बुटवल । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट केन्द्रीय अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।
अधिवेसनबाट पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएनका अध्यक्ष प्रेम न्यौपाने लुम्बिनी प्रदेश संयोजकमा, एसोसिएनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरे केन्द्रीय सचिवमा निर्वाचित भएका छन् । महासचिव हरिराम कसौधन र सदस्य राजु न्यौपाने केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको प्रेस सल्लाहकार खिमानन्द भट्टराईले जानकारी दिए ।
काठमाडौँमा २० र २१ गते भएको ४२ औं अधिवेशनबाट गैरे सचिवमा निर्विरोध निर्वाचित भएका हुन् । एसोसिएसनको अधिवेशनमा प्रतिनिधिमुलक संस्थानबाट ३५१ जना मतदाता र १ हजार ७५० डिलर्स सहभागी थिए । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरूङ, प्रथम उपाध्यक्षमा ई. विनोदकुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिड्ला निर्विरोध निर्वाचित भए । यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान हाल (निर्वाचनअघि) एशोसिएशनको अध्यक्ष थिए । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो । यस्तै कार्यकारी सदस्य (नेपालभरबाट) मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।