इन्टरनेशनल थियटर इन्स्टिच्युट— आईटीआई
विश्व रंगमञ्च दिवस २०२१ अवसरमा हेलेन मिरेनको सन्देश

हेलेन मिरेन


यो समय रंगमञ्चीय प्रस्तुती र यो पेशामा संघर्ष गरिरहेका कलाकार, प्राविधिक, कालिगढ तथा महिलाका लागि निकै कठिन बनेको छ । यो पेशा आफैमा यस अघिनै असुरक्षाबाट ग्रसित थियो ।

सम्भवतः सँधै रहिरहेको त्यो असुरक्षाबोधले रंगमञ्चमा आबद्धहरुलाई यो महामारीसँग ज्ञान र साहसले जुध्न सक्षम बनाएको छ ।

यो नयाँ परिस्थितिमा रंगमञ्चीय गतिविधीको कल्पना इन्टरनेट मार्फत् खोजमूलक र मनोरञ्जनात्मक संवादमा परिणत भएको छ । इन्टरनेटलाई धन्यवाद ।

आदिम कालदेखि नै मानिसहरुले एकअर्कालाई आफ्ना कथा सुनाउँदै आएका छन् । त्यसैले, यो ग्रहमा मानिस हुँदासम्म रंगमञ्चको सुन्दर संस्कृति रहिरहनेछ ।

लेखक, डिजाइनर, नृत्यकार, संगीतकार, कलाकार, गायक, निर्देशकहरुको सिर्जनात्मक हुटहुटी कहिल्यै पनि निसास्सिने छैन । हामीले भोगेको संसारको नविन बोध र नयाँ उर्जाका साथ संसारैभर रंगमञ्च फैलिनेछ ।

म धेरै पर्खिन सक्दिनँ ।

इन्टरनेशनल थियटर इन्स्टिच्युट— आईटीआईको सन्देश अंग्रेजीमा

(अन्तर्राष्ट्रिय रंगमञ्च संस्था (इन्टरनेशनल थियटर इन्स्टिच्युट— आईटीआई)को नेतृत्वमा विश्व रंगमञ्च दिवस सन् १९६२बाट मनाउन शुरु गरिएको हो । यो हरेक वर्ष मार्च २७ तारिखमा मनाइन्छ । हरेक वर्षका दिवसहरुमा विश्वका सम्मानित रंगकर्मीमध्ये एकजनाबाट सन्देश जारी हुन्छ । सन् १९६२को पहिलो दिवसको सन्देश जाँ कक्ट्यिुबाट जारी भएको थियो । जाँ कक्ट्यिु प्रख्यात कवि, नाटककार, उपन्यासकार थिए ।

आईटीआईको स्थापना दोस्रो विश्वयुद्धको लगत्तै सन् १९४८ मा युनेस्कोका निर्देशक सर जुलियन हक्ज्ले र उपन्यासकार र नाटककार जेबी प्रिस्टको अग्रसरतामा स्थापना भएको थियो । यसको स्थापनाको उद्देश्य युनेस्कोले संस्कृति, कला र शिक्षाका लागि निर्धारित गरेका लक्ष्यहरु हासिल गर्नका लागि सहकार्य गर्नु थियो । यो संस्था कलसँग सम्बन्धित विश्वको सबैभन्दा ठूलो संस्था हो ।

यो वर्षको सन्देश ७५ वर्षीया हेलेन मिरेनबाट जारी भएको छ । हेलेन मिरेन चर्चित अंग्रेज कलाकार हुन् । उनी स्टेज, स्क्रीन (फिल्म) र टेलिभिजनमा सफल छिन् । सन् १९६५ मा क्लियोपेट्राको अभिनयमार्फत् रंगमञ्च प्रवेश गरेकी मिरेन हालसम्म सक्रिय छिन् । उनले ‘द क्वीन’मा गरेको अभिनयबाट ‘एकेडेमी अवार्ड’द्वारा सम्मानित भएकी थिइन् । ‘एकेडेमी अवार्ड’, ‘इम्मी अवार्ड’ र ‘टोनी अवार्ड’बाट सम्मानित हुनेलाई ‘ट्रिपल क्राउन अफ एक्टिङ’को विशेषण प्रदान गरिन्छ । हालसम्म यो विशेषण हासिल गर्ने १५ महिला र ९ पुरुष गरी २४ जना छन् त्यसमध्ये एक मिरेन पनि हुन् ।

पाहुरका लागि याे अनाैपचारिक अनुवाद गरिएकाे छ ।)