लुम्बिनी संवाददाता
बुटवल ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै खाँणले मुलुकलाई निकास दिन कांग्रेसले निर्णय लिन अब ढिला गर्न नहुनेमा जोड दिए ।
काठमाडौं बाहिरको पहिलो स्याटलाइट टेलिभिजन राज्य टेलिभिजनद्वारा शुक्रबार बुटवलमा आयोजित मानवअधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका खाँणले संविधान र लोकतन्त्रलाई कमजोर बनाउन खोज्नेहरूसँग सहकार्य हुननसक्ने बताए ।
संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व सरकारको भएको भन्दै कांग्रेस नेता खाँणले वर्तमान सरकार बनेदेखि नै संविधानको मूल्य मान्यता र मर्ममाथि प्रहार गर्दै आएको आरोप लगाए । मुलुकमा पटक÷पटक ठूला राजनीतिक परिवर्तनहरू भए पनि परिवर्तनबाट प्राप्त उपलब्धिहरू संस्थागत हुन नसकेको भन्दै उनले मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण जनतामा निरासा बढेर गएकोले त्यसले ठूलो विद्रोह निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरे ।
लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरू आफै समाप्त भएको इतिहास स्मरण गर्दै नेता खाँणले संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारको नेतृत्वकर्ताहरू पनि समाप्त हुने विश्वास व्यक्त गरे ।
जनतालाई राज्यसत्ताको मालिक बनाउने आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि कांग्रेसले नेतृत्व लिने बताए ।
उनले प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी दलहरूबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा.बुद्धबहादुर थापा, संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, मानवअधिकार तथा शान्ति समाजका सभापति समेत रहेका राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागार्इं, प्रकाशन तथा प्रशारण समाजका सचिव माधव नेपाल, नेपाल पत्रकार महासंघ रूपन्देही उपाध्यक्ष निरा गौतम, राज्य टेलिभिजनका सञ्चालक डा.विनोद पराजुलीलगायतले बोल्दै मानवअधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि मिडिया बलियो हुनुपर्नेमा जोड दिए । कार्यक्रम टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा विभिन्न क्षेत्र र विधामा विजयी भएकाहरूलाई सम्मान्न गरिएको थियो ।