नेपाल दक्षिण एसियाकै खुशी मुलुक भनी हामी गर्व गरिरहँदा कतिपय स्थानीय सरकारहरू कुपोषण दर घटाउन लागिपरेका छन् । बाहिरी रूपमा हेर्दा खुशी मुलुक देखिने तर कतिपय उप–महानगरपालिकाहरू नै बल्ल कुपोषणको दर घटाउने योजनामा रहनुले मुलुक अझै वास्तवमै खुशी मुलुक बनिसकेको छैन भन्ने प्रष्ट हुन्छ । दाङको तुलसीपुर उप–महानगरपालिकाले कुपोषणको दरलाई कम गर्ने नीतिगत योजना बनाएको छ । विगत तीन वर्षदेखि कुपोषण दर घटाउँदै आएको उप–महानगरपालिकाले अहिले योजना नै बनाएर पोषणका गतिविधिहरू बढाउन थालेको हो । तीन वर्ष पहिले ६ प्रतिशत रहेको कुपोषण दर अहिले चार प्रतिशत रहेको उप–महानगरपालिकाले जनाएको छ । पोषणको मापदण्डहरू पूरा गरेर नगरमा अहिले रहेको ४ प्रतिशत कुपोषण दरलाई न्यूनीकरण गरेर शून्यमा झार्ने योजना रहेको छ । हाल रहेको कुपोषणको अवस्थालाई न्यूनीकरण गर्दे लैजाने र क्रमिक रूपमा कुपोषण मुक्त नगरका रूपमा स्थापित गर्ने रणनीतिक योजना निर्माण गरिएको उप–महानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
उप–महानगरपालिकाले पोषण मैत्री स्वास्थ्य संस्था बनाउने, पोषण कर्नर स्थापना गर्ने, वालीदेखि थालीसम्म पोषण समृद्धि गर्ने योजना बनाएर कार्यान्वयमा लैजाने योजना बनाएको छ । तुलसीपुरको टरिगाउँ स्वास्थ्य चौकी र मानपुर स्वास्थ्य चौकीमा तीन वर्षमा १ सय ३० जना कुपोषित बालबालिकाको उपचार गरिएकोमा यस वर्षदेखि वडा नं. ९ को दोघरे नगर स्वास्थ्य केन्द्रमा पनि कुपोषितलाई उपचारको व्यवस्था मिलाउने तयारी गरेको छ । त्यसै गरेर दुई वर्ष मुनिका बच्चाको तौल लिने दरलाई बढाउने, स्वास्थ्य संस्थामा गर्भ जाँच, सुत्केरी सेवा तथा सुत्केरी पश्चातको जाँचमा र आइरन फोलिक एसिड चक्की प्रयोगमा वृद्धि गर्ने, बालभिटाको नियमित प्रयोग दरलाई बढाउने, हरेक घरमा कम्तीमा छ थरी फलफूल लगाउन प्रोत्साहन गर्ने योजना रहेका छ । त्यसै गरेर जंगली खाद्यवस्तुको प्रयोगमा वृद्धि गर्ने, विद्यालयमा आइरन फोलिक एसिड चक्की प्रयोग, दिवा खाजाको प्रभावकारिता, सरसफाइ, सुरक्षित खानेपानीमा जोड दिन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई जोड दिने नीति लिइएको छ ।
उप–महानगर बनिसकेको तुलसीपुरले नै कुपोषण दर घटाउने योजना बल्ल बनाउँदै छ भने अन्य नगरपालिका, गाउँपालिकाहरूमा कुपोषणको अवस्था छैन भन्न सकिन्न । मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वास्थ्य अवस्था नै सन्तोषजनक छैन भने वास्तवमा खुशी हुनै सकिन्न । यस्तो अवस्थामा तुलसीपुर उप–महानगरले बनाएको योजना सराहनीय छ । त्यसैले देशैभर कुपोषण घटाउन तुरून्तै काम गरिहाल्नु पर्दछ । देशलाई समृद्ध बनाउन विकास निर्माणका काम र देखावटी विकासले मात्र पुग्दैन, आम नागरिकको स्वास्थ्य अवस्था राम्रो हुनैपर्छ । तसर्थ देशैभर कुपोषण घटाउने योजना कार्यान्वयनमा लैजान जरूरी छ ।