ताउने रात ,
मात्र मेरो लागि भनेर
अब फेरि नयाँ वर्ष,
आउला कि नआउला !
म आफू भएर बाँच्न
पाँऊला कि नपाँऊला !

गैंडाकोट न. पा. वाड.नं. १६