दिपक के.सी
महाराजगंज ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । नगरको वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता सुरु गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
मंगलबार कार्यक्रमकको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य केसीले खेलकुदले व्यक्तिलाई स्वास्थ्य राख्नुको साथै खेलकै माध्यमबाट राष्ट्रलाई विश्व सामु परिचित गराउन सकिने हुँदा खेलकुदलाई प्राथमिकता दिनु पर्ने बताए । नगरपालिकाले खेललाई प्राथमिकता दिँदै ढिलै भए पनि प्रतियोगिता आयोजना गर्न सफल भएकोमा धन्यवाद दिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा नगर प्रमुख अब्दुल कलामले नगरपालिकाले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताए । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने मेयर कलामले बताए ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितातर्फ नगरका ११ विद्यालयको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रेश्मीराज अर्यालले बताए । यस्तै मेयरकपतर्फ ५ वटा विद्यालयको सहभागिता रहेको पनि उनले जनाकारी दिए । मंगलबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने अर्यालले बताए ।