गत साता पोखरास्थित पश्चिमाञ्चल इञ्जिनियरिङ्ग क्याम्पसका विद्यार्थीमा ठूलो संख्यामा कोरोना संक्रमण देखियो । त्यस लगत्तै क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएको छ । क्याम्पसका करिब ८० विद्यार्थी अहिले क्वारेन्टाइनमा छन् । काठमाडौं र भक्तपुरका दुई शैक्षिक संंस्थामा पनि शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण देखिएपछि पढाई प्रभावित भएको छ । यी प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय देशैभरका शैक्षिक संस्थाहरू कोरोना संक्रमण ‘हट स्पट’ बन्ने जोखिम बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ चैतयताका १३ दिनमा १९ वर्ष मुनिका एक सय ४२ बालबालिकामा संक्रमण देखिएको छ । उनीहरू सबै विद्यार्थी भएको अनुमान छ । यद्यपि अहिले पनि धेरै शैक्षिक संस्थाले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । लकडाउन खुलेको सुरुवाती अवस्थामा शैक्षिक संस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएको थियो । तर अहिले पटक्कै पालना छैन । विद्यार्थीले हेलचेक्र्याई गरे पनि विद्यालय प्रशासनले यसमा निगरानी र खबरदारी गर्नुपर्ने थियो । यसमा विद्यालयहरूको गम्भीर लापरबाही देखिन्छ ।
अवस्थामा के सम्म देखिन्छ भने भौतिक दुरीको कुनै मतलब छैन । विद्यालयमा स्यानिटाइटर नराख्ने, हात धुने व्यवस्था नगर्ने, मास्क नलगाउने सम्मको अवस्था छ । यसले विद्यालयहरू कोरोना संक्रमणको उच्च जोखिममा छन् । देशमा कोरोना संक्रमण विस्तारै उकालो लाग्दै गएको छ । भारतबाट आउनेहरूबाट संक्रमणको जोखिम उत्तिकै छ । विद्यालयमा विद्यार्थी र शिक्षकले स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने एकै पटक संक्रमण व्यापक हुने जोखिम छ । विद्यालयहरूले कम्तीमा आफ्नो विद्यालय कोरोना संक्रमणको केन्द्र नबनोस् भन्ने कुरामा सचेत हुनै पर्दछ ।
शैक्षिक संस्थाहरूमा मास्क लगाउने, हात धुने चलनलाई फितलो बनाउनै हुँदैन कोरोनाको दोस्रो लहरको जोखिममा शैक्षिक संस्थाहरू छन् भन्ने कुरालाई हल्का रूपमा लिनै हुँदैन । शिक्षक र बालबालिका संक्रमित हुन थाल्नुले स्वास्थ्य सुरक्षामा हेलचेत्र्mयाई गरेको देखिन्छ । यतिबेला होसियार ढंगले शैक्षिक संस्था चलाउनु पर्ने अवस्था आएको छ । बेलैमा होसियारी अपनाइएन भने विद्यालयहरू कोरोना संक्रमणका दोस्रो लहरका केन्द्र बन्न सक्दछन् । त्यसैले सबै विद्यालयले झन्झट नमानी थर्मल गन प्रयोग गरी दिनहुँ ज्वरोे नाप्ने, लक्षण देखिएमा जाँच गराउनु पर्दछ । स्वास्थ्य मापदण्ड सबैले पालना गर्नै पर्दछ । महामारीका बेला सामूहिक प्रयत्नले मात्रै जीवन जोगाउन सकिन्छ । कम्तीमा विद्यालयहरू कोरोना संक्रमणको ‘हट स्पट’ नबनुन भन्ने कुरामा विशेष सचेत हुन जरूरी छ ।