नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । एक सातायता दैनिक रूपमा संक्रमणको दर उकालो लाग्दै गएको छ । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा डेढ लाखभन्दा बढी संक्रमित भएका छन्् । संक्रमण व्यापक बन्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम बढिरहेको छ । तीब्र गतिले फैलिने र कडा रूपमा देखिएको नयाँ प्रजातिको कोरोनाले भारतलाई आक्रान्त बनाएको छ । यही प्रजातिको कोरोना नेपालमा फैलिन नपाओस् भन्ने तर्फ सबै सतर्क रहनुपर्ने भए पनि जनस्तरमा स्वास्थ्य मापदण्डमा लापरबाही नै छ । नेपालको पछिल्लो अवस्था हेर्दा कोरोनालाई खेलाचीको रूपमा लिइएको छ ।
नेपालमा कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र भीडभाड नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारम्बार आग्रह गरिरहेको छ । शिक्षण संस्था कोरोना फैलाउने ‘हट स्पट’ नबुनन् भन्ने उद्देश्यसहित केही साता बन्द गर्न मन्त्रालयले सिफारिस समेत गरेको छ । शैक्षिक संस्था कोभिडको जोखिम स्थलका रूपमा देखिएकाले यस्तो सिफारिस गरिएको हो । तीब्र गतिमा फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिकोे जोखिममा पछिल्लोे समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएका छन्् ।
हुन पनि लकडाउन खुलेको केही समय विद्यालय र विद्यार्थीहरूले स्वास्थ्य सुरक्षा सावधानी अपनाए । तर आजभोलि त्यसको पालना गर्न छोडिएको छ । यही लापरबाहीका कारण विद्यालय जाने बालबालिकाबाट अभिभावक र समुदायमा संक्रमण सार्न सक्ने जोखिम देखिएको छ । गत वर्षको लहर बच्चाहरूका लागि कम घातक देखिए पनि यसपालि कडा लक्षण देखिने विज्ञहरूको भनाइ छ । कोभिडको डबल म्युटेन्ट वयस्कसँगै बच्चाहरूमा बढी घातक छ ।
अमेरिकामा गरिएको एक अध्ययनअनुसार संक्रमणले गर्दा सघन उपचार चाहिने वयस्कभन्दा बामे सर्ने बालबालिकाको शरीरमा यो भाइरसको मात्रा (भाइरल लोड) बढी पाइएको छ । यसको मतलब बच्चाहरू संक्रमणको लुकेको स्रोतको रूपमा देखिनुका साथै समुदायमा संक्रमण बाहकका रूपमा रहने खतरा छ । हङकङमा अनुसन्धानकर्ताहरूले तीन वर्ष वा योभन्दा कम उमेरका ४० प्रतिशत बालबालिकामा लक्षणविहीन कोभिड देखिएको पत्ता लगाएका थिए । नेपालमा पछिल्लो समयमा संकलित नमूनामा बेलायती भेरिएन्टको कोभिड बढी मात्रामा देखिएको छ भने यस्ता नमूनाहरूमा संक्रमित देखिएका स्कुले बालबालिकाको संख्या उल्लेख्य रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सरकारी तथ्यांकअनुसार मन्टेश्वरीमा पढ्ने तीन वर्षे शिशुदेखि १३ वर्षसम्म उमेर समूहका बेलायती भेरिएन्टको संक्रमण देखिएको छ । यसको मतलब तीब्र रूपमा फैलिने नयाँ प्रजातिको कोरोना नेपालमा भित्रिसकेको छ । बालबालिकाबाट संक्रमण व्यापक हुन सक्ने सम्भावना रहेकाले जोखिम भएको ठाउँमा विद्यालयलाई २÷३ हप्ता बन्द गरेर अनलाइन शिक्षा दिने समय आएको छ ।
नयाँ प्रजातिको कोरोना पराजित गर्न अहिलेको जस्तो असंवेदनशील र असावधानीबाट सम्भव छैन । प्रत्येक नागरिकले भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, साबुनपानी वा सेनिटाइजरले हात धुने, भीडभाड नगर्ने र नजाने आदि काम गर्नै पर्दछ । कसैले पनि नयाँ प्रजातिको कोरोनालाई खेलाचीको रूपमा लिनु हुँदैन । आज भारत कोरोनाको व्यापक चपेटामा परेको छ । नेपालीले अरू मुलुकबाट पनि पाठ सिक्न जरूरी छ ।