छिमेकी देश भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएको छ । सोही कारण नाकामा स्वदेश फर्किने नेपालीको भीड बढ्दै गएको छ । तर उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको मात्रै परीक्षण गरिएको छ । भारतबाट नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दै जानु र स्वास्थ्य परीक्षण हुन नसक्नुले नेपाल पुनः कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । यसको मतलब उच्च स्वास्थ्य सुरक्षा सावधानी र परीक्षण नबढाउने हो भने नेपालले पनि कोरोना संक्रमणको दोस्रो लहर व्यहोर्न बाध्य हुनेछ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार रूपन्देहीको बेलहिया, बाँकेको जमुनाइ, कञ्चनपुरको गड्डाचौकी र कैलालिको त्रिनगर नाकाबाट मात्रै पछिल्लो दुई सातामा १७ हजार ४५ जना स्वदेश फर्किएका छन् । उनीहरूमध्ये एक हजार ६ सय ९१ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । जसमा ६८ जनामा संक्रमण देखिएको छ । शुक्रबार मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गत चैत ६ गतेदेखि तराईका १४ नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको थियो । तर अहिले पाँच नाकामा मात्रै परीक्षण गर्ने गरिएको छ ।
यसरी हेर्दा १४ नाकामध्ये पाँच नाकामा मात्र परीक्षण हुनु र अन्य नौ वटा नाकामा एन्टिजेन परीक्षण नै नगरी नेपाल भित्रिनु भनेको गम्भीर चिन्ताको विषय हो । अर्को कुरा जुन नाकामा परीक्षण गरिन्छ, ती नाकामा कोरोना लक्षण देखिएकाको मात्रै गर्ने गरिएको छ । चिन्ताको कुरा के हो भने कोरोना संक्रमण भएको दुई÷चार दिनमै कोरोनाको लक्षण नदेखिने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । त्यसैले धेरै व्यक्ति संक्रमित भएको तर लक्षण नदेखिएको अवस्थामा हुन सक्दछ । यस्ता व्यक्तिहरूबाट कोरोना गाउ“–गाउँमा व्यापकरूपमा फैलिने जोखिम छ ।
भारतमा अहिले कोरोना संक्रमण जसरी भयावह बन्दै गएको छ, सोही जोखिमलाई कम गर्न सीमा क्षेत्रमा परीक्षणको दायरा व्यापक बनाउन जरूरी छ । कुनै नाकामा परीक्षण हुनु र कतै नहुनुले कोरोनाको दोस्रो दहर सुरु हुने संकेत गर्दछ । तसर्थ नाकाहरुलाई व्यवस्थित गर्दै भारतबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्नै पर्दछ । यसरी परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई घर नपठाई आइसोलेसनमा राख्ने व्यवस्था गरिनु पर्दछ ।
कोरोना भाइरस देखिएका देशहरूमा पहिलो लहर आएको चारदेखि ६ महिनामा पुनः दोस्रो लहर सुरु भएको छ । भारत, फ्रान्स, ब्राजिलमा दोस्रो लहर सुरु भएको छ । नेपालमा पनि पहिलो लहर आएको ६ महिना पुग्न लागेको छ । यो समयमा पुनः संक्रमण बढ्न थाल्नुले राम्रो संकेत गरेको छैन । विगतको भन्दा खराब अवस्थामा जाने खतरा देखिन्छ । त्यसैले स्वास्थ्यकर्मीलाई सुरक्षाका कवचहरू उपलब्ध गराउँदै परीक्षण व्यापक बनाउनै पर्दछ । पूर्ण सतर्कता अपनाइएन भने भोलीको महामारी रोक्न किंमार्थ संभव छैन ।