कृष्ण पोखरेल पाल्पा
कालीगण्डकीको पानी पाल्पाको सदरमुकाम तानसेनमा झरेको छ । छेरलुङ्ग र रानीमहल क्षेत्र बीच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मूल ट्याङ्कीमा झारिएको हो । लामो समयदेखि खानेपानीको समस्या रहँदै आएको सदरमुकाम तानसेनमा कालीगण्डकीको लिफ्ट पानीले तिर्खा मेटाउने भएको छ ।
कालीगण्डकीबाट ६ वटा पम्प स्टेशनमार्फत पानी पम्पिङ गरी १ हजार ४४ मिटर उचाईको मूल ट्याङ्की बतासेमा पानी झारिएको हो । दुई वर्षअघि नै खानेपानीको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण व्यवसायीले कोभिड तथा विभिन्न कारण देखाउँदै काम पूरा गर्न समय लागेको जनाएको छ ।
निर्माण व्यवसायी रमन मृत सञ्जीवनी जेभी, काठमाडौँले २५ करोड ३९ लाखमा सम्झौता कालीगण्डकी खानेपानी योजनाको सम्झौता गरेको थियो ।
कालीगण्डकीको पानी पूर्ण क्षमतामा मुहानदेखि बतासेडाँडाको रिजर्भ ट्याङ्कीमा झारिएको र पानीको परीक्षण तथा फिल्टर गरेर उपभोक्ताको घर–घरमा पानी वितरण गरिने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख रामप्रसाद घिमिरेले बताए ।
पहिलो चरणको कामअन्तरगत कालीगण्डकीको मुहानदेखि छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की, पम्प हाउस र पम्प अपरेटर बस्ने घर, पाइप बिस्तार, विद्युत् बिस्तार, गरी कालीगण्डकीबाट लिफ्ट गरी तानसेनको बतासेडाँडामा पानी झार्ने काम समेत सकिएपछि तानसेनबासीहरू उत्साहित भएका छन् ।
अहिले पहिलो चरणको काम सकिएकोले दोस्रो चरणको कामअन्तरगत पानी पिउन योग्य छ की छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भइरहेको छ । कालीगण्डकी लिफ्ट प्रणालीबाट तानसेनको मुख्य ट्याङ्कीमा प्रतिसेकेण्ड ३६ लिटर पानी आउने छ ।

पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि पनि प्रतिसेकेण्ड ३६ लिटर पानी आउने र आयोजना लाई दिर्घकालीन बनाउन दोस्रो चरणमा थप एउटा इनार र प्रशोधन केन्द्र निर्माण गर्न थालिएको आयोजनाका साईट ईञ्चाज उत्सव पोखरेलले बताए । दोस्रो चरणमा इनार र प्रशोधन केन्द्र निर्माण गर्न ६ करोड ७ लाखमा ठेक्का सम्झौता भएकोले आगामी वर्षभित्रै काम सकिने कार्यालयले जनाएको छ ।
तानसेनको ५० हजार जनसंख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति तानसेन लाई सुख्खा क्षेत्र घोषणा गरी कालीगण्डकीबाट लिफ्टिङ् योजना अघि बढाइएको तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष डा. पुरनमान बज्राचार्यले बताए । कालीगण्डकीको लिफ्ट पानी होटल, उद्योग कलकारखानालाई आवश्यकता अनुसारको धारा वितरण गरिने समितिले जनाएको छ । होटलको क्षमता, कामदारको अवस्था, सरकार लाई राजश्व तिरेको आधारमा उधोग कलकारखाना तथा होटलहरुलाई पानीको सुविधा प्रदान गर्ने समिति नीति बनाएको कोषाध्यक्ष भिमसेन कार्कीले बताए । पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानी समस्या, घट्दो व्यापारिक चहलपहलको कारण तानसेनबाट बुटवल, भैरहवा, नारायणगढ, काठमाडौं जस्ता स्थानमा बसाई सराईको क्रम रोकिने खानेपानी समितिले जनाएको छ ।
२०३५ सालअघि ढुङ्गे धाराबाट तानसेनबासीले पानीको आवश्यकता पूरा गरेका थिए । बस्ती तथा जनसंख्या बढ्दै गएपछि पहिलो पटक भुल्के खानेपानी योजना २०३५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तानसेनमा पानी लिफ्ट गरी वितरण गरिएको थियो । बढ्दो शहरिकरण, जनसंख्याको कारण भुल्केको पानी प्रयाप्त नभएपछि पाल्पा उद्योग वाणिज्य संघको पहलमा महायज्ञ गरी रकम संकलन बाट सिस्ने लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको थियो । तानसेनमा सिस्ने, तिनधारा, होलाङ्दी बाँझा र भुल्केबाट पानी लिफ्ट गरिएपनि गर्मीयाममा एक हप्तामा एक पटक र वर्षातको समयमा तीन दिनमा १ घण्टा पानी वितरण हँुदै आएको छ । पर्याप्त पानी नहँुदा उपभोक्तादेखि होटल, रेष्टुराँ तथा घर निर्माण कर्ताहरु ट्यांकरको पानीमै निर्भर रहनु पर्ने बाध्यता हट्ने भएको छ । ट्याङ्करको पानी उपभोक्ताले ५ हजार लिटरलाई २ हजार ५ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । तानसेनमा दैनिक १ सय ट्याक्टर पानी खपत हुँदै आएको छ ।
तानसेन खानेपानी उपभोक्ता समितिले हालसम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएको समितिका कार्यालय प्रमुख दिवाकर अर्यालले बताए । तानसेनको खानेपानी लिफ्टमा आधारित भएकोले विद्युत् अवरुद्ध हँुदा, पानी तान्ने मोटर बिग्रिदा पानीको हाहाकार मच्चिने गरेको छ । पाल्पाका अधिकांश स्थानमा लिफ्ट प्रणालीबाट पानी तानी वितरण हँुदै आएको छ ।