भैरहवा । कोरोना भाइरसको कारण प्रभावित भएको विश्व पर्यटनको केन्द्र लुम्बिनी घुम्न आउनेको संख्या केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरूको संख्या वृद्धि हँुदै गएको छ । पछिल्लो तथ्यांकअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको संख्या नै अत्याधिक रहेको छ । कोषको तथ्यांकअनुसार लकडाउन खुलेपछि एक लाख ४१ हजार पाँच सय ७९ जना नेपालीहरूले लुम्बिनी भ्रमण गरेका छन् । यसैगरी पाँच हजार सात सय ४८ जना भारतीय र एक सय २० जना राहदानी बाहक विदेशी नागरिकले बुद्धजन्म स्थल लुम्बिनी भ्रमण गरेका छन् ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरूको संख्या बढिरहेको बताए । कोरोनाको कारण मान्छेहरूमा सृजना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।
सामन्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या अत्याधिक रहने गरेकोमा कोरोनाको कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमा नाकामा सहज आवतजावत समेत नरहेको हँुदा यतिबेला विदेशी नागरिकहरू लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरूत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए । उनले भने–“लुम्बिनीको पर्यटन पुनरूत्थानको लागि हामीले नेपाल पर्यटन बोर्ड, संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसंग मिलेर विभिन्न अभियान चलाइरहेका छौं । यसले लुम्बिनी घुम्न जान मान्छेहरूलाई उत्प्रेरित गर्नेछ ।” गएको फागुन तेस्रो हप्ता रूपन्देहीको पाँचतारे होटल टाइगर प्यालेसमा लुम्बिनीको पर्यटन प्रवद्र्धनको लागि ब्रान्डिङ्ग समेत गरिएको थियो । नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरूको समूहले मायादेवी प्रसुती मार्गको स्थलगत अवलोकन समेत गरेको थियो ।