नेपाली पत्रकारिता जगतका दोस्रो पिडिका पत्रकार हुन मदनलाल पौडेल । ०३१ सालमा पत्रकारितामा प्रवेश गरेका उनी खरो स्वभावका व्यक्ति हुन् । उनी रुपन्देही पत्रकारिताको इतिहास हुन । पत्रकार महासंघको अधिवेशनमा पार्टीगत प्यानलको तिब्र प्रचार भइरहेका बेला उनले यसलाई खरो रुपमा तिरस्कार गर्छन् । उनको भनाई छ, पत्रकारिता समाजोन्मुख भएन, पार्टी केन्द्रीत भयो । पत्रकारिताकै विषयमा रहेर उनीसंग दैनिक लुम्बिनीले छोटो कुराकानी गरेको छ । कुराकानीको संपादित अंश हामीले यहा राखेका छौं ।


रुपन्देहीको पत्रकारिताको इतिहास संक्षिप्तमा भनिदिनुस न ।
रुपन्देहीमा हस्तलिखित पत्रिका त २०१२ सालतिरै थिए । सुर्यलालले २०१७ सालमा लुम्बिनी साप्ताहिक निकाले । यो पहिलो मुद्धण थियो । सरकारी पक्षबाट मुद्धा खेपेपछि प्रेस पत्रिका २०२२ सालमा बन्द भयो । २०२२÷०२३ तिर प्रतापकुमार भट्टचनले दैनिक निर्णय निकाले । निष्पक्षको पछि नाम फेरेर बिचार साप्ताहिक करणानिधिको थियो । कपुल ज्ञवाली प्रधानसम्पादक र शशी पन्थी सम्पादक रहेको खसोखास निस्कियो । अञ्चल पञ्चायतले लुम्बिनी सन्देश निकाल्थ्यो । यो सरकारी थियो । मोदनाथ प्रश्रित सम्पादक, पछि कृष्ण कोइराला, अर्जुन ज्ञवाली पनि सम्पादक बने । ०३६ सालपछि त पत्रिकाको बाढी नै आयो ।


पत्रकार महासंघको इतिहास मेटियो भन्नुहुन्छ खास के हो ?
रुपन्देहीमा पत्रकार महासंघको पहिलो अध्यक्ष बालकृष्ण चापागाई होइनन् । यिनीहरुले इतिहास मेटेर महासंघको भवनमा गलत बोर्ड लगाएका छन् । पत्रकार महासंघ २०३२ सालमै रुपन्देहीमा स्थापित भएको हो । पहिलो अध्यक्ष करुणानिधि शर्मा हुन् । त्यसपछि रामचन्द्र भट्टराई अध्यक्ष भए । रामचन्द्रपछि म अध्यक्ष भए, त्यसपछि बाबुराम अर्याल अध्यक्ष भए । अनि मात्रै बालकृष्ण पाचौं अध्यक्ष भएका हुन् । महासंघका इतिहास मेटेर खाने काम भएको छ । अध्येताहरुले बचाउनुपर्छ ।

तपाईले पत्रकारिता शुरु गरेको समय र अहिलेको पत्रकारितालाई कसरी हेर्नुहुन्छ ?
हामीले लोकतन्त्र प्राप्तिका लागि पत्रकारिता थालेका थियौं । राजनीतिक क्रियाकलापसंगसंगै पत्रकारिता शुरु भयो । तर त्यो पत्रकारिता अहिलेको जस्तो पार्टी केन्द्रीत थिएन । लोकतन्त्र र जनताको स्वतन्त्रता केन्द्रीत थियो । लोकतन्त्र आयो । लोकतन्त्र भनेको पार्टीको भक्त भएर गर्ने पत्रकारिता होइन । अहिले निकै गलत अभ्यास भएको छ । पत्रकारिता व्यवसायिकभन्दा पनि व्यापारिक भएको छ । संघर्ष नै नगरेकाहरुले सेनानीको उपाधि पाएका छन् । पार्टी पत्रकारिता यसले मौलाएको छ । हामीभन्दा पहिलो पुस्ताले संघर्षपूर्ण पत्रकारिता गरे । हामी दोस्रो पुस्ताले पनि त्यसरी नै पत्रकारिता ग¥र्याै ।


अहिले समुदाय केन्द्रीत समाचार कम आए भन्नुहुन्छ यसको कारण के होला ?
पत्रपत्रिका वा कतै पनि समुदायका समाचार आउदैनन् । पार्टी र राजनीति बाहेक अरु समाचार छैनन् । यो पार्टी पत्रकारको उपज हो । पहिला पार्टीको सदस्य नहुनेले मात्रै पत्रकार हुन पाउथे । अहिले पार्टीको सदस्य नहुनेले पत्रकार हुनै पाउदैनन् । ठीक उल्टो भएको छ । पत्रकारले दल र नेताको गुनगान गाउछ । समाजमा कम घुलमिल हुन्छ । पुलिससंग दोस्ती गर्छ । फाइदा लिन्छ । साझ परेपछि मदिरामा लठ्ठिन्छ । यो गलत हो । यस्तो पत्रकारिताले मुलुकलाई झन खतरा हुन्छ ।


पत्रकारमा कस्तो विशेषता हुनुपर्छ ?
पत्रकार सवथोक जानेको हुनुपर्छ । अध्ययनशील हुनुपर्छ । विश्वविद्यालयबाट एउटा विषयमा विज्ञता हुनु स्वभाविक हो । तर धेरै विषयमा ज्ञान लिनुपर्छ । इतिहास, भुगोल, राजनीति, समाज सबै बुझ्नुपर्छ । विट पत्रकारिताभन्दा साधारण (सबै विषय) विषयमा पत्रकार केन्द्रीत हुनुपर्छ । खेल जान्नुपर्छ । राजनीति पनि बुझ्नुपर्छ । जान्दिन, ज्ञान छैन भन्नेहरु पत्रकार हुन सक्दैनन् ।


पत्रकारले पारिश्रमिक नपाउदा विकृति भयो भन्छन नि ?
तलव पाइदैन भने किन काम गर्ने । जुन मिडियाले तलव दिदैन त्यहा काम गर्नै हुदैन् । हामीले पञ्चायतकालमा त तलव बिना काम गरेनौं । अहिले किन गर्ने ? जो पत्रकारले तलव नपाए पनि काम गर्छ, त्यसले अरु क्षेत्रमा हात थाप्छ । अनि पत्रकारितामा नै विकृति निम्तिन्छ ।
एउटा प्रसंग भनुँ, प्रयागलाल श्रेष्ठ यस क्षेत्रकै जेठो पत्रकार । विना पैसा लेख लेख्दैनथे । कोलम नै नापेर ६÷७ रुपैया लिन्थे । पत्रकारले पैसा बिना काम गर्नै भएन । खाम पत्रकारिताले पनि विकृति ल्यायो । यो नै भ्रष्टाचारको सुरुआत हो ।
मिडिया समाजसेवा होइन, चना चटपटे बेचेजस्तै व्यापार हो । पत्रकारिता गर्नु मजदुरी हो । पैसा बिना मजदुरी हुदैन । जव विना पैसा पनि मजदुरी हुन्छ त्यहा गलत काम भएको हुनसक्छ । यसलाई रोक्नुपर्छ ।