प्रेम सुनार
गुल्मी
गुल्मीका मालिका गाउँपालिकाले आधारभूत विद्यालय र माध्यमिक विद्यालयमा निजी श्रोतका शिक्षकको सट्टा दरबन्दी खडा गरेको छ । मालिका गाउँपालिका आफैले दरबन्दी कायम गरेपछि निजी श्रोतका शिक्षकको खर्च भारबाट त्यहाँका विद्यालयहरू मुक्त भएका छन् । गुल्मीको मालिका गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कुनै समय निजी श्रोतका शिक्षकहरूलाई तलब खुवाउने आर्थिक श्रोत नहुँदा विद्यालय ढल्ने अवस्थामा पुगेका थिए ।
गाउँपालिका प्रमुख रितबहादुर थापाले शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रम अगाडि सारिएको त्यसमध्ये दरबन्दी मिलान र विद्यालय मर्ज गरेर प्राथमिक तहका विद्यालयहरूमा निजी श्रोतका शिक्षकहरू राख्नै नपर्ने वातावरण बनाइएको बताए ।
त्यहाँका शिक्षा अधिकृत तुल्सी न्यौपानेका अनुसार त्यहाँका १६ वटा आधारभूत विद्यालयहरू छन् । त्यसमा २० जना दरबन्दी शिक्षक छन् । २० जना राहत शिक्षक छन् । निजी श्रोतको सट्टा १३ जना शिक्षकको दरबन्दि गाउँपालिकाले खडा गरी जनही मासिक २० हजार तलब खुवाउँदै आएको छ ।
त्यस्तै १० वटा माध्यमिक विद्यालयहरू छन् । जसमा २२ वटा दरबन्दी छन् । सात वटा राहत शिक्षक छन् । निजी श्रोतको सट्टा गाउँपालिकाले नौ जना दरबन्दी शिक्षकको दायित्व लिएर मासिक जनही २५ हजारका दरले तलब खुवाउँदै आएको छ । गाउँपालिका भर ३३ वटा प्राथमिक विद्यालयहरू रहेको शिक्षा अधिकृत न्यौपाने बताउँछन् ।
प्राविमा एकाध विद्यालयहरूमा निजी श्रोत भए पनि तलबी बोझ विद्यालयलाई नदिइ गाउँपालिकाले विभिन्न शिर्षकबाट दायित्व लिएको छ । प्राविमा १ सय ९जना दरबन्दी र २९ जना राहत शिक्षक छन् ।
सामुदायिक र संस्थागत गरी ४ सय ३० जनाले शिक्षक स्टाफको रोजगारी पाएका छन् । सामुदायिकमा ३ सय ८० जना र ५ वटा संस्थागत विद्यालयमा ५० जना शिक्षक स्टाफ रहेका छन् । सिमलटारिको मालिका माविमा नमूना विद्यालय प्राविधिक शिक्षा सञ्चालनसहित कक्षा ११ र १२ पढ्न ४२ देखि ४५ किलो मिटर दुरिबाट सदरमुकाम तम्घास पढ्न आउने त्यस पालिका ३ सय जनाभन्दा बढी विद्यार्थीहरू अहिले गाउँमै कम खर्चमा पढ्ने अवसर पाएका छन् ।
त्यस गाउँपालिकामा कुल ६ हजार ५ सय विद्यार्थी रहेको त्यहाँको शिक्षा शाखाले जनाएको छ । मालिका गाउँपालिका प्रमुख रीतबहादुर थापा भन्छन् राज्यले माध्यमिक तहसम्म निःशुल्क शिक्षा भन्ने तर शिक्षक दरबन्दी नदिने गरेकाले समुदायले निजी शिक्षक राख्न बाध्य हुनु पर्दा विभिन्न्न बाहनामा शुल्क उठाएर अभिभावकको ढाड सेक्ने गर्दै आइएको प्रवृत्ति अन्त्यको लागि शिक्षक दरबन्दी गाउँपालिकाले खडा गरेको बताए ।
गाउँपालिका मै शिक्षक दरबन्दी खडा गर्ने गुल्मीदरबारपछि मालिका गाउँपालिका रहेको र शैक्षिक क्षेत्रमा थप सुधारका लागि विभिन्न कार्यक्रम अगाडि सारिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारी बताउँछन् ।