अर्जुन ज्ञवाली\लक्ष्मण पौडेल
लब्धप्रतिष्ठ राजनीतिज्ञ नेत्रप्रसाद पन्थीले दश दिनको चीन भ्रमण गरेका छन् । उनी २५ जनाको टोली संयोजक भएर चीनको सान्सी प्रान्तको ऐतिहासिक सहर सियान घुम्न गएका थिए । सियान चीनका नौ वटा विकासशील सहरमध्ये एउटा हो । यो टोली २०७६ पुस २४ देखि माघ ५ सम्म त्यहाँ घुम्यो, फि¥यो । २५ सदस्यीय नेपाली टोलीलाई चीनको सान्सी प्रान्तको सियान नगर जनसरकारले निम्ता गरेको थियो । सियान ३१ सय वर्ष पुरानो सहर । ११ सय वर्षसम्म सम्पूर्ण चीनको राजधानी रहेको सहर । जहाँबाट ऐतिहासिक सिल्क रोड र अहिलेको बिआरआई सुरु हुन्छ ।
भ्रमण तालिकामा चार दिनसम्म प्रशिक्षण कार्यक्रम थियो । प्रशिक्षण उत्तर पश्चिम राजनीति र कानून विश्वविद्यालयमा राखिएको थियो । प्रशिक्षणका विषय थिए– कृत्रिम कुशलता र सरकारी काममा नयाँ प्रसारण परिचालन
–डा. गुओ मिआओ
सियानको इतिहास र संस्कृति
–डा. शान सियाओची
बीआरआइसम्बन्धी कानूनी मुद्दा
–डा. शि यी
चीनको आतंककारी विरोधी कानूनी प्रचलनमा अन्तर्राष्ट्रिय सहयोग
–डा. झाङ ओ
सूचना प्रविधि विषयमा प्रशिक्षणपछि नेत्र पन्थी आफ्नो यात्रा स्मरणमा लेख्छन्– चिनियाहरू सबैसँग मोवाइल फोन छ र सबैले यसको अधिकतम प्रयोग गर्दा रहेछन् । जनताबाट सुझाव लिने र सरकारको नीति निर्देशन तत्कालै सबैको मोवाइलमा पुग्ने रहेछ । सबैको अनुहार, पहिचान र व्यक्तिको रेकर्ड राखिएको छ । मेसिनले चाहिएको कुरा तुरून्त उपलब्ध गराइदिंदा बीचमा सूचनाको आदान प्रदान यति जीवन्त रहेछ कि पार्टीका शीर्ष नेतादेखि सामान्य कार्यकर्ता र जनतासम्मको हरेक विषयमा एउटै भनाइ हुँदो रहेछ । चीनले पार्टी, सरकार र जनतासँग मिलेर विकासमा यति ठूलो प्रगति गर्न सकेको रहस्य यही रहेछ ।
लेखक लेख्छन्– सियान वास्तवमै चिनिया इतिहास र सभ्यताको केन्द्र नै रहेछ । यहाँ सांस्कृतिक, ऐतिहासिक भग्नावशेषहरू धेरै छन् । पुरातात्विक महत्वका ५५४ भग्नावशेषहरू मध्ये ७९ वटा ठाउँ राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत भएका छन् । टेराकोटा वारियर संसारकै आठौं आश्चर्य हो । जसलाई धेरै पहिले नै विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । हान वंशको समयको दरवार क्षेत्रलाई पार्क बनाइएको छ । मिङ्ग वंशको पालाको दरवार संरक्षण गरेर म्यूजियम बनाइएको छ । सियान वास्तवमै चिनिया इतिहास र सभ्यताको केन्द्र नै रहेछ । त्यसै कारण होला पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनले “यदि तपार्इं चीनको इतिहास जान्न चाहनुहुन्छ भने सियानलाई बुझेर सुरु गर्नुपर्छ” भनेका रहेछन् ।
बीआरआइसम्बन्धी कानुनी मुद्दा विषयमा गहन प्रशिक्षण भएको रहेछ । यस सम्बन्धमा प्रशस्त जानकारीहरू त्यहाँ प्राप्त भएछन् यात्रा टोलीलाई । निष्कर्ष रहेछ– जित जित (ध्ष्ल–ध्ष्ल) ।
चीनमा आतंकवाद र त्यससम्बन्धी कानूनका सम्बन्धमा पनि विशद चर्चा भयो । डा. झाङ ओ ले भने– चीनमा आतंकवादको समस्या छ, सबैभन्दा पहिले सन १९९० मा चीनको सिनजिङ भन्ने ठाउँमा देखिएको थियो । त्यहाँबाट भागेका आतंककारीहरूले सिरियामा आतंककारी गतिविधि गरिरहेका छन् । देशभित्र भन्दा पनि बाहिर अन्तर्राष्ट्रिय आतंककारी संगठनहरूले भित्रकासँग साँठगाँठ गरेर आतंक फैलाउने काम गरेका छन् । पूर्वी तुर्कीस्थानका चारवटा आतंककारी संगठनको पहिचान भएको छ । बेइजिङ ओलम्पिक २००८ लाई बिथोल्न आतंककारीहरूले प्रयत्न गरेका थिए । समयमै नियन्त्रण गरियो । चीनमा आतंकवाद चीन विभाजित गर्ने उद्देश्यमा आधारित छ । यसका पछाडि अमेरिकाको चीन विरोधी अभियानको हात छ । तिब्बती आतंककारीहरूलाई भारतले आश्रय दिइरहेको छ । बेल्ट एण्ड रोड पहलमा पनि आतंकवादले असर गरेको छ । शान्ति र विकासका लागि आतंकवादविरोधी सिद्धान्त र नीति चीनको विदेश नीतिमा प्रतिबिम्बित छ । छिमेकी देशसँग सीमाक्षेत्रमा संयुक्त संयन्त्र निर्माण गर्ने, सीमा वारपार गर्ने मानिसको खोज गर्नेमा दुवै देशको प्रयत्न हुनुपर्दछ । आतंकवादको निर्मुल गर्न, विश्वमा शान्ति र विकास गर्न विश्वस्तरमै प्रयत्न हुनुपर्छ । चीन आतंकवाद विश्वबाटै निर्मूल गर्न चाहन्छ र त्यो अनुसारको कानुन बनाउन र लागू गर्न तत्पर छ ।
यिनै विषयमा विशेष प्रशिक्षणका साथ चार दिने प्रशिक्षण कार्यक्रम सकिएको छ । समापन कार्यक्रममा चिनिया पक्षबाट नेपाली टोलीलाई चिनिया लिपि उल्लेख भएको ब्यानर दिइएको छ भने नेपालका तर्फबाट चीनलाई जितगढी किल्लाको प्रतिक चिन्ह प्रदान गरियो । समापन समारोहमा मन्तव्य दिंदै नेपाली टोलीका संयोजक तथा यसका लेखक नेत्र पन्थीले भने– चीनले अवलम्बन गरेको बीआरआइले नेपाललाई पनि टेवा पुग्ने विश्वास लिएका छौं । नेपाल सधै एक चीन नीतिको पक्षमा छ । तिब्बत, हङकङ, ताइवान आदि क्षेत्र चीनका अभिन्न भू–भाग हुन् । चीनविरोधी गतिविधिमा नेपाली भूमि प्रयोग हुन नदिने कुरामा हामी प्रतिबद्ध छौं । हामी पंक्तिकारलाई नेत्र पन्थीको यो भनाइ र डा. झाङ बो को प्रशिक्षणमा आएको भनाइसित तादात्म्य सम्बन्ध छ जस्तो लाग्यो । नेपाली टोलीले प्रशिक्षणका बीचमा विश्वविद्यालय इतिहास संग्रहालय, सिजिङली हान सभ्यताको थेम पार्क र राष्ट्रिय कानुन प्रयोगात्मक प्रदर्शन केन्द्र– मुडकोर्टको अवलोकन गर्ने अवसर पाएका छन् ।
मुडकोर्ट हेरिसकेपछि लेखक लेख्छन्– विद्यार्थीलाई अदालतमा जाँदा कुनै फरक महसुस नहोस्् भनेर त्यहाँ व्यवस्थित गरिएको रहेछ । यो क्याम्पस राजनीतिक विशेषज्ञ उत्पादन गर्न सफल रहेछ । सन् २००८ मा चीन सरकार शिक्षा मन्त्रालयले शिक्षण प्रयोग केन्द्र घोषणा गरेको रहेछ । यहाँ विद्यार्थीले प्रयोगात्मक ज्ञान हासिल गर्दछन् । विद्यार्थीले समय समयमा प्रतियोगितात्मक कार्यक्रम राख्दछन् । शिक्षकले न्यायाधीशको काम गर्दछन् । विभिन्न स्तरका सर्वोच्च, उच्च र नगर अदालतबाट न्यायाधीशलाई बोलाएर अवलोकन गराइन्छ । यहाँ आएर हेर्दा यो अदालत हो कि क्याम्पस हो अलमलमा परिन्छ ।
प्रशिक्षणपछि भ्रमण टोलीले विभिन्न विशिष्ट ठाउँहरूको अवलोकन गरेको छ । नगर पर्खाल, लिसान उद्यान, सांस्कृतिक मनोरञ्जक चमेना गृह, शिल्करोड प्रस्थान बिन्दु, लालसेना संग्रहालय, मुस्लिम मार्केट र मस्जिद, सान्सी अन्तर्राष्ट्रिय पोर्ट सियान, सान्सी राष्ट्रिय संग्रहालय, लिङ्बाओ लो कलासंग्रह, बुद्ध मन्दिर तथा आदिवासी गाउँ, आदि आदि ।
चिनियाँ लालसेनाको संग्रहालय हेर्दा चिनियाँ क्रान्तिको जीवन्त तस्वीर देखे लेखकले ।
टोली लिसान उद्यानमा पुग्दा गेटभित्र एउटा मानिसको विशाल शालिक देखियो । त्यो शालिक गाउँको एउटा सामान्य किसान याङको रहेछ । ती किसानले पानीका लागि इनार खन्दा मानव आकृति भेटाए । गाउँलेहरूलाई देखाए । गाउँलेहरू भूत हो कि भनेर डराए । तर याङले पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा हुन सक्छ भन्ने सोंचेर सरकारलाई सूचना गरे । सरकारका तर्फबाट अन्वेषण गर्दा त्यो ठाउँ अत्यन्त महत्वपूर्ण पुरातात्विक ठाउँ ठहरियो । त्यहीं विशाल संग्रहालय बनाइयो । सम्मान स्वरूप ती किसानको शालिक त्यहाँ राखियो ।
मस्जिद मार्केट र मस्जिद अवलोकन गर्दा नेपाली टोली निकै प्रभावित भएको छ । मस्जिद इश्वी सन् ७४२ मा स्थापना गरिएको रहेछ । विभिन्न वंशका राजाहरूको समयमा यसलाई बिस्तार गर्दै पुनर्निर्माण गरिएको रहेछ । चीनको जनक्रान्तिपछि जनसरकार र चिनिया कम्युनिष्ट पार्टीको राम्रो धार्मिक नीतिका कारण अल्पसंख्यक समुदायका विकासका लागि सम्बन्धित निकायले हरेक वर्ष विशेष बजेट प्रदान गर्दै आइरहेको रहेछ । त्यसैकारण मस्जिद विशाल ऐतिहासिक धरोहर हुन पुगेको छ । मस्जिद १३ हजार वर्गमिटरमा, घरहरू ६ हजार वर्गमिटरमा उत्कृष्ट कलाकृतिमा निर्माण गरिएकोले एकदमै दर्शनीय रहेछ । सँगै जानुभएका जलिल मियाले आधा घण्टासम्म त्यहाँका मुल्ला मौलवी गुरुहरूसँग कुरा गर्नुभयो । फर्कदा खुशी भएर आउनु भो । लेखक भन्छन्– मस्जिद र मुस्लिम मार्केट घुमेपछि हामीलाई हामी चीनमा होइन, कुनै अन्य मुस्लिम देशमा छौं भन्ने महसुस् भयो । लिङबाओ लो कला संग्रहालय हेर्दा नेपाली टोली दङदास प¥यो । कलाको गरिमाले गम्भीर बनायो टोलीलाई । अवलोकनपछि राजकीय स्तरको रेष्टुरेण्टमा खानपिन गरे । खाँदा नेपालमा जस्तै टिमुर, खुर्सानी, जिरा, लसुन जस्ता मसला प्रयोग भएका स्वादिष्ट परिकारको स्वाद पाए । बुद्ध मन्दिरको अवलोकन गर्दा लुम्बिनी गए जस्तो भयो । अवलोकनको क्रममा एउटा आदिबासी गाउँको अवलोकन पनि गरेको छ भ्रमण दलले । आदिबासी गाउँ पुराना घरेलु उद्योग, कलाकृति र कामदामले व्यस्त छ । त्यो हेर्दा कतिपय पुराना नेपाली गाउँ घुमेको अनुभूति भयो नेपालीलाई । गल्लीका कुलोमा सफा पानी बगेको छ । बस्ने कोठा स्तरीय छन् । होटल सुविधासम्पन्न छन् । मनै लोभ्याउने आकर्षक छ गाउँ । सबै काममा व्यस्त छन् । नाचेर, रमाएर काम गरिरहेकै छन् । यो हेर्दा नेपाली टोलीको घैंटामा घाम लाग्यो–हामीले पनि नेपालका गाउँहरूलाई रमणीय र समृद्ध बनाउन यस्तै कला संस्कृति र सीपको संरक्षण र संवद्र्धन गर्दै आफ्नै उत्पादन वृद्धिमा लागे संभव छ ।
अन्त्यमा, फाइभ डि मूभिबाट यात्रा टोलीले सम्पूर्ण सियान र सम्पूर्ण सान्सी प्रान्तको अवलोकन गरेको छ । दर्शकलाई कुर्सीमा बेल्टले राम्रोसँग बाँधेर राखिंदो रहेछ । बसेको कुर्सीलाई हलचल गराएर आफै उडेको अनुभव गराईंदो रहेछ । हामीलाई आकाशमा उडेर पुरै सियान मात्रै होइन सान्सी प्रान्त नै घुमेको महसुस् भयो । पहिल्यै देखेका ठाउँहरू पनि हामीले यहाँबाट देख्यौं ।
तालिमको उदघाटन कार्यक्रममा आयोजक चिनियाँ टोलीले नेपाली टोलीलाई एउटा पुस्तिका उपहार दिएको थियो । पुस्तक थियो– लिअङजिअहे गाउँः चिनियाँ राष्ट्रपति सि जिनपिङको कथा । लेखकले त्यस पुस्तकबाट पहिलेको चीन र अहिलेको चीनको सारसंक्षेप गरेका छ् । लिअङजिअहे येनान क्षेत्रको सान्सी प्रदेशको उत्तरी भागको यानचुहान काउन्टीमा रहेको ज्यादै विकट र दुर्गम गाउँ हो । ५० वर्ष अघिको अवस्थाको यथार्थ चित्रण गर्दै आजको अवस्थामा आउन गरिएको कठोर संघर्षको यथार्थ चित्रण यस कितावमा गरिएको छ ।
१९६८ मा माओत्सेतुङले सम्पूर्ण बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगायत सहरी युवाहरूलाई गाउँका गरिव र निम्न मध्यम वर्गका किसानहरूबाट प्रशिक्षित हुन सहरबाट गाउँ जानका लागि आह्वान गरे । यस आह्वानबाट एक करोड ७० लाख सहरी युवा सहरबाट गाउँ पसे । यो अभियान सात वर्ष चल्यो । अभियानले सात वर्षमा गाउँको कायापलट ग¥यो । यस अभियानभित्र एउटा समूहको सदस्य भएर अहिलेका राष्ट्रपति सिजिनपिङ त्यस गाउँमा गएका थिए । त्यो गाउँ यिनको दोस्रो गाउँ भयो । तिनले र तिनका साथीहरूले त्यस गाउँमा पसिना बगाए । बुद्धि खियाए । सिल्प सुधाए । जसका कारण गाउँको कायापलट भयो । गाउँ साह्रै दयनीय । पाँचजनाको बीचमा एउटा तन्ना छ । खाद्यान्नको अभाव छ । प्रत्येक वर्षको वसन्त ऋतुमा अन्न माग्न अरू गाउँ चाहार्ने हो । जसलाई भोजन शिकार भनिन्छ । जमिन भिरालो छ । पानी छैन । खेतमा लाउने पानी पनि छैन । शुद्ध खानेपानी पनि छैन । जसका कारण रोगव्याधी छ । नुनपानी खाएर रात काट्नुपर्ने अवस्था छ । अन्नको ढुटोमा पिठो मिसाएर रोटी बनाएर छाक टार्नुपर्ने अवस्था छ । जतासुकै कष्टैकष्ट छ । त्यस अवस्थामा सिजिङपिङको नेतृत्वमा विभिन्न अभियान चालियो । पोखरी बनाएर वर्षाको पानी जम्मा गर्ने, बगरमा बाँध बनाएर भेल रोक्ने, बगरमा इनार खनेर खानेपानी निकाल्ने, भिरालोमा सुर्का बनाएर खेती लाउने, बगरमा बाँध हाली जम्मा गरेको पानीबाट बाँकी बगरमा खेतीपाती लगाउने जस्ता अनेकौं परिवर्तनका अभियान चलाइयो । आगो बाल्न दाउराको अभाव छ । सफा नुहाउने ठाउँ छैन । दिसा गर्ने चर्पीहरू दुर्गन्धित छन् । यस्तो अवस्थामा सिजिनपिङले मिथेन इनर्जी क्रान्ति गरे । तिनले एउटा अखवारमा प्राप्त सूचना अनुसार सिचुवान गएर त्यहाँ निर्मित मिथेन ट्यांक बारेमा जानकारी लिएर सियानमा मिथेन ट्यांक अभियान चलाए । त्यसका लागि धेरै परीक्षण गर्नु प¥यो । तर सफल भए । मिथेन ग्यास÷ गोवर ग्याँसबाट चर्पीको व्यवस्थापन भयो । खाना पकाउन र बत्ती बाल्न उर्जा प्राप्त भयो । खेतीको लागि उर्वरक मल प्राप्त भयो । पछि धान कुट्ने, मकाई पिस्ने, साना साना कुटिर उद्योग पनि सञ्चालन भए । अलि पछि प्रान्तीय सरकारले गोवर ग्यास प्लान्टलाई राज्यव्यापी बनाइदियो । संघर्षमाथि संघर्ष गर्दैगर्दा लिअङजिअहेमा ठूलाठूला कृषि फार्महरू बने । औद्योगिक क्षेत्रहरू बने । तिनका बिक्री भण्डारहरू बने । लिअङजिअहे एउटा राम्रो गाउँ बन्दै गयो ।
सन् १९७३ मा प्रधानमन्त्री चाउ एन लाई भियतनामका नेतालाई लिएर येनान आएका थिए । येनानको गरिबीलाई हेर्दा उनी रोए । आँशु झार्दै भने– “मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकिन । अहिले पनि जनता दुःख र गरिबीमा ज्यून विवश छन् । येनान पार्टी कमिटी र प्रशासनलाई मेरो निर्देशन छ । तीन वर्षभित्र उत्पादन डबल हुनुपर्छ । म अर्कोपटकको भ्रमणमा आउँदा जनताको राम्रो जीवन देख्न चाहन्छु ।”
प्रधानमन्त्री र विदेशी पाहुनाका लागि खाना तयार गरेर टेवलमा राम्रो रक्सी र विभिन्न परिकार राखिएको थियो । तर चाउ एन लाई ले एउटा कोदाको ढिंडो भएको कचौरा मात्रै लिए ।
सात वर्ष अभियानमा बसेर सिजिनपिङ् सहर फर्के । १८ वर्षपछि आए । त्यतिखेर गाउँको उत्पादन धेरै बढेको थियो । गाउँको मुहार फेरिइसकेको थियो । फेरि दोस्रो पटक ४० वर्षपछि श्रीमतीसित आउँदा लिअङजिअहेलाई सुन्दर र विकसित देखे । उनी अत्यन्तै प्रभावित भए र खुसीका आँशु झारे । जे होस्, नेत्र पन्थीले छिमेकी मित्रराष्ट्र चीनको सान्सी प्रान्त, त्यसको ऐतिहासिक नगर सियान र लिअङजिअहे कितावको कुरालाई सारसंक्षेप गरेर एउटा राम्रो नियात्रा लेखेका छन् । यो नियात्रा सरल छ । सहज छ र बोधगम्य छ । नियात्रा एउटा साहित्य हो । विशिष्ट साहित्य । यसमा नियात्री जस्तै पाठक पनि तत्तत् ठाउँमा विचरण गर्दछ भने त्यो नियात्रा सफल मानिन्छ । यस मानेमा यो नियात्रा धेरै हदसम्म सफल छ । हामी दुई टिप्पणीकारले नेत्र पन्थीको चीन भ्रमणको संस्मरणलाई टिप्पणी गर्दैगर्दा आफू पनि उनीसँगै विचरण गरेको अनुभव ग¥यौं । हामीलाई आशा छ, यो प्रस्तुति सम्पूर्ण पाठकहरूलाई उपयोगी हुनेछ । कहीं कहीं शब्दको दाँती नमिलेको होला, त्यो शब्द शिल्पीको जिम्मा दिऊँ । यसमा कुराको ताँती मिलेको छ । कुराले चुरो समातेको छ । त्यसो हुनाले यो लेखन सफल छ । ६५ पेजको एउटा सानो किताबमा चीनसम्बन्धी ठूलो ज्ञान राशि समावेश छ । सम्पूर्ण यात्रा संस्मरणलाई हेर्दा चीन आफ्नो निर्धारित गन्तव्यमा अविरल हिंडिरहेको छ र गन्तव्यमा अवश्य पुग्छ भन्ने लाग्छ । चिनियाँ कम्युनिष्ट पार्टीको चिनियाँ चरित्रको समाजवाद निर्माण गर्ने दुईवटा शताब्दी लक्ष्य छन् ।
१) चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १०० वर्ष अर्थात् २०२१ मा सबै क्षेत्रमा समृद्ध समाज निर्माण गर्ने र
२) जनवादी गणतन्त्र स्थापना (१९४९) को १०० वर्ष अर्थात सन् २०४९ सम्म समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिक रूपले उन्नतिशील समाज निर्माण गर्ने ।
चिनियाँहरूको विकास निर्माणको गतिलाई हेर्दा यी दुई लक्ष्य पूरा नहुने कुनै कारण छैन ।