माया गौतम
विश्वका धेरै व्यक्तिहरूले, धार्मिक मन्यताहरूले, धार्मिक पुस्तकहरूले र यस्तै धेरै कुराहरूले जीवन जगतको पूर्वजन्म र पूनर्जन्ममा विश्वास गरी विभिन्न कल्पनाहरू गरिएका भेटिन्छन् । हिन्दु धर्ममा पनि सबै प्राणीहरूको समय परिवर्तनसंगै विभिन्न प्राणीको रूपमा जन्म भै मृत्यु हुन्छ भन्ने मान्यता छ । मानिस पनि विगतमा विभिन्न प्राणीको रूपमा जन्म र मृत्युको चक्र पार गर्दै आएको हुन्छ र मरेपछि पनि कुनै प्राणीको रूपमा पुनर्जन्म हुन्छ भन्ने मान्यता छ । पृथ्वी बाहेक पनि अरू दुनियाहरू छन् जसलाई स्वर्ग र नर्क भन्ने गरिन्छ । यस्तै परिकल्पनाहरूलाई विश्वास गरी हामीहरूले पनि कसैको मृत्यु भएमा स्वर्गमा बास होस् भनि कामना गर्छौं ।
विगतदेखि चल्दै आएका धार्मिक चलनका आधारमा हामीले हाम्रा अभिभावक अथवा आफन्तजनको मृत्यु भएको बेलामा उनीहरूको स्वर्गमा बास होस भनि आ–आफ्नो संस्कारअनुसार पितृकार्यहरू गर्छांै । तर वास्तविक प्रमाणको रूपमा न कुनै मानिसले आफ्नो पूर्वजन्मको बारेमा भन्न सकेको छ, न त पुनर्जन्मको बारेमा नै । स्वर्ग र नर्कको बारेमा पनि विभिन्न परिकल्पना गरिएपनि अहिलेसम्म कसैले यसबारेमा वास्तविक प्रमाण दिन सकेको छैन र विज्ञानले पनि मानव जीवनको पूर्वजन्म र पुनर्जन्मलाई प्रमाणीत गर्न सकेको छैन ।
एउटा सत्यकुरा के हो भने परिवर्तन प्रकृतिको अकाट्य नियम हो । विश्व ब्रह्माण्ड नै परिवर्तनशिल छ । ब्रह्माण्डको कुनैपनि बस्तु स्थीर छैन । यसै मान्यताअनुसार पृथ्वी र यहाँ रहेका हरेक बस्तुमा परिवर्तन भैरहेको हुन्छ । समय परिवर्तनसँगै माटो जम्दै गएर कठोर ढुंगा बन्छ भने कहिले ढुंगा खिइँदै गएर टुक्रा टुक्रा हँुदै माटोमा परिवर्तन हुन्छ । कुनै बस्तु परिवर्तन भएको छिट्टै थाहा पाउन सकिन्छ भने कुनै बस्तु परिवर्तन भएको थाहा पाउन लामो समय लाग्छ ।
प्रकृतिको यही परिवर्तनको नियमअनुसार मानव जीवनको सुरुआतसंगै शरीरमा परिवर्तन हुन सुरु हुन्छ । बानी व्यवहारमा परिवर्तन हुन्छ । सोंचाई र चिन्तनमा परिवर्तन हुन्छ । अनि भाषा, धर्म संस्कृति आदि हरेक कुरामा नजानिदो पाराले परिवर्तन भैरहेको हुन्छ । मानिसको जन्म भएपछि कुनै न कुनै दिन उसको मृत्यु हुन्छ र यो पनि प्रकृतिको परिवर्तनको एउटा नियम हो । मानिसको उमेर पुगेर या वृद्ध भएर मर्नुलाई स्वाभाविक मृत्यु भनिन्छ भने उमेर नपुगि भएको मृत्युलाई अस्वाभविक वा असामयिक मृत्यु भनिन्छ । जस्तोसुकै मृत्यु भएको भए पनि मृतकका आफन्तजनलाई अवश्य पनि दुःखी बनाउँछ ।
मानव जन्म मृत्युको प्रकृया निरन्तर चलिरहन्छ । मानिस अजम्मरी कोही पनि छैन । तरपनि विगत डेढ वर्षदेखि विश्वमा यस्तो माहामारी आयो जसलाई कोरोना या कोभिड–१९ को नामले चिनियो । जसले लाखौं मानिसको जीवनलाई असमयमै खोसेर लगिरहेको छ । विश्वका विभिन्न देशका साथै हाम्रा आफन्तहरूलाई पनि यस्ले आक्रमण गर्न छोडेन । यदि स्वर्ग भन्ने ठाउँ कहीं छ भने विगतमा मृत्यु वरण गरेका सबै मानिसको स्वर्गमा बास होस् भनि कामना गर्दछु । माहामारीले अझैपनि तीब्रताकासाथ आक्रमण गरीरहेकोले हामी सबैले यसबाट बँच्न सतर्कता अपनाउनै पर्छ भन्दै संक्रमणबाट बच्ने सम्पूर्ण स्वास्थ्यका नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।
मृत्यु सत्य हो, यो कुरा थाहा हुँदाहुँदै पनि कसैलाई पनि मृत्यु सहज स्वीकार्य छैन । जीवनको अन्त्यसम्म जिजीबिसा हुनु मानिसको स्वभाव हो । मानिसले सधै आफन्तको सामिप्यता चाहने हुँदा कसैको मृत्युमा उसका आफन्तलाई दुःखित बनाउँछ र स्मृतिबाट आफन्तलाई झट्ट हटाउन सकिँदैन । समाजमा जसले मैनबत्ती जस्तै आफूलाई जलाएर अरूलाई उज्यालो दिइरहेका हुन्छन्, तिनिहरूको जतिसुकै छोटो या लामो जीवन होस् तिनीहरूलाई समाजले झट्ट बिर्सन सक्दैन । केही दिन अघि हाम्रा सम्माननीय निष्ठावान नेता नवीन्द्रराज जोशीको स्वर्गारोहण भयो । अहिले समाजमा चाट्टुकार र विकृत मानसिकताले लिप्त नेताहरूको कृयाकलापका कारण जनमानसको नजरमा नेताहरू प्रतिको दृष्टिकोण सारै नकारात्मक भएको अवस्थामा पनि हाम्रा शालीन नेता नवीन्द्रराज जोशीको व्यवहार र उनले गरेको योगदान सधै स्मरणीय र अनुकरणीय रहनेछ । उनलाई समाजले कहिल्यै भुल्नेछैन । आदरणीय नेता जोशीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल आफन्तजनप्रति समवेदना व्यक्त गर्दै कहीं स्वर्ग भन्ने ठाउँ छ भने उनको स्वर्गबासको कामना गर्दछु ।
यस्तै केही दिनअघि हाम्रो छिमेकी दाई गोबिन्द आचार्यको स्वर्गारोहण भयो । उनी कुनै प्रतिष्ठीत व्यक्ति या ठूला नेता नभएपनि सधै सामाजिक काममा अग्रसर रहे । बालकदेखि वृद्धसम्म सबैसँग राम्रो व्यवहार गरे । कहिले पनि कसैको मन दुखाएनन् । समाजमा जे काम परे पनि कहिल्यै पछि हटेनन् । समाजमा कहिले पनि आफ्नो बढप्पन देखाएनन् । साँच्चै भन्नुपर्दा उनी समाजका अभिभावक थिए । आफ्नो परिवारमा पनि जस्तोसुकै परस्थितिमा पनि बिचलित नभै सादा जीवन सञ्चालन गरिरहेका थिए ।
भन्छन् मानिसको आयु उसको व्यवहार, कृयाकलाप र खानपानले निर्धारण गर्छ रे । सबैको जीवनमा यो कुरा मेल नखाएता पनि धेरै व्यक्तिको जीवनसंग मेल खान्छ । हुन त मृत्यु भैसकेको मानिसको टिका टिप्पणी गर्नु हुँदैन भन्छन् तर कतिपय कुराहरू बताउँदा अरू व्यक्तिलाई आफ्नो आनीबानी परिवर्तन गर्ने मौका मिल्न सक्छ । गोबिन्द दाइको हकमा पनि उनी उमेरअनुसार वृद्ध नै भएर स्वर्गे भएका होइनन् । सुगर रोगले सताइरहेको बेला पनि उनले आफू स्वस्थ रहन के गर्नुपर्ने हो, के खान हुने के नहुने आदि खानपिनमा पनि ख्याल गरेनन् त्यसकारण उनलाई रोगले अरू च्याप्यो र चाँडै नै मृत्यु भयो ।
गोबिन्द दाइ उनको चार वर्षीय कान्छो नातीलाई डो¥याएर घुम्न निस्कन्थे । उनको स्वर्गारोहणको दिन उनी आफ्नो घर अगाडि आँगनमा अनन्त निद्रामा सुतीरहेको बेलामा भावह्वील भएका उनका आफन्तजनहरूको वरिपरि उनले हात समाएर हुर्काएको अबोध कान्छो नाती भने अरूबेला जस्तै दौडीरहेको थियो, खेलीरहेको थियो । यस्तैमा म कल्पना गर्नपुगें उसले मृत्युलाई कसरी बुझिरहेको होला ? सुतीरहेका हजुरबा फेरि उठेर उसलाई उत्तिकै माया गरिरहने छन् भन्ने सोचेको होला कि के सोचेहोला ? भविश्यमा उसले आफ्नो हजुरबा नपाउँदा के सोच्नेहोला ? यस्तै कुराहरूले मेरो मन खिन्न बनायो । जे जस्तो भए पनि मानिसले परिस्थितिलाई स्वीकार्नै पर्छ । आदरणीय गोबिन्द दाइलाई हार्दिक श्रद्धाञ्जली दिँदै परिवारजनमा समवेदना व्यक्त गर्दछु र यदि स्वर्ग भन्ने ठाउँ कहीं छ भने उनको स्वर्गमा बास होस् ।
हामी बिहान उठेदेखि फेसबुक खोल्नासाथ कैयौंँ मानिसको मृत्युको खबर थाहा पाउँछौं । कोही कालगतीले मृत्युवरण गरेका हुन्छन् भने केही दुर्घटनामा परेर । कुनै त अल्पायुमै आत्महत्या गरेको थाहा पाउँछौं । मानव जीवनचक्र देख्दा सपना देखेसरह मानिस कहाँ जाँदो हो भन्ने हामी सोंचीरहेका हुन्छौं । हुन त निर्जीव भै सकेपछि हामी सबै हुने त खरानी नै हो, त्यतीमात्रै होइन माटोमा विलीन भएर जानेहो र पनि हाम्रो गतिविधिले देखाएको हुन्छ हामी अजम्बरी छौं । आज हामी अरूका निम्ती समवेदना दिइरहेका छौं, कुनै दिन हाम्रो समवेदना अन्य कसैले दिइरहेको हुनेछ । जे होस् हामी कोही पनि मृत्युपछि के हुन्छ भन्ने कुनै अनुभव लिएर पुनः फर्केर आएको र वास्तविक कथा बताएको थाहा पाएका छैनौं । तर पनि कहीं अदृस्य दुनियाँ छ भन्ने भ्रममा हामी कल्पना गरेर बाँचिरहेका छौं ।