लुम्बिनी संवाददाता
बुुटवल
जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एंव पूर्व उप–प्रधानमन्त्री उप्रेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताएका छन् । लोकतन्त्र, गणतन्त्रपक्ष बीचको सहकार्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकार हटाउनुपर्ने बताए । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्रपक्षधरको सरकार बन्नुपर्छ’ शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने ।
उनले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताए । ‘यो प्रतगिमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ भनेकाले हामी ओली सरकार जाँदैनौं ।’– उनले भने । उनले सरकार परिवर्तनका लागि काँग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए । ‘हाम्रा कारणले सरकार गठनमा अवरोध छैन, काँग्रेससहितका दलले निर्णय गरे हामी तयार छौं ।’– उनले भने । मुद्दा खारेजी र बन्दी रिहाइको मुुद्दाका बारेमा सरकारसँग छलफल भएको तर सत्ता साझेदारी भने हुन नसक्ने अध्यक्ष यादवले स्पष्ट पारे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी ओलीसँग सति जाने गल्ती हामीले गर्दैनौं ।’– उनले भने । जसपाभित्र दुुई धार देखिएको चर्चा भइरहेको बेला अध्यक्ष यादवले कुनै पनि वाहनामा केपी ओलीसँग सहकार्य हुन नसक्ने बताए । उप–प्रधानमन्त्री समेत यादवले मधेश र थरूहट आन्दोलनको दौडानमा गिरफ्तार भएका र बन्दीमा राखिएकाहरूलाई रिहाईको माग राखिएको बताए । मुद्दा खारेज र बन्दीलाई रिहाई गर्ने गरी भइरहेको कुरालाई दुुईधारका रूपमा ब्याख्या गरिएको उनले बताए ।
प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विरोधी भएको उनको आरोप छ । प्रधानमन्त्रीले संविधान धारा २८४ विपरित अध्यादेशमार्फत सवैधानिक परिषद् नियुक्ति गरेर स्वेच्छाचारी र निरकुंश प्रवृत्ति देखाएको बताए ।
प्रधानमन्त्रीले संसद विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगामी कदम भनेर जसपा सडक आन्दोलन होमिएको बताए । संविधान र संसदमाथि प्रहार गरेपछि अहिले फेरी संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि समाप्त पार्न लागिपरेको बताए । ‘राष्ट्रिय समस्याको हल गर्नुभएको छैन, राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ,’ उनले भने –‘समृद्ध नेपाल र सुखी नेपाली भएन दरिद्र नेपाल र दुुःखी नेपाली भयो ।’ प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण असपल भएको बताउँदै संघीय लोकतान्त्रिक प्रणालीलाई समाप्त पार्न खोजेको बताए ।