लुम्बिनी संवाददाता
दाङ
तुलसीपुर उप–महानगरपालिकाले कुपोषणको दरलाई कम गर्र्ने नीतिगत योजना बनाएको छ । विगत तीन वर्षदेखि कुपोषण दर घटाउँदै आएको उप–महानगरले अहिले योजना नै बनाएर पोषणका गतिविधिहरू बढाउन थालेको हो ।
हाल रहेको कुपोषणको अवस्थालाई न्यूनीकरण गर्दे लैजाने र क्रमिक रूपमा कुपोषण मुक्त नगरका रूपमा स्थापित गर्ने रणनीतिक योजना निर्माण गरिएको उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । उनले पहिलो चरणमा वाड नं ११ लाई पोषणमैत्री वडा घोषण गर्ने तयारी गरिएको जानकारी दिए । पोषण मैत्री स्वास्थ्य संस्था बनाउने, पोषण कर्नर स्थापना गर्ने, वालीदेखि थालीसम्म पोषण समृद्धि गर्ने योजना बनाएर कार्यान्वयमा जान थालेको उनको भनाइ छ । अहिले तुलसीपुरको टरिगाउँ स्वास्थ्य चौकी र मानपुर स्वास्थ्य चौकीमा अति सीघ्र कडा कुपोषण भएका बालकालिकाहरूको उपचार भइरहेको छ । यी दुई स्थानमा तीन वर्षमा १ सय ३० जना कुपोषित बालबालिकाको उपचार भइसकेको छ । यस वर्षदेखि वडा नं. ९ को दोघरे नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गर्ने कार्य योजनामा रहेकोे जनस्वास्थ्य निरीक्षक केसीले बताए । अहिले तुलसीपुरको कुपोषण दर चार प्रतिशत रहेको छ । तीन वर्ष पहिले ६ प्रतिशत रहेको थियो ।
त्यसै गरेर २ वर्ष मुनिका बच्चा तौल लिने दरलाई बढाउने, स्वास्थ्य संस्थामा गर्भ जाँच, सुत्केरी सेवा तथा सुत्केरी पश्चातको जाँचमा र आइरन फोलिक एसिड चक्की प्रयोगमा वृद्धि गर्ने, बालभिटाको नियमित प्रयोग दरलाई बढाउने, हरेक घरमा कम्तिमा छ थरी फलफूल लगाउन प्रोत्साहन गर्ने योजना रहेका छ । त्यसै गरेर जंगली खाद्यवस्तुको प्रयोगमा वृद्धि गर्ने, विद्यालयमा आइरन फोलिक एसिड चक्की प्रयोग, दिवा खाजाको प्रभावकारीता, सरसफाइ, सुरक्षित खानेपानीमा जोड दिन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई जोड दिने नीति लिइएको छ ।
यसै गरेर हरेक वार्ड तथा स्वास्थ्य संस्थामा पोषण समृद्धि सचेतनामुलक व्यानर पोष्टर राख्ने र कुपोषणको दरलाई कम गर्ने, खानपानसम्बन्धी व्यवहार परिवर्तनका लागि सचेतना फैलाउने कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने लक्ष्य लिइएको केसीले बताए । पोषणको मापदण्डहरू पूरा गरेर नगरमा अहिले रहेको ४ प्रतिशत कुपोषण दरलाई न्यूनीकरण गरेर शून्यमा झार्ने योजना रहेको छ ।विगत तीन वर्षदेखि क्रमिक रुपमा कुपोषण दर घट्दै गएको र यस वर्ष बढी महत्व दिएर योजनासहित अघि बढेको केसीले बताए ।
तुलसीपुर उप–महानगरपालिका जन स्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा तथा सुहारा वेस दाङको प्राविधिक सहयोगमा २ दिने पालिकास्तरीय पोषण समिक्षा गोष्ठी तथा कोभिड पश्चात पोषणको लेखाजोखा तथा पोषण कार्य योजना तयार कार्यक्रम गरी यस्तो योजनाहरु ल्याइएको छ ।
कोभिड पश्चात पोषणको अवस्था विश्लेषण गरी पोषणमा तुलसीपुर उप–महानगर पालिकालाई समृद्ध बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको शाखाले बताएको छ । समग्र पालिकामा रहेको पोषणको अवस्था तथा कार्य र प्रगतिको बारेमा जन स्वास्थ्य निरिक्षक विमल केसीले गरेका थिए ।
नगर प्रमुख घनश्याम पाण्डेले जंगली जन्य खाद्यवस्तुहरु स्वास्थ्यको दृष्टिले अत्यन्त पोषिलो रहेकोले त्यसतर्फ सबैले ध्यान दिन र हरेक घरमा पोषिलो खानाको बारे जानकारी दिनु पर्ने र नगरका हरेक वडालाई पोषण मैत्री वडा बनाउने बताए ।
उप–प्रमुख माया शर्माले हरेक गर्भवति सुत्केरी तथा बच्चा, ज्येष्ठ नागरिकको खानपान समयमा ध्यान दियमा नियमित औषधि सेवन गर्न नपर्ने बताइन । प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले हरेक विद्यालयमा विद्यार्थीलाई दैनिक खानाखाने खानाको सूची तयार पार्न लगाएर बालबालिकाको र घर परिवारको खानाको अभ्यास थाहा पाउन सकिने र त्यसबाट पोषणको लेखाजोखा गर्न सहज हुने बताए ।