राधिका भुसाल
प्यूठान
प्यूठान जिल्लाको भौगोलिक र जनसंख्याको हिसाबले सानो माण्डवी गाउँपालिका हरेक क्रियाकलापमा अगाडि देखिएको छ । विकासे योजना, कृषि, शिक्षा, सञ्चारलगायतका क्षेत्रमा प्यूठान जिल्लाको अन्य स्थानीय तहभन्दा अगाडि देखिएको माण्डवी गाउँपालिकाले नव वर्षसंगै व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्तासम्बन्धी शिविर सञ्चालन गर्न थालेको हो । माण्डवी गाउँपालिकाको आयोजनामा माण्डवी गा.पा. ३ देवीस्थानको सभाहलमा सोमबार अभिमुखिकरण कार्यक्रमको आयोजना गरी दर्ता शिविर (अभियान) सञ्चालन हुनेबारे पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए । ग्रामीण क्षेत्रका सर्वसाधारण जनताहरूलाई विद्युतीय माध्यमबाट सेवा सुविधा प्रवाह गर्ने उद्देश्यले नेपाल सरकारले सुरु भएको यो अभियान देशरभका ६ हजार ७ सय ४३ वडाहरूमा सुचारू भएको छ । सन् २०२४ सम्म सम्पूर्ण नेपालीहरूको व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीमा राख्ने नेपाल सरकारको अगाडि सारेको योजनाअनुसार माण्डवी गाउँपालिकाको ५ वटै वडा बैशाख २ गतेदेखि १९ गतेसम्म सबै खालका व्यक्तिगत घटनालाई डिजिटलाइज गर्न शिविर (अभियान) सञ्चालन गरिने रिजालले बताए । पुराना अभिलेखहरू अपडेट गरिसकेको बताउँदै छुटेका र नयाँ दर्ता गर्नका लागि एउटा वडामा तीन दिन काम गर्ने गरी शिविर सञ्चालन गर्न थालिएको उनले जानकारी दिए ।
‘जन्म, मृत्यु, विवाह दर्ता, बसाइसराई जस्ता घटना ३५ दिनभित्रै गर्नु पर्ने हो,’– रिजालले भने– ‘तर, कुनै कामको लागि अनिवार्य ति कागजात नचाहिएसम्म दर्ता नगर्ने हाम्रो परिपाटी छ, यसलाई अन्त्य गर्दै व्यक्तिगत घटनाहरू तत्कालै गर्नुपर्ने हुन्छ ।’ हाल पालिका भित्र २०÷२५ प्रतिशतले मात्रै ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गरेको तथ्यांक देखिएको उनले बताए । युग प्रविधियुक्त भइसकेको हुँदा अब सबै नागरिकले घरमै बसेर प्रविधिको प्रयोग गर्नु पर्ने रिजालले बताए । व्यक्तिगत घटना दर्तामा कोही कसै नछुट्ने गरी पालिकाको सिंगो परिवार, वडा अध्यक्ष सदस्य, शिक्षक, विभिन्न संघ संस्थालगायतका सम्पूर्ण जानकारहरूले सहयोग गर्न रिजालले आग्रह गरेका छन् ।
सामाजिक सुरक्षाको विषयमा सेवा सुविधालाई व्यवस्थित र सम्बन्धित नागरिकलाई लाभ हुने गरि बैंकिङ माध्यमबाट कारोबार थालिएको पालिकाले जनाएको छ । त्यस्तै व्यक्तिगत घटना कसरी, कहाँ दर्ता गर्ने ? को–को व्यक्ति आवश्यक पर्छ भन्ने विषयमा पालिकाका कम्प्यूटर शाखा प्रमुख अनिल अधिकारीले प्रस्तुतीकरण गरेका थिए । पालिकाका पञ्जिकरण शाखाका खिमबहादुर घर्तीले सहभागीलाई स्वागत गर्दै कार्यक्रबारे जानकारी दिएका थिए ।
पालिका भित्रका २८ वटा विद्यालयका प्रधानाध्यक, शिक्षकहरू, वडा अध्यक्ष, सदस्यहरू, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिलगायतको सहभागिता रहेको कार्यक्रमको पालिकाका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले गरेका थिए ।