सडक, खानेपानी, स्वास्थ्य, पर्यटनमा १२ अर्ब लगानी
प्रेम सुनार

गुल्मी
गुल्मीका विकट बस्ती अब विकट रहेनन् । अब सुविधासम्पन्न गाउँका रूपमा परिचय दिनेछन् । घर–घरमा धारा, स्तरीय सडक । स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरमा वृद्धि । गुल्मेलीले बल्ल पूर्वाधार विकासको मौका देख्न पाएका छन् ।
गुल्मीको पूर्वाधार विकासमा क्षेत्र नम्बर १ का सांसद एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ठूलो लगानी भित्र्याएका छन् । क्षेत्र नम्वर १ मा ज्ञवाली निर्वाचित भएदेखि विभिन्न विकास निर्माणमा संघीय सरकारबाट झण्डै १२ अरब रुपैयाँ विनियोजन भएको छ ।
मन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीका अनुसार आर्थिक वर्ष २०७५ ÷०७६ मा गुल्मी क्षेत्र नम्बर १ का विभिन्न विकास निर्माणमा एक अर्ब, १२ करोड ६४ लाख रकम विनियोजन भएको थियो ।
आर्थिक वर्ष २०७६ ÷०७७ मा पाँच अर्ब १३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा पाँच अर्ब ३९ करोड ३८ लाख १५ हजारसहित यस अवधिमा ११ अरब ६५ करोड २४ लाख १५ हजार रुपैयाँ गुल्मी क्षेत्र नम्बर १ मा संघीय सरकारबाट रकम विनियोजन भएको छ ।
जसमध्ये खानेपानी योजनामा रकमान्तर नौ करोड ३७ लाख रुपैयाँ, बलेटक्सार रिङ्गरोड निर्माणका लागि पाँच करोड, नागरिक आवास कार्यक्रम खरको छानो विस्थापनका लागि एक करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै सांसद क्षेत्र पूर्वाधार कार्यक्रमतर्फ चार करोड, समपुरक कार्यक्रम योजनाका लागि आठ करोड १७ लाख विनियोजन भएको छ । कालिगण्डकी कोरिडोरका लागि ५० करोड विनियोजन भएको छ । पुल निर्माणका लागि २० करोड ५० लाख विनियोजन भएको छ । रेसुङ्गा पर्यटन विकासका लागि २० लाख, रेसुङ्गा एअरपोर्ट कालोपत्रेका लागि १४ करोड विनियोजन भएको छ । कालिगण्डकी कोरिडोर रिडी–रूद्रवेणी हर्मिचौर खण्डमा २१ किलो मिटर कालोपत्र गर्न एक अर्ब आठ करोड ८६ लाख विनियोजन भएको छ । चोरकाटे शान्तिपुर कालोपत्रेका लागि १६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ ।
तम्घास–नेटा सडक कालोपत्रेका लागि मन्त्री ज्ञवालीले सात करोड पारेका छन् । खज्र्याङ्ग–गुल्मीदरबार–घुम्ती मोटर बाटो, गौडाकोट –झिरवास –मजुवा मोटरबाटो , रिडी –खज्र्याङ्ग मोटरबाटो, पूर्तिघाट, फोक्सीङ्ग, ग्याघा, शान्तिपुर मोटरबाटो, भेडुवा, हुँगा, सिस्ने, चोरकाटे मोटरबाटो कालोपत्रे तथ स्तरोन्नतीका लागि १० करोड विनियोजन भएको छ ।
त्यस्तै विभिन्न सडक आयोजना – वर्तुङ्ग तानसेन, रिडी वामीटक्सार, खर्बाङ्ग सडक, वर्तुङ्ग, रिडी, तम्घास सडक , रिडी तानेसन सडक स्तरोन्नीत, रिडी, रूद्रवेणी वामीटक्सार दरमखोला काँडेवास गल्कोट बाग्लुङ्ग सडक, छत्रकोट गाउँपालिका, हुँगा, चोरकाटे , सत्यवती ७ सडक स्तरोन्नती हुने भएको छ ।
त्यस्तै पूर्तिघाट, फोक्सीङ्ग, ग्वाँघा, शान्तिपुर सडक रिडी बल्कोट, दाङ्ग, सुर्खेत सडक, खज्र्याङ्ग, गुल्मीदरबार घुम्ती मोटरबाटो, गैडाकोट, झिरवास मजुवा मोटरबाटो, रिडी खज्र्याङ्ग मोटरबाटो, रिडी, बल्कोट, हंसपुर, प्यूठान, सुर्खेत सडक, वर्तुङ्ग रिडी, तम्घास सडकको लागि २७ करोड ५० लाख विनियोजन भएको छ ।
रिडी कालिगण्डकी पर्यटकिय क्षेत्र तटबन्ध कार्यक्रमका लागि २८ करोड ८७ लाख विनियोजन भएको छ । रेसुङ्गा नगरपालिका ७ उनायचौरमा बन्न लागेको विद्युत शव स्टेशनका लागि ४७ करोड ५० लाख विनियोजन भएको छ । सत्यवती पहिरो पीडित पुनस्र्थापनाका लागि १० करोड परेको छ ।
तम्घास अस्पताल भवन निर्माण, श्रृंगा, रिडी, सत्यवती, कालिगण्डकी , गुल्मीदरबार र चन्द्रकोटमा १५ शैयाको अस्पताल निर्माणका लागि २० करोड विनोयजन भएको छ । रेसुङ्गा एअरपोर्ट निर्माणका लागि थप १४ करोड परेको छ । त्यस्तै संघीय विशेष अनुदान (स्थानीय तह) ६ करोड ७८ लाख परेको छ ।
संघीय समपुरक अनुदान पाँच करोड ११ लाख परेको छ । खानेपानीका लागि ६ करोड ६७ लाख विनियोजन भएको छ । पक्कीपुल निर्माणका लागि १७ करोड ३६ लाख विनियोजन भएको छ ।
रूरूक्षेत्र गाउँपालिका १ मा सितभण्डार निर्माणका लागि एक करोड १६ लाख बजेट विनियोजन भएको छ ।
सडक निर्माणमा छलाङ
पटौती, खज्र्याङ्ग, घुम्ती, गैडाकोट , मजुवा शान्तिपुर रणनीतिक सडकका लागि दुई करोड ४० लाख विनियोजन भएको छ । त्यस्तै पूर्तिघाट फोक्सीङ्ग, ग्वाघा, शान्तिपुर, आँपचौर, ईन्द्रेगौडा सडकका लागि ४० लाख बजेट परेको छ ।
छत्रकोट गाउँपालिका, हुँगा, गुन्टुङ्ग्रा सिस्ने चोरकाटे, सत्यवती सडक निर्माणका लागि ४० लाख बजेट परेको छ । रूद्रवेणी अस्लेवा, ठुलोलुम्पेक, जयखानी सडक निर्माणका लागि ४० लाख बजेट परेको छ । सत्यवती चन्द्रकोट लोकमार्गको लागि पनि त्यति नै रकम छुट्टाइएको छ ।
वर्तुङ्ग, रिडी , तम्घास सडकका लागि पनि त्यति नै बजेट विनियोजित भएको छ । त्यस्तै वर्तुङ्ग–रिडीदेखि वामीटक्सार खर्वाङ्ग, सोही सडक मार्गका लागि सात करोड ४० लाख बजेट छुट्टिएको छ । रिडी–खज्र्याङ्ग –बलकोट मोटर बाटो २७ किलो मिटर कालोपत्रेका लागि दुई अर्ब, २० करोड ५६ लाख विनियोजन भएको छ ।
रेसुङ्गा देउराली एअरपोर्ट सडक कालोपत्रेका लागि तीन करोड ५० लाख रकम परेको छ । रूद्रवेणी–मजुवा–वामी–खर्बाङ्ग सडक कालोपत्रेका लागि १० करोड बजेट विनियोजन भएको छ ।
कालिगण्डकी कोरिडोरमा नेपाली सेनाद्वारा १० मिटर कटिङ्गका लागि ३० करोड बजेट विनियोजन भएको छ । यस आर्थिक वर्षमा माथि उल्लेखित सडकका लागि दुई अर्ब, ८१ करोड ८४ लाख बजेट पारिएको छ ।
१५ वटा पक्की पुल बन्दै
गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न सडक सञ्जाल जोड्ने १५ वटा पक्की पुल छन् । ती केही पूरा भए भने कुनै बन्ने क्रममा रहेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयका अनुसार बडिगाडखोलामा खैरेनीदेखि बोटेगाउँ जोड्ने पक्की पुल निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन भएको छ ।
कालिगण्डकी नदीको सेतीवेनीमा गुल्मी र स्याङ्गजा जोड्ने पक्की पुलका लागि ४७ लाख ५० हजार विनियोजन भएको छ । गुुल्मीदरबार गाउँपालिकामा गौडाकोटदेखि पुर्खे जोड्ने पुल निर्माणका लागि ४७ लाख ५० हजार विनियोजन भएको छ ।
बडिगाड खोलामा उल्लीखोलादेखि हुँगा जोड्ने र त्यसको करिव ५ सय मिटरको दुरीमा पर्ने सिस्नेदेखि हुँगा जोड्ने पक्की पुलका लागि एक–एक करोड रुपैयाँ विनियोजन भएको छ । जुनियाँदेखि हुँगा जोड्ने र तम्घास खोलामा पक्कीपुल निर्माणका लागि पनि एक एक करोड रकम परेको छ ।
त्यस्तै बडिगाडखोलमा साहघाटदेखि लिम्घा जोड्ने पुल निर्माणका लागि ४७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । त्यस्तै खैरेनी जिङ्दीखोलामा जोहाङ्ग हसरा जोड्ने पुलका लागि पनि त्यति नै रकम परेको छ ।
त्यस्तै हुग्दीखोलामा शान्तिपुर बजार र विद्यालय जोड्ने पुल निर्माणका लागि सर्वे भएको छ । सत्यवती वडा नम्बर ६ डहरेखोला पुल उल्लीखोलमा रूरूक्षेत्र गाउँपालिका ४ पाँगादेखि छत्रकोट गाउँपालिका वडा नम्बर १ जोड्ने पुलका निर्माणका लागि पनि सर्वे भई सकेको परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले जानकारी दिए ।
सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले त्यस गाउँपालिका भित्रका बडिगाड खोलामा मात्रै ६ वटा पक्की पुल निर्माणको काम तीब्रगतिमा आगाडि बढेको बताए । ‘बडिगाडखोलामा पुल पर्याप्त भएका छन्,’ अध्यक्ष ढकालले भने –‘रूद्रवेणी वामीटक्सार सडक खण्डका ठाउँ–ठाउँका ठाडा खोलाहरूमा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने भएकाले दर्जनौ पुल निर्मालाका लागि माथिल्लो निकायसंग माग गर्दछौं ।’
सहरी विकास मन्त्रालयबाट थप रकम
परराष्ट्रमन्त्रीका प्रेस संयोजक सुदन ज्ञवालीका अनुसार सहरी विकास मन्त्रालयबाट पनि माथि उल्लेखित सडक निर्माणका लागि रकम विनियोजन भएको छ । तम्घासको देउराली चेतेनेटा, रेसुङ्गा एअरपोर्ट सडक कालोपत्रेका लागि तीन करोड ५० लाख रकम परेको छ ।
बलेटक्सार, टाहटिम, उल्लीखोला, रानीवास, चौतरा बलेटक्सार रिङ्गरोड सडकका लागि १० लाख रकम परेको छ । शान्तिपुर बजारको नाली तथा भित्री सडक निर्माणका लागि ५० लाख परेको छ ।
तम्घास, गडजुरा गौशाला पराल्मी ईन्द्रेगौडा सडकका लागि एक करोड रुपैयाँ परेको छ । त्यस्तै रेसुङ्गा नगरपालिका, सदरमुकाम तम्घास भित्रका सडक मर्मत सम्भारका लागि एक करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै सदरमुकामका मुख्य सडकका नाली तथा स्तरोन्नतीका लागि पनि ५० लाख परेको छ । राङ्गवास पिपलनेटा खेरेती, पाङ्ग्राखोला देखि झिरवासपाटी अर्घाखाँची सिमानासम्मको सडक स्तरोन्नतिका लागि ५० लाख विनियोजन भएको छ ।
त्यस्तै छत्रकोट गाउँपालिकाको हुँगामा आपतकालिन आवस निर्माणका लागि ८० लाख वजेट विनियोजन भएको छ । माथि उल्लेखित कार्यका लागि आठ करोड ४० लाख रुपैयाँ परेको छ ।
धार्मिक तथा पर्यटन पूर्वाधार
रेसुङ्गा पर्यटन विकास साझेदारी कार्यक्रमका लागि सात करोड रकम छुट्टाइएको छ । उजेलादेवी मन्दिर संरक्षण तथा विकासका लागि बलिथुममा तीन लाख छुट्टाइएको छ । खड्ग भगवती मन्दिर संरक्षण तथा विकासका रेसुङ्गा नगरपालिका ७ का लागि २ लाख ६५ हजार परेको छ ।
रूरू ४ स्थित श्रृङ्गेश्वर मन्दिर तपोभूमि पर्यटन पूर्वाधारका लागि ८ लाख रकम परेको छ । गुल्मीदरबार पर्यटन पूर्वाधार कार्यक्रमका लागि १२ लाख परेको छ । फोक्सिङ्ग, बुढी सत्यवती पदमार्ग कालिगण्डकी गाउँपालिकासहित क्षेत्र नम्बर १ का धार्मिक तथा पर्यटकीय १५ वटा स्थानमा कुल नौ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।
रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माविमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाको सामग्री खरिदका लाखि १० लाख रुपैयाँ परेको छ । त्यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमका लागि निर्वाचन क्षेत्र नम्बर १ का ६ वटा गाउँपालिाका र एउटा नगरपालिकाका लागि एक करोड बजेट परेको छ ।
मन्त्री ज्ञवालीको निर्वाचन क्षेत्रमध्ये बलेटक्सारदेखि गौडाकोट र पारी दौंघमा खानेपानीको हाँहाकार लाग्ने थलो हो । लिटरको हिसाबले पिउने पानी किनेर खाँदै आएका बलेटक्सारसहित डाँडो लाईनका जनताले यति बेला लिफ्ट सिस्टम खानेपानी योजनाबाट घर घरमा पानीको धारा पाएका छन् । मन्त्री ज्ञवाली भन्छन्–‘मैले सबैभन्दा ठुलो ध्यान जनताको शुद्ध पानी पिउन पाउने अधिकारप्रति दिएँ । विगतमा आकाशे घैटाले निर्वाहमुखी समस्या समधानमा लागिएको थियो । अहिले ति घैटा विस्थापित भई घर–घरमा पानी धारा उपलब्ध गराउन सकेकोमा सन्तोष जागेको छ ।’
मन्त्री ज्ञवालीको पहलमा क्षेत्र नम्बर १ भित्र विभिन्न ५२ वटा खानेपानी योजना सञ्चालनमा रहेको र बलेटक्सारसहित डाँडोलाईनका जनताको घर–घरमा पिउने पानीको धारा जडान गरिएको रूरूक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम बताउँछन् ।
यता छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले मन्त्री ज्ञवालीको पहलमा पारि दौंगाको लिफ्टिङ खानेपानी योजना सम्पन्न हुन लागेको बताए । गुल्मीदरबार गाउँपालिका प्रमुख अशोककुमार थापा पनि एक घर एक धारा कार्यक्रमम अन्तिम चरणमा पुग्दै गरेको बताउँछन् । कुल ५२ वटा खानेपानी योजनाका लागि ६० करोड ७० लाख रुपैयाँ विनियोजन भएको मन्त्री ज्ञवालीको सचिवालयले जनाएको छ ।
एक पालिका एक अस्पताल
सदरमुकाम तम्घास अस्पताल सुविधा सम्पन्न हुने भएको छ । त्यस अस्पतालको स्तरोन्नतिका लागि ४९ करोड रकम परेको जनाइएको छ ।
त्यस्तै गुल्मी क्षेत्र नम्बर १ का एक नगरपालिका सहित ७ वटै पालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि १८ करोडका दरले रकम विनियोजन भएको छ । त्यस्तै शैक्षिक क्षेत्र, स्वास्थ्य, कृषि, महिला उद्यमसहितका विभिन्न कार्यक्रमका लागि करोडौं रकम छुट्टाइएको बताइन्छ । विगतमा लामो समय अलपत्र परेको रिडीको तीनमुखे पुल निर्माणका कार्य यति बेला तीब्रगतिमा अगाडि बढेको छ ।