गौरीशंकर जयसवाल

परासी ।
शहरी क्षेत्र विकासका लागि रामग्राम नगरपालिकाले ६२ करोड २२ लाख रुपैयाँ अनुदान पाउने भएकोे छ । नवलपरासीको रामग्राम नगरक्षेत्रको शहरी क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ६२ करोड २२ लाख रुपैयाँ बजेट अनुदानमा दिने भएको हो ।
नगरपालिकाले नगर क्षेत्रभित्रका बजारहरूलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार विकासमा उक्त बजेट खर्च गरिने नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
ढाई वर्षको लामो प्रयासपछि गत फागुन २१ गते उक्त एनयुजी आईपी परियोजना कार्यान्वयनका लागि रामग्राम नगरपालिका र शहरी विकास विभाग बीच सम्झौता भै प्रक्रिया अगाडि बढेको गुप्ताले बताए ।
नेपाल सरकारले शहरी क्षेत्रको विकासका लागि विश्व बंैकबाट सहुलियत ब्याजदरमा लिएको ऋणलाई स्थानीय तहको सहरी क्षेत्रमा विकास गर्न नेपाल शहरी शासकीय भौतिक पूर्वाधार विकास परियोजना लागू गरेको छ, जसमा रामग्राम नगरपालिका पनि छनौटमा परि उक्त अनुदान रकम पाउने भएको नगरप्रमुख गुप्ताको भनाइ छ । देशका विभिन्न १७ पालिकामा लागु हुने यस परियोजनाको निगरानी गर्न र सम्पूर्ण प्रक्रिया अगाडि बढाउन शहरी विभागमा एक छुट्टै युनिट पनि खडा गरिएको छ ।
नगरपालिकाले उक्त प्राप्त अनुदान बजेट नगरभित्रका सडक सञ्जाल र फोहोर व्यवस्थापनमा खर्च गर्ने नगरप्रमुख गुप्ताले बताउँदै परियोजना सम्झौता भएदेखि पाँच वर्ष भित्र उक्त परियोजना सम्पन्न गर्नु पर्ने छ । नगरपालिकाले यसै आर्थिक वर्षमै कुन–कुन क्षेत्रमा कस्तो–कस्तो योजनामा काम गर्ने सोको छनौट गरी डीपीआर गरी ठेक्का प्रक्रिया समेत अगाडि बढाउने योजनामा रहेको नगरप्रमुख गुप्ताले बताए ।
यस परियोजनालाई गुणस्तरीय रूपमा समयमा सम्पन्न गराउन नगरपालिकाले पनि प्राविधिक सहितको एक युनिट खडा गर्नेछ जसले योजनाको नियमित अनुगमन गर्ने र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीको भनाइ छ ।
यस परियोजनाले नगरपालिकाको विकासमा व्यापक फड्को मार्ने छ । यस अनुदान बजेटबाट बन्ने सडकलगायतका पूर्वाधारले यहाँका जनताहरूले प्रत्यक्ष फाइदा लिने छन् । यसले नगरक्षेत्रलाई थप शहरीकरण र बजारीकरण गर्ने नगरपालिकाले विश्वास लिएको छ ।