बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका तीन बिरामीको सोमबार बिहान निधन भयो । उनीहरूको केही दिनदेखि आइसीयुमा उपचार भइरहेको थियो । कोरोना भाइरसको पहिलो लहर सकिएयता कोरोना संक्रमणबाट मृत्यु हुने दर कम थियो भने संक्रमण पनि कम हुँदै गएको थियो । तर छिमेकी मुलुक भारतमा नयाँ प्रजातिको कोरोना थेग्नै नसक्ने गरी फैलिएपछि त्यसको असर नेपालमा पनि देखापरेको छ । एक साता यता प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएको छ भने कोरोना विशेष अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ । खासगरी भारतबाट स्वदेश फर्किएका नेपालीहरूमा संक्रमण देखिएको छ । सीमा नाकामा स्वदेश फर्कनेहरूको भीड लाग्ने गरेको छ ।
लुम्बिनी प्रदेश कोरोनाको सबैभन्दा बढी जोखिममा छ । यस प्रदेशमा बेलहिया भन्सार नाका, महेशपुर भन्सार नाका र जमुनाइ भन्सार नाका रहेका छन् । यी नाकाबाट दिनहुँ स्वदेश फर्कने नागरिकको लर्काे छ । भारतबाट आएकामा एन्टिजेन परीक्षण गर्ने गरिए पनि आवश्यकताअनुसार व्यापक बनाइएको छैन । फेरि कोरोना संक्रमण भएको व्यक्तिबाट थाहा लाग्न सक्दैन । संक्रमित भएको हप्ता दिनपछि मात्रै कोरोना पोजेटिभ वा नेगेटिभ भन्ने थाहा लाग्न सक्दछ । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै उनीहरूलाई क्वारेन्टाइनमा राख्न जरूरी छ ।
कोरोना भाइरसको दोस्रो छालको असर लुम्बिनी प्रदेशमा पनि देखिन थालेको छ । तर यस प्रदेशमा कोरोना जोखिम बढे पनि आइसीयु र भेन्टिलेटर भने बढेका छैनन् । कोरोना भाइरसको पहिलो लहरमा जे जति आइसीयु र भेन्टिलेटर थिए, अहिले पनि त्यत्ति नै छन् । पहिलो लहरमा आइसीयु अभाव हुँदा केही नागरिकले ज्यान गुमाउन पुगेका थिए । त्यतिबेला उपचार नै नपाएर बुटवल उप–महानगरपालिकाका एक कर्मचारीले नै ज्यान गुमाए । अहिले जुन प्रकारले नयाँ प्र्रजातिको भाइरस फैलिने जोखिम छ, त्यस प्रकारको तयारी हुनुपर्ने हो । तर छैैन । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसीयु र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म १ सय १७ वटा आइसीयु र ३९ भेन्टिलेटर छन् । कोरोनाको दोस्रो छाल आउँदा यी पर्याप्त हुने छैनन् । कोरोना व्यापक नहुँदै सम्भावित जोखिमको मूल्यांकन गरेर तयारी गर्नुपर्ने हो । कोरोनाको नयाँ प्रजाति तीब्र फैलिने भएकाले अहिलेकै तयारीले थेग्ने सम्भावना छँदै छैन । अहिले थप तयारीका लागि समय छ । बेलैमा पूर्व तयारी नअपनाउने हो भने नागरिकले उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्दछ । प्रदेश सरकार र स्थानीय सरकारले कोरोना महामारी पूर्वको तयारीमा जुट्नै पर्दछ । आइसीयु र भेन्टिलेटर भनेका कोरोनाविरुद्धको लडाईमा पूर्वजन्म जस्तै सहयोग गर्ने प्रविधि हुन् । सबै सरकारको ध्यान उपचार नपाएर कसैको जीवन समाप्त नहोस् भन्नेमा केन्द्रित हुनुपर्दछ ।
त्यसैले कोरोनाको दोस्रो छालबाट नागरिकलाई जोगाउन आइसीयु र भेन्टिलेटर बढाउनै पर्दछ । प्रत्येक नागरिकले आवश्यकताअनुसारको उपचार पाउने अवस्था सिर्जना गरिनु पर्दछ । आज भारतमा एकै दिन डेढ लाखभन्दा बढी नागरिक संक्रमित भइरहेका छन् । भोली नेपालमा यस्तै भयावह अवस्था नआउला भन्न सकिन्न । अहिले सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा जुनप्रकारकोे लापरबाही गरेका छन् । यसले महामारी फैलिनमै टेवा पु¥याइरहेको छ । तसर्थ बेलैमा आइसीयु, भेन्टिलेटर बढाउनुका साथै नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गर्न जरूरी छ ।