जसरी शिक्षाले ज्ञान प्रदान गर्छ त्यसरी नै कला र साहित्यले मानवजातिलाई सदैव अग्रगतिमा उसका आर्थिक र सामाजिक अवस्थालाई अगाडि बढाउन उत्प्रेरित गरिरहन्छ। यसरी मानव जीवन सुसभ्य र सुसंस्कृत बन्दै जान्छ।

हिमलाल ज्ञवाली

(यस क्षेत्रका साहित्यिक अभियन्ता, संगठनकर्ता र साहित्यकार एवं ‘लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपाल’का संस्थापक अध्यक्ष हिमलाल ज्ञवाली अब हामीसँग रहेनन्। गत आइतबार सदाका लागि विदा भएका ज्ञवालीको स्मृतिमा उनको लेख यहाँ प्रकाशन गरिएको छ।)

पृष्ठभूमि

साहित्य भनेको मानवीय जीवनसँग प्रत्यक्ष सरोकार भएको सामाजिक सांस्कृतिक सम्बन्ध राख्ने विषय हो र सामाजको प्रतिविम्ब पनि हो। त्यसैले होला साहित्यलाई समाजको दर्पण भन्ने गरिन्छ। मानव समाजको बनोट सामाजिक परिवेश अनुरूप साहित्यको सिर्जना र प्रयोजन फरक-फरक हुने गर्दछ। त्यसैले साहित्यलाई बुझ्ने बुझाउने सन्दर्भमा फरक फरक मत व्यक्त गरेको पाइन्छ। समाज र सामाजिक संरचनामा आधारित कलासँग यसको नाता गाँसिएको हुन्छ। साहित्य आफै पनि कला हो । यसैले हामीले प्रयोगमा कला साहित्यलाई एकै ठाउँमा जोडेर सम्बोधन गर्ने पनि गर्दछौँ। कला साहित्यको भूमिकाले समाजको रूपान्तरण गर्ने प्रक्रियामा निरन्तर ठूलो सहयोग गरेको हुन्छ। समाजरूपान्तरण गर्ने कार्यमा शिक्षाको जत्तिकै कला साहित्यको पनि ठूलो भूमिका रहन्छ। त्यही शैक्षिक भूमिकाको पृष्ठभूमिमा बसेर कला साहित्यले आफ्नो प्रभाव विस्तार गरिरहेको हुन्छ। कला साहित्यले मानिसमा चेतनाको अभिवृद्धि गर्ने र मानव जीवनलाई सुन्दर एवम् सुसंस्कृत बनाउने काम गर्दछ।

समाजको गतिशीलता र यसको प्रवाहसँगै कला साहित्यले आफ्नो प्रवाहलाई पनि मानव जातिको जीवन पद्धतिमा गाँसिएर मानिसलाई सभ्यता र सिर्जनाका विधामा परिस्कृत र परिमार्जित गरिरहेको हुन्छ। मानवोचित सम्बन्धलाई अझ प्रगाढ र गतिशील पार्दै अगाडि बढाउँछ। जतिजति मानव सभ्यताले उँचाइ थप्दै अगाडि बढ्दछ त्यत्तिकै मात्रामा कला साहित्यले पनि आफूलाई परिमार्जित गर्दै मानवजातिका विभिन्न भाषा, संस्कृति,सांस्कृतिक परम्परा र पहिचानलाई थप सौन्दर्य प्रदान गर्दै जान्छ। समाजको वर्तमानको यथार्थ स्वरूपकला साहित्य हो। यहीँबाट पुष्टि हुन्छ साहित्य समाजको ऐना हो। जसले वर्तमान समाजको यथार्थ स्वरूप भविष्यमा इतिहास बन्दै जान्छ। क्रमशः यही इतिहास समाज रूपान्तरणको प्रेरक शक्ति बन्दछ। मानव समाजलाई पछौटेपन र अज्ञानताबाट मुक्त पार्दै शोषण, दमन र अन्यायको विरुद्ध संघर्ष गर्ने चेतना प्रदान गर्ने काममा पनि कला साहित्यको अहम् भूमिका हुन्छ। जसरी शिक्षाले ज्ञान प्रदान गर्छ त्यसरी नै कला र साहित्यले मानवजातिलाई सदैव अग्रगतिमा उसका आर्थिक र सामाजिक अवस्थालाई अगाडि बढाउन उत्प्रेरित गरिरहन्छ। यसरी मानव जीवन सुसभ्य र सुसंस्कृत बन्दै जान्छ। मानव जीवनका हरेक पक्षमा र हरेक पल मा उसको कलात्मक सिर्जनामा सहयोगी बनिरहेको हुन्छ।यही कला साहित्यको माध्यमबाट स्रष्टाहरूले मानव समाजलाई रूपान्तरण गर्ने कार्य गरिरहेका हुन्छन्। यस्तै स्रष्टाहरूको वर्ग नै समाज रूपान्तरणको अगुवा वर्ग हो जसलाई हामी स्रष्टा वा प्राज्ञ पनि भन्ने गर्दछौँ।

परिवर्तित सन्दर्भमा कानुनी धारणा

नेपालको राजनैतिक इतिहासको सन्दर्भमा हामी २०७२ साल असोज ३ गतेदेखि नयाँ युगमा प्रवेश गरेका छौँ। हिजोका हाम्रा सम्पूर्ण गतिविधिहरू तत्तत समयमा समय सापेक्ष थिए होलान् तर यति बेला इतिहास बनेका छन्। परिवर्तित सन्दर्भमा परिवर्तित परिस्थिति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै भाषिक समुदायका साहित्य कला र संस्कृतिको सम विकासको नीति लिएको छ। बहुभाषिक, बहुसांस्कृतिक समाजको यथार्थलाई आत्मसात् गरी सबै वर्ग र समुदायलाई राष्ट्रिय एकतामा समेटेर सबल राष्ट्र बनाउने उद्देश्यका साथ नेपालको संविधान २०७२मा भाषा, साहित्य, कला संस्कृतिको संरक्षण तथा संवर्धनका लागि संघ र प्रदेशको भूमिका र तत्सम्बन्धी व्यवस्था निम्नानुसार उल्लेख भएको पाइन्छ।

नेपालको संविधान २०७२ को धारा ३२ मा भाषा तथा संस्कृतिको हक अन्तर्गत प्रत्येक व्यक्ति र सम्प्रदायलाई आ–आफ्नो भाषा प्रयोग गर्ने हक हुने, प्रत्येक व्यक्ति र सम्प्रदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुने, नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुने उल्लेख छ। यसै गरी धारा-५० मा निर्देशक सिद्धान्त अन्तर्गत धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता कायम गरी राष्ट्रिय अखण्डता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुने संवैधानिक व्यवस्था रहेको छ।

धारा-५१ मा राज्यका नीतिहरू अन्तर्गत विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, साहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने कुराका साथै सामाजिक सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति अन्तर्गत स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाजको निर्माण गर्ने ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्ने सामाजिक सांस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवर्द्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने राष्ट्रिय सम्पदाको रूपमा रहेका कला साहित्य र सङ्गीतको विकासमा जोड दिने , समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीतितथा संस्कारका नाममा हुने सबै प्रकारकाविभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने, देशको सांस्कृतिक विविधताकायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने बहुभाषिकनीति, अवलम्बनगर्ने जस्ता कुराहरूको व्यवस्था संविधानले गरेको छ।

अनुसूची ५ मा केन्द्रीयविश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा–प्रतिष्ठान, केन्द्रीय पुस्तकालयआदिका साथै बौद्धिक सम्पत्ति–पेटेन्ट, डिजाइन, ट्रेडमार्क र प्रतिलिपिअधिकार समेत), पुरातात्विक महत्त्वका स्थान र प्राचीन स्मारक आदिलाई सङ्घको अधिकार रहने गरी प्रादेशिक रूपमा विस्तार गर्न सकिने कुरा पनि उल्लेख गरिएको छ।

अनुसूची ६ मा प्रदेशको अधिकारअन्तर्गत… प्रदेश पुस्तकालय, सङ्ग्रहालयको स्थापना, संवर्धन, संरक्षण, भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग आदि कुरा उल्लेख गरिएको छ।

उद्देश्य

यसरी संवैधानिक व्यवस्था गरिएको अवस्थामा हाम्रो प्रतिष्ठान निम्न उद्देश्यका साथ अगाडि बढिरहेको छः—

१.भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशील र साधनारत संस्था तथा प्रतिभाहरूको तथ्याङ्क सङ्कलन गरी अभिलेखीकरण गर्ने
२.यसवाङमय प्रतिष्ठानलाई प्रतिष्ठानको उद्देश्य परिपूर्तिका लागि प्रादेशिक रूपमा विस्तार र विकसित गर्दै क्रमशः प्रज्ञा–प्रतिष्ठान बनाउने
३. नेपाली व्याकरणका मानक र मान्यताहरूमा एकरूपता कायम गर्न अन्तक्रिया, गोष्ठी, सेमिनार आदिको आयोजना गर्ने
४.भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी विविध गतिविधि सञ्चालन गर्ने। नेपालका लिपिबद्ध भएका वा नभएका राष्ट्रिय भाषाहरूको संवर्धन र संरक्षण गर्ने, प्रचारप्रसार गर्ने र प्रयोगमा ल्याउन प्रयत्नशील रहने
५.भाषा, साहित्य, कला र संस्कृतिको समग्र क्षेत्रको विकास, विस्तार संरक्षण र संवर्धनका क्षेत्रमा क्रियाशील सङ्घ–संस्थातथा प्रतिष्ठानहरूका लागि यथोचित वा अनुकूल वातावरणको सिर्जना गरिदिन एवम् सहयोग पुर्‍याउनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने।

यस प्रतिष्ठानले आफ्ना यिनै उद्देश्य प्राप्तिका लागि विभिन्न विधामा क्रियाशील तथा आबद्ध विशिष्ट व्यक्तित्व तथा प्राज्ञहरूलाई उहाँहरूको विशेषज्ञताका आधारमा अनुरोध गर्दै र सहभागी बनाउँदै विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस प्रतिष्ठानले आफ्नो उद्देश्य पूरा गर्न निम्न मुख्य तीन विषयलाई अग्र स्थानमा राखी कार्यक्रम सञ्चालन गर्नेछः
क) प्रदेश नं. ५काविभिन्न जातजातिका भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्दा उनीहरूका संस्कार संस्कृति एवम् परम्परागत कला क्षेत्रका सम्पूर्ण विधाको विकास, संरक्षण, संवर्धन गर्ने छ। कलालाई व्यावसायिक बनाउँदै सबै विधाका कलाकारहरूलाई आर्थिक रूपमा सबल र सक्षम बनाउने प्रयास गरिने छ। नयाँ पुस्ताका कलाकारलाई व्यवसायिकता तर्फ आकर्षित गर्दै अगाडि बढ्न प्रोत्साहित एवम् संरक्षण गर्ने छ।

ख) यस प्रदेशका सबै विधाका सम्पूर्ण स्रष्टाको सहयोग, सद्भाव र सहभागितामा ती स्रष्टाद्वारा सिर्जित सिर्जनाहरूको प्रकाशन, प्रचार–प्रसार र बिक्रीवितरण गर्ने छ। प्रतिष्ठान र प्राज्ञहरूबीचको अन्तर र आत्मिक सम्बन्धलाई सुमधुर बनाउँदै अटुट रूपमा अगाडि बढाउँदै जाने छ।

ग) यस प्रदेशमा रहेका सबै स्रष्टा, सर्जक तथा दाताहरूको दस्तावेज देखिनेगरी पुस्तकहरू सङ्कलन गर्ने, गौतम बुद्धसँग सम्बन्धित नेपाल र अन्य देशहरूबाट प्रकाशन गरिएका पठ्य, दृश्यश्रव्य सामग्रीहरू सङ्कलन गरी विशाल अनुसन्धान केन्द्र (पुस्तकालय) को स्थापना गरी सङ्ग्रहालयको रूपमा यसको विकास गरिने छ। यस कार्यका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोश, बौद्ध सङ्ग्रहालय एवम् संसारका बौद्ध मार्गी राष्ट्र, सङ्घसंस्था र व्यक्तिसँग पनि सहयोगको आदानप्रदान गर्दै सहकार्य गरिने छ।

यस प्रकार यस प्रतिष्ठानलाई नेपालको मात्र नभई संसार का शोधकर्ताहरूका लागि अनुसन्धान केन्द्रको रूपमा विकसित गरिने छ। यस प्रतिष्ठानले राष्ट्रद्वारा सम्मान गरिनु पर्ने विविध विधाका राष्ट्रिय ख्याति प्राप्त स्रष्टाहरूका शालिक स्थापना गरिरहेको छ। त्यससँगै आफन्तजन सङ्घ संस्था वा सरकारले राष्ट्रिय विभूतिहरूका सङ्ग्रहालय कक्ष निर्माण गर्न चाहेमा एकसय एक जना स्रष्टाका शालिक निर्माण भइराखेको स्थल कपिलवस्तुको कपिल धामस्थित साहित्य तीर्थमा स्थान उपलब्ध गराइने छ। हालसम्म एघार जना सम्मानित स्रष्टाहरूका शालिक स्थापना भइसकेका र आठ जनाका शालिकतयार पारिँदै छन्। यस वर्षमा पच्चीस वटा शालिक स्थापना गरिने छ र आगामी तीन वर्षमा क्रमशः एक सय एक शालिक निर्माण गर्ने उद्देश्य राखिएको छ।

………………………..

हिमलाल ज्ञवालीको संक्षिप्त चिनारीः

प्रेमनारायण ज्ञवाली र मानकुमारी ज्ञवालीको कोखबाट २००५ साल माघ १ गते रुरु– १ भटकुवा टाकुरा गुल्मीमा जन्मेका हिमलाल ज्ञवालीले प्रारम्भिक पढाइ रिडीमै गरेका थिए । शिक्षामा उनी स्नातक गरेका थिए । उनका ३ छोराछोरीहरूमा विक्रम ज्ञवाली, सुरेश ज्ञवाली र सिर्जना ज्ञवाली छन् ।
उनले २०२४ सालमा रिडीमा आयोजित अञ्चल स्तरीय प्रतियोगितामा प्रथम भइ पुरस्कार पाएका थिए । यसैबाट उनकाे नेपाली साहित्यमा प्रवेश भएको पाइन्छ । त्यसपछिका दिनहरूमा साहित्य सर्जना तिर लागेको देखिन्छ । ३० को दशकदेखि उनी पत्रकारितामा सक्रिय भए । त्यो समयमा पञ्चायती व्यवस्था उत्कर्षमा थियो । त्यसै बीचमा २०३५ सालतिर ‘त्रीवेणी’ द्विमासिक र २०३६ सालमा ‘लाली गुराँस’ साहित्यिक लाली गुराँस मासिक दर्ता गरी साहत्यतिर लागेको देखिन्छ ।

२०६४ सालमा लाली गुराँसको माध्यमबाट नवलपरासीका लेखक साहित्यकार र पत्रकारहरूको परिचयात्मक पुस्तक प्रकाशन गरेको देखिन्छ । साहित्य लोकसङ्गीत, शिक्षा र सञ्चारको विकासको लागि प्रेमा वाङ्मय प्रतिष्ठान गठन गरी निरन्तर अघि बढेको देखिन्छ । यो संस्था माता र पिताजीको स्मृतिमा पहेंलो अक्षर लिएर गठन गरिएको हो ।

२०६९ साल भदौ १ देखि पुरानो संरचना अनुसार लुम्बिनी अञ्लका ६ जिल्लालाई केन्द्र मानेर लुम्बिनी वाङ्यमय प्रतिष्ठान गठन गरिएकोेमा २०७२ को संविधान ले मुलुकलाई सङ्घीय मोडलमा लगेकोले २०७५ सालमा लुम्बिनी राप्ती र भेरी अन्चलका साहित्यिक संस्थाहरू एकीकरण गरी प्रदेश स्तरको संस्था व्यवस्थित गरिएको छ । अहिले यसको बाह्रै जिल्लामा जिल्ला समितिहरू छन् ।

उहाँको व्यक्तिगत पहलमा प्रेमा वाङ्मय प्रतिष्ठानमा साहित्य लोकसङ्गीत, शिक्षा, सञ्चार कोष स्थापना गरेको देखिन्छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको तर्फबाट साहित्य विकास कोष स्थापना गरेको देखिन्छ ।


हिमलाल ज्ञवाली १० भन्दा ज्यादा साहित्यिक संस्थाका आजीवन सदस्य थिए । कपिलवस्तु जिल्लाको कपिलधाममा उनको १५ लाख लगानीमा एउटा वाङ्मय भवन बनेको छ । जुन भवन लुम्बिनी वाङ्मय प्रतिष्ठानको केन्द्रीय कार्यालय छ । कपिलधाममा साहित्य तीर्थ स्थापना भएको छ । जहाँ १०१ स्वर्गीय साहित्यकार, कलाकार र संस्कृतिमा योगदान दिएका स्रष्टाहरूको शालिक निर्माण हुँदैछ ।

उनका २ वटा कृतिहरू प्रकाशित भएका छन् । ती कृतिहरूमा ‘आफ्नै देश आफ्नै परिवेश’ ‘गद्य कविता सङ्ग्रह २०७३’, ‘समय समयका कुरा’ २०७७ हुन् । यस बाहेक एउटा विकासका लागि सञ्चार पुस्तक प्रकाशोन्मूख अवस्थामा छ । उनका फुटकर सयौं लेखहरू रहेका छन् ।