उनी ठूला जमिन्दारका छोरा थिए । तर आफ्नै पिताविरुद्ध आन्दोलन उठाएका थिए । झुठा तमसुक जलाउन र मोहीयानी हक दिलाउन नेतृत्व गरेका थिए ।

मदनलाल पौडेल

विष्णुबहादुर मानन्धर पहिलो पिंढीका कम्युनिष्ट हुन् । पहिलो पिंढीका नेपाली कम्युनिष्टहरु सबैजसो चरित्रवान थिए । अहिलेका कम्युनिष्ट भनिनेहरुमा हुनेजस्तो पैसा कमाउनुपर्छ, सम्पत्ति थुपार्नुपर्छ, पूँजीपति हुनुपर्छ, सम्पन्नताको जीवन जिउनुपर्छ भन्ने प्रवृत्ति थिएन । अभावमा बाँच्न सक्ने र तल्लो तहका जनतामाझमा पुगेर राजनीति गर्ने त्यतिबेलाका कम्युनिष्टको विशेषता थियो । मानन्धर तिनै साँचा कम्युनिष्टमध्येका एक हुन् ।

ललितपुर पाटनमा घर भएका मानन्धरको रौतहटमा पुर्ख्याैली जमिन थियो । उनी ठूला जमिन्दारका छोरा थिए । तर आफ्नै पिताविरुद्ध आन्दोलन उठाएका थिए । झुठा तमसुक जलाउन र मोहीयानी हक दिलाउन नेतृत्व गरेका थिए । खासगरी ००८ सालबाट पूर्वी तराईमा चलेको आन्दोलनमा यिनको महत्वपूर्ण भूमिका थियो । त्यही आन्दोलनबाट उनको नेतृत्वदायी छवि स्थापित भयो । उनको यही छविले नै ०१५ सालको पहिलो आम निर्वाचनमा रौतहट क्षेत्रमा कम्युनिष्ट पार्टीलाई सफलता दिलाएको थियो । उनी आफै निर्वाचनमा उम्मेदवार भएका त थिएनन् तर रौतहट क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीका दुई जनालाई निर्वाचित हुन भूमिका खेले ।

विष्णुबहादुर मानन्धरसँग लेखक मदन पाैडेल (दायाँ)

०१७ सालमा राजा महेन्द्रले वीपी कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकार र संसद् विघटन गरी सत्ता आफ्नो हातमा लिए । उता सोभियत संघको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच ठूलो मतभेद उत्पन्न भइरहेको थियो । ख्रुश्चेभ नेतृत्वको सोभियत संघ रुसले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त विकास गरेको थियो । माओत्सेतुङ नेतृत्वको चीनले दिर्घकालीन जनयुद्ध र निरन्तर वर्गसंघर्षको सिद्धान्त अपनाएको थियो । नेपालमा राजाको कदम र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएका विवाद– यी दुई विषयलाई लिएर नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलोपटक फुट सिर्जना भयो । राजाले शासन हातमा लिँदा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझी मस्कोमै थिए । उनले उतैबाट राजाको कदमको समर्थन गरे । यता नेपालमा रहेका पुष्पलालले भने त्यसको विरोध गरे । रायमाझीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रुसले तय गरेको बाटो पछ्याए । पुष्पलालले चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन गरे । ०१७ सालपछि भएको दरभंगा प्लेनममा यो फुट स्पष्ट भयो । उक्त प्लेनममा बहुमत रायमाझी पक्षले रुसको समर्थन गर्‍यो भने अल्पमत पुष्पलाल पक्षले चीनको । विष्णुबहादुर मानन्धर रायमाझीतिर लागे । रायमाझी अध्यक्ष भए भने उनी महासचिव भएर काम गर्दै गए । ०३६ सालतिर रायमाझीको पार्टीबाट फुटेर उनले आफ्नै पार्टी गठन गरे ।

मानन्धर निकै नै चरित्रवान मानिस थिए । एकदमै सादगी जीवन बाँच्थे । उनीसँग मेरो निकटम व्यक्तिगत सम्बन्ध थियो । म उनको पार्टी सदस्य नभए पनि रुपन्देही आउँदा उनी मेरै घरमा आएर बस्थे । म मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा (मार्क्सवादी)को सदस्य थिएँ तैपनि उनीसँग मेरो राम्रो सम्बन्ध थियो । चिनजान पहिलेदेखि नै भए पनि निकटम सम्बन्ध ०३६ सालपछि शुरु भयो । जनमत संग्रहपछिको कुनै वर्ष मानन्धर संगठन विस्तारको क्रममा भैरहवा आएका रहेछन् । जाडो महिनाको पानी परिरहेको दिन आर. सी. चापागाईले मेरोमा लिएर आए । त्यतिबेला काठमाडौं बाहिर आएका पञ्चायतविरोधी नेताहरुलाई मण्डलेहरुले अनेकौं निहुँमा भौतिक आक्रमण नै गर्थे । मानन्धरलाई पनि मण्डलेहरुले आक्रमण गर्ने तयारी गरेको थाहा भएर चापागाईंले मेरोमा ल्याएका थिए । उनी दुई दिन मेरोमा बसे । मेरोमा बसेको मण्डलेहरुले थाहा पाएछन् । दिपक बोहरा लगायतका मण्डलेहरुले मेरो घर घेरेर मानन्धरलाई कालो मोसो लगाएर जिल्ला निकाला गर्ने योजना बनाएछन् । त्यो योजना तत्कालीन जिल्ला पञ्चायत सभापति केशव लम्सालले मेसो पाएछन् । उनले एकजना मानिसलाई खबर गर्न मेरोमा पठाए । खबर पाउनासाथ मैले दुईवटा मोटरसाइकलमा मानन्धरलाई नवलपरासीको हथौडी पुर्‍याएँ । त्यो पञ्च नेता रविन्द्रनाथ शर्माको गाउँ थियो । उनी प्रजातान्त्रिक नेता थिए । उनले मानन्धरलाई आफ्नै घरमा सुरक्षा दिएर राखे । उनैले काठमाडौं पुर्‍याइिदए ।
मानन्धर र उनी लगायतका सोभियत संघ पक्षधर नेताहरुले पञ्चायतको समर्थन गरेका थिए । रायमाझीहरु त पञ्चायतमै प्रवेश गरेका थिए । तर विष्णुबहादुर मानन्धरले पञ्चायतको मुखर विरोध नगरे पनि प्रवेश गरेका थिएनन् । ०३६ सालमा जनमत संग्रह घोषणा भएपछि भने बहुदलको पक्षमा खुलेरै लागे । ०४६ सालको आन्दोलनमा वाममोर्चा गठन हुनुमा नेतृत्वकारी भूमिका मानन्धरको पनि थियो । वाममोर्चामा सहभागी सबै कम्युनिष्ट पार्टीलाई एकै थलोमा ल्याउने काम गरेका थिए उनले । तुल्सीलाल अमात्य, सहाना प्रधान, मनमोहन अधिकारी, राधाकृष्ण मैनाली र विष्णुबहादुर मानन्धरको अगुवाइमा वाममोर्चा गठन भएको थियो । ०४७ सालको संविधान निर्माणताका उनले निलाम्बर आचार्यलाई मस्यौदा आयोगमा पठाएका थिए । त्यतिबेलासम्म आचार्य उनकै पार्टी सदस्य थिए । पछिमात्र नेपाली कांग्रेसमा गएका हुन् । मानन्धर आफू भने जीवनभर कहिल्यै पनि निर्वाचनमा उठेनन् ।

धनी बाबुका छोरा भए पनि मानन्धर जीवनभर गरीब जनताको पक्षमा उभिए । मार्क्सवादको प्रचार–प्रसारमा लागे । पदको लोभ गरेनन् । सिद्धान्तनिष्ठ राजनीतिलाई अगाडि बढाउन योगदान दिइरहे । यही साता हामीबाट सदाका लागि विदा भएका विष्णुबहादुर मानन्धरको नाम र योगदान नेपाली कम्युनिष्ट आन्दोलनमा जीवित रहनेछ ।


(रामचन्द्र श्रेष्ठसँगको कुराकानीमा आधारित)