विनबहादुर कुंवर
पहिएको बर्मा र तर हालको म्यानमारमा सैनिक शासन लागू भएको छ । विगत एक महिना पहिलेदेखि त्यहाँको जननिर्वाचित सरकारलाई सेनाले अपदस्थ गरी सैनिक शासनको थालनी गरेको छ । त्यहाँको वैधानिक र जननिर्वाचित सरकारका प्रमुखदेखि त्यहाँका चर्चित नेता आङ साङ सुकीलगायत थुप्रै नेताहरूलाई सेनाले गिरफ्तार गरी गोप्य नजरबन्दमा राखेको अवस्था छ । दिनहुँ त्यहाँका जनताले त्यसको विरुद्धमा सडक आन्दोलन गरिरहेका छन् । त्यसका विरुद्ध त्यहाँको सेनाले दमन मात्र नभई हत्या हिंसा पनि गरिरहेको छ । अहिलेसम्म त्यहाँ ५०० भन्दा बढी प्रदर्शनकारी जनताहरूको हत्या भएको छ भने सयौं घाइते भएका छन् । त्यहाँ त्यसको विरुद्धमा शान्तिपूर्ण देशव्यापी अवज्ञा असहयोग आन्दोलन पनि भइरहेको छ । प्राय सबै सरकारी कार्यालय विद्यालय विश्वविद्यालय कलकारखाना सबैमा त्यसको असर परिरहेको छ । यतिसम्मकी थुप्रै त्यहाँका सेना पुलिसहरू समेत त्यो सैनिक शासनको विरोध गर्दै जनताका पक्षमा देखा पर्न थाली रहेका छन् । तैपनि त्यहाँका सेनाले त्यहाँ दमन हत्या हिंसा रोकेको छैन र झन् प्रतिदिन त्यसलाई बढाइरहेको छ । भनिन्छ हिंस्रक पशुलाई रगतको गन्ध र स्वादले झन् उन्मात बनाउँछ । ठीक त्यस्तै त्यहाँ सेनामा देखा पर्दैछ । पहिलेदेखि नै यस्ता सैनिक कू त्यहाँ हुँदै आइरहेका छन् । आफू केन्द्रित शासन सत्ता सञ्चालन गर्नु नै त्यहाँको सेनाको मूल चाहना हो ।
बर्मामा भएको त्यो सैनिक शासनको पछाडि थुप्रै कारणहरू छन् । त्यसमा मुख्यतः पहिलो अन्तर्राष्ट्रिय कारण छ भने दोस्रोमा आन्तरिक कारण छ । अन्तर्राष्ट्रिय कारणमा यहाँको सेना चीन परस्त हुँदै आएको छ । अहिले पछिल्लो स्थितिमा रूसले पनि त्यहाँ केही लगानी गर्दै आएको छ । खासगरी हातहतियार बिक्री गर्नु उसको उद्देश्य छ । तर चीनको लगानी भने त्यहाँ सेनामा मात्र नभई अन्य आर्थिक पक्षमा पनि अत्याधिक बढी छ । यसको साथसाथै जन निर्वाचित भनिने सरकार पश्चिमा साम्राज्यवाद निकट छ स्वयं त्यहाँकी प्रमुख नेता आङसाङ सुकी पश्चिमा महिला नै हुन् त्यही भएर त्यहाँको संविधानले उनलाई त्यहाँ प्रतक्ष शासक अर्थात प्रधानमन्त्री वा राष्ट्रपति हुनामा रोक लगाएको छ ।
त्यतिमात्र होइन त्यहाँ पश्चिमा शत्ति mराष्ट्रहरूको बढ्दो सकृयता र चहलपहल अनि धार्मिक उन्नत त्यस्तै आर्थिक भ्रष्टाचार पनि यसका केही कारणहरू भनेका छन् । स्वयं आङसाङ सुकीविरुद्ध ठूलठूला आर्थिक भ्रष्टाचार र अनियमिताका मुद्दाहरू पनि उठेका छन् । यो पश्चिमा प्रजातन्त्रको मूल विशेषता नै यही आर्थिक भ्रष्टाचार अनियमितता, कमिसन र कालोबजारी आदि हो । जसलाई मुख्य आधार बनाएर त्यहाँको सेनाले यस्तो सैनिक कू सञ्चालन गरिरहेको छ । तर पनि यस पछाडिको मूल कारण चाहिँ अन्तर साम्राज्यवादी द्वन्द्व नै हो । अमेरिकी नेतृत्वको पश्चिमा साम्राज्यवादीहरूको मूल उद्देश्य अहिले चीनलाई कसरी घेरा हाल्न सकिन्छ भन्ने छ । इन्दो प्यासिफिक रणनीति यसैको उपज हो । त्यस्तै फेरि चिनियाँ यलभ चयबम यलभ दभति पनि यसैमा थपिएको छ । चिनियाँ आर्थिक बढी विकासले अमेरिकालाई चुनौती दिइरहेको अवस्थामा उसका छिमेकी राष्ट्रहरूमा यसको प्रभाव पर्नु स्वाभाविक छ । कथित प्रजातन्त्र र मानवअधिकारको नाममा अमेरिकी साम्राज्यवादले चीन लगायत अरू मुलुकहरू माथि यस्तै हस्तक्षेप गर्ने प्रयास गरिरहेको छ । यसविरुद्ध चिनले पनी आफू निकट छिमेकी मुलुकहरूमा पनि यस्तै हस्तक्षेप वा कु नै गरेर भए पनि आफ्नो अस्थित्व देखाइरहेको छ । दुःखको कुरा के छ भने यही अन्तर साम्राज्यवादी द्वन्द्वका कारण बर्मेली जनता अत्यन्त पीडित भइरहेका छन् । साँढेको जुधाइ बाछाको मिचाई त्यहाँको जनताको नियती बनेको छ ।
यस्तो अवस्था बर्मेली जनताको मात्र नभई दक्षिण तथा पूर्वी सबै एसियाली मुलुकमा देखा पर्दछ । स्वयं हाम्रो देशको स्थिति पनि यस्तै छ । अहिले तत्काल सैनिक कू नै यहाँ नभएपनि अन्तर साम्राज्यवादी द्वन्द्वको विजारोपण यहाँ पनि सुरु भइसकेको छ । अमेरिकी साम्राज्यवादी नीतिअनुरूपको एमसीसी परियोजना नेपालमा लागू गर्ने यसैको उपज हो । नेकाको शेरबहादुर गुट र एमालेको ओली गुट यसलाई जसरी भए पनि लागू गराई छाड्ने मनसायमा छन् । यसैको एउटा कारण नेपालमा संसद विघटन गरिएको थियो । भारतीय विस्तारवादको सहयोग र समर्थनमा यहाँ एमसीसी लागू गरिँदै छ । यसको मूलकारण चीनलाई घेरा हाल्नु नै हो । यसैको नाममा अमेरिकी सैनिक अड्डा खडा गर्ने प्रयत्न भइरहेको छ । कुनै कारण नेपालमा यो एमसीसी संसदद्वारा पारित नभए यसको विकल्प अन्तत यस्तै सैनिक कू पनि हुनसक्छ । तर नेपालको सेना अहिले नै यस्तो स्थितिमा पुगिहाल्ने अवस्थामा छैन । तैपनि अहिले नेपालको सेना आफ्नो फौजी गतिविधिभन्दा बाहिरी कतिपय जे नाममा भनिए पनि यस्ता थुप्रै सैनिक ठेक्कापट्टा आदिमा देखिएको सैनिक बढ्दो रूची अनि सेनामा देखिन थालेको बढ्दो भ्रष्टाचार आदिका कारण पनि निकट भविष्यमा त्यस्तो अवस्था पनि नआउला भन्न सकिन्न । यसका विरुद्ध अहिलेदेखि नै सबै सजक भइरहनु पर्ने स्थिति छ ।