लक्ष्मण श्रेष्ठ

सभ्यता केवल आर्थिक गतिविधीले स्थापित हुँदैन । आर्थिक गतिविधीको जगमा सिर्जना हुने सांस्कृतिक, प्राज्ञिक र सामाजिक अभ्यासहरूले सभ्यताको जन्म दिन्छ ।

बदलिँदो छ बुटवल शहर । कुनै बेला पहाडको खाद्यान्न उत्पादन र गंगा मैदानका औद्योगिक उत्पादन साट्ने बजार थियो यो । नुन जहाँको मुख्य आकर्षण थियो, चुरे सिरानदेखि महाभारत काखका पहाडियाका लागि । गंगाको उत्तरी तटमा अंग्रेजहरूले रेल बिछ्याएपछि हिमाली पठारको ‘भोटे नुन’ दुर्गम र सामुद्रिक ‘ढिक्के नुन’ सुगम बन्न पुगेको थियो । अब बुटवल त्यो घ्यूसँग नुन साट्ने बटौली बजारमात्र रहेन । फराकिला सडक, चोकैपिच्छे खुलेका अस्पताल र शिक्षालय अनि विभिन्न बहुराष्ट्रिय कम्पनीका उत्पादनको भारी फोड्ने यो भूगोल सुविधा र वित्तिय विनिमयकै कारण आकर्षणको केन्द्र बन्दैछ । त्यसैले त कुनै बेला घ्यू छोडेर नुन, लत्ताकपडा, मट्टितेल र चुरा बोकिजाने पहाड पछिल्ला दुई दशकमा ह्वात्तै यता सरेको छ । यो भारी मात्राको बसाईसराईले बुटवलको भौगोलिक स्वरूपमा ठूलो परिवर्तन ल्याएको छ । सडकका दायाँबायाँ फुल्ने गुलमोहर हराएका छन् । चोकहरूमा अजंग आकृति बनिबस्ने सिमलका रुख काटिएका छन् । र, थपिएका छन् भवनहरू–महलहरू । पूर्वाधार विकासका जानिफकारहरू भन्छन्– बुटवल उदाउँदो शहर हो ।

के बटौली बजार पूर्णतः बुटवल शहर भइसकेको छ त ? शहरशास्त्रका परिभाषासँग दाँजेर हेर्दा भन्न गाह्रो हुन्छ, यो शहर हो । मानिसको घना बस्ती वा वित्तिय विनिमयको सघनता हुँदैमा बजार शहर बन्ने होइन । हो, बजारमा जस्तै शहरमा पनि हुन्छ भीडभाड, होहल्ला, घच्चमघच्चा तर त्यति हुँदैमा कुनै बस्ती शहर हुँदैन । शहर आफैँमा एक सभ्यता हो । र, सभ्यता केवल आर्थिक गतिविधीले स्थापित हुँदैन । आर्थिक गतिविधीको जगमा सिर्जना हुने सांस्कृतिक, प्राज्ञिक र सामाजिक अभ्यासहरूले सभ्यताको जन्म दिन्छ ।

शहरी सभ्यताको मुख्य पाटो हो, पब्लिक स्पेश (सार्वजनिक थलो) । त्यो सार्वजनिक थलो जहाँ आम मानिस स्वतस्र्फुत सहभागी हुन्छन् र आफैलाई प्रस्तुत गर्छन् । जहाँबाट नयाँ–नयाँ विचार सिर्जना हुन्छ । मानवीय जीवनमात्र होइन पर्यावरणीय जगतलाई पनि अझ सुन्दर बनाउने काल्पनिकीको उदय हुन्छ । सार्वजनिक थलो नभएको भूगोल केवल जीविका र आम्दानीका लागि गतिविधीमा सिमित हुने रुखो बजार मात्र हुन्छ । तर, सार्वजनिक थलो आफैमा स्थुल हुँदैन । यो त विभिन्न भौतिक स्वरूपहरूबाट अभिव्यक्त हुन्छ । त्यसमध्ये एक हो रंगमञ्च ।

रंगमञ्चलाई सामान्यतः अभिनय प्रस्तुतीको मञ्चको रूपमा लिइन्छ । तर, अभिनयको प्रस्तुती आफैँमा मानवीय गतिविधीको नक्कल मात्र होइन । त्यो त कथाहरूको सिर्जना गर्ने चौतारी हो । र, कथा आफैमा जीवनका मसिना पाटाहरूको उद्घाटन हुने माध्यम हो । आखिर कथा भन्न जान्ने कलाले त मानिसलाई अन्य जीवबाट समृद्ध बनाएको हो किनभने कथासँग कल्पना जोडिन्छ । सपना गाँसिन्छ । र, कथाको माध्यमबाट नै भावी यात्राको नक्सा कोरिन्छ । स्मृति र सपना जोड्ने पुल हो, कथा ।

सारमा, रंगमञ्च शहर आफैँ पोखिने ठाउँ हो । जहाँ शहरीयाहरूले आफ्नो असली अनुहार देख्न पाउँछन् । जहाँ शहरीयाहरूले आफ्ना दुःख उद्घाटन गर्ने मौका पाउँछन् । जहाँ शहरले आफ्नै प्रतिविम्ब भेट्छ । र, त शहरले आफू हिँड्ने बाटो, पुग्ने नयाँ–नयाँ गन्तव्य फेला पार्छ । रंगमञ्च नभएको बस्ती त गन्तव्य गुमाएको बटुवा जस्तो हुन्छ जो हिँडिरहन्छ तर पुग्ने कहाँ हो उसैलाई थाहा हुँदैन । के गन्तव्यहीन फिरन्ता बस्तीले सपनायुक्त शहर बनाउन सक्छ र ? अवश्य सक्दैन ।

विडम्बना, दशकौंबाट शहर बन्ने यात्रामा हिँडेको बुटवलसँग अहिले पनि आफू पुग्ने गन्तव्यको काल्पनिकी नै छैन । त्यसको एउटा मुख्य कारण हो, सार्वजनिक थलोका अन्य धेरै पक्षहरूजस्तै रंगमञ्चको अनुपस्थिति छ । स्थायी रंगमञ्च नहुनुको परिणाम यो शहरले आफैलाई हेर्ने ऐना पाएको छैन । आफैलाई पोख्ने मञ्च पाएको छैन । यद्यपि रंगमञ्चका प्रयत्नहरूको पूर्णतः अनुपस्थिति भने बुटवलको इतिहास र वर्तमान दुवै होइन । चाहे पञ्चायतकालमा राजनीतिक जागरण सिर्जनाको प्रयत्नको रूपमा होस् वा वर्तमानका विभिन्न सन्देश प्रवाहका रूपमा, बुटवलमा रंगमञ्चीय प्रयासहरू भएकै हुन् । तर सधैँभरीको अभाव हो, स्थायी रंगमञ्चको स्थापना । जसलाई अहिले आएर ‘बागेश्वरी संगीतालय’को अगुवाईमा पूरा गर्ने प्रयत्न भइरहेछ । स्थायी रंगमञ्च (थिएटर) को निर्माण गर्ने त्यो प्रयत्नले आशा गरौं, बुटवललाई जीवन्त शहर बनाउने यात्रालाई एक कदम अघि बढाउने छ । तर, एकल प्रयत्न पर्याप्त कहिल्यै हुँदैन । त्यसका लागि त सबै शहरीयाको सहभागीताको आवश्यकता हुन्छ चाहे त्यो फगत दर्शकको रूपमा मात्र किन नहोस् । र, स्थानीय सरकार त्यो प्रयत्नको एउटा महङ्खवपूर्ण साथ, सहयोगी र आड हो ।