प्रेम सुनार
गुल्मी
२०६६ साल जेठ महिनामा भारतीय सेनाबाट पेन्सन निस्केका दुई÷चार जना भूपू सैनिकहरू गुल्मीको सदरमुकाम तम्घासको चिया पसलमा भेट हुन्छन् र परिचय सुरु गर्छन् ।
चिया गफकै क्रममा भूपू सैनिकहरू बीच निरन्तर सम्पर्क राखी रहन के गर्नुपर्ला ? भन्ने विषयमा छलफल हुन्छ । सय÷सय रुपैयाँ बचत गरेर सहकारी खौलौै त्यसपछि हामीबीच निरन्तर नियमित सम्पर्क रहन्छ भन्ने निचोड निकाल्छन् ।
अन्ततः सदरमुकाममै रहेका २२ जना संगठित भएर सहकारी संस्था स्थापना गर्छन् । २०७० साल चैत्र १८ गते आएर चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता गरेर वैधानिकता दिन्छन् । यसरी भूपू सैनिकहरूले सय÷सय रुपैयाँ उठाएर सुरु गरेको सहकारी संस्था २०७७ को चैत्र १८ गते सातौं वार्षिकोत्सव मनाइरहँदा करोडौंको कारोबार गर्ने सहकारी संस्थाका रूपमा स्थापित हुन पुगेको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को पुरानो बैंकरोड लाइनमा बैंकिङ कारोबार रहेको त्यस सहकारी संस्थाले चैत्र १८ गते विभिन्न कार्यक्रमका बीच ७ औं वार्षिक साधरण सभा तथा दोश्रो अधिवेशन गरिरहेको छ ।
साधरण सभामा संस्थाका अध्यक्ष कुलदिप थापाले त्यही चिया गफको स्मरण गर्दै भने– ‘भूपू सैनिकहरु बीच निरन्तर सम्पर्क रहोस् भन्नका लागि सहकारी खोल्ने सोच राखेका थियो अहिले सवा दुई करोड वार्षिक कारोबार गर्ने हैसियतमा पुगेका छौं ।’
साधारण सभाका अवसरमा उक्त सहकारी संस्थाले जिल्ला अस्पताललाई एम्बुलेन्सका लागि ट्रली सौजन्य गर्नुका साथै स्वाथ्यकर्मीहरुलाई मिठाई र त्यहाँका बिरामीहरुलाई फलफूल हस्तान्तरण गरेको छ । त्यस अस्पतालका सुपरिटेन्डन्ट डाक्टर उत्तम पाच्यले त्यस सहकारी संस्थालाई धन्यवाद दिए ।
जिल्ला सहकारी संस्थाका सदस्य रामलाल पाण्डेले भूपू सैनिकहरुको सिर्जनशिल सोचको प्रतिफल उनीहरुलाई मात्र संगठित गरेन आम सर्वसाधरणहरु समेत त्यस सहकारीमा आबद्ध भएर करोडौंको कारोबार गर्ने संस्था भएकोमा बधाई दिए । त्यस सहकारी संस्थाकी प्रबन्धक अमृता पराजुलीका अनुसार अहिले पुरुष १ सय ४७, महिला १ सय ८४ सहित ३ सय ५८ जना शेयर सदस्य रहेका छन् । संस्थाका सचिव पूर्णबहादुर गुरुङ्गले भूपू सैनिक र समुदायबीच सहकारीले पुलको काम गरेको र आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिका लागि सकरात्मक भूमिका खेलेको बताए । संस्थाका उपाध्यक्ष भिमबहादुर थापा र सचिव विष्णुबहादुर खाती भारतीय सेनाको ‘जुनियर अफिसर ’ हुन् ।