कोरोना महामारीले थलिएका आन्तरिक पर्यटकीय क्षेत्रहरु तङ्ग्रिदै गएका छन् । तर ती पर्यटकीय स्थलमा व्यवस्थापन फितलो हँुदा पर्यटकलाई सास्ती छ ।
कृष्ण पोखरेल

तानसेन
करीव एक वर्ष लामो कोरोना संक्रमण, लकडाउन, बन्दा बन्दीको कारण ठप्प बनेको पाल्पाको पर्यटन व्यवसाय फेरि तङ्ग्रिन थालेको छ । दशंै तिहारपछि सामान्य रुपमा होटल, रेष्टुराँदेखि गेष्टहाउसहरु सञ्चालन हुन थालेपछि बन्द अवस्थामा रहेको पर्यटन व्यवसाय सुरु भएपछि पाल्पामा चहल पहल बढेको छ । पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा पर्यटकहरु पुग्न थालेका छन् । पाल्पाको भैरवस्थान, ऋषिकेशव मन्दिर, रुरुधाम, पाल्पा दरबार संग्रहालय, रानीमहल जस्ता क्षेत्रमा दिनहँु पर्यटकहरुको घुइँचो लाग्न थालेको छ ।
सरकारले देशभरीका एक सय पर्यटकीय गन्तव्य स्थलमा तानसेनको श्रीनगरलाई समावेश गरेपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दै गएका छन् । तानसेनको श्रीनगरबाट नेपालका अधिकांश हिमालदेखि विभिन्न पहाडी क्षेत्रका भू–भागसंगै तराईको फाँटहरु अवलोकन गर्न सकिन्छ । वनभोजदेखि घुमघामको लागि पर्यटकहरु श्रीनगर पुग्ने गरेका छन् । नयाँ वर्षको आगमनसंगै श्रीनगर क्षेत्रमा घुम्ने पर्यटकहरु बाक्लिदै गएका छन् । वनभोजको लागि जाडो याममा तातो घाम ताप्न र घर्मीयाममा चिसो हावा, सितल छहारी खोज्दै पर्यटकहरु श्रीनगर पुग्ने गरेका छन् ।
कोरोना भाइरसको जोखिम कम हुँदै गएको, लक्षित वर्गदेखि जेष्ट नागरिकहरुले कोरोना खोप लगाएपछि पर्यटकीय तथा धार्मिकस्थलहरुमा पर्यटकहरुको चलहपहल वृद्धि भएको छ । सार्वजनिक बिदा, शनिबार तथा अन्य दिनहरुमा समेत श्रीनगरमा घुम्ने तथा वनभोजको लागि पर्यटकहरुको भिडभाड सुरु भएको छ । पर्यटकीय मौसम सुरु भए पनि श्रीनगरको व्यवस्थापन गर्दै आएको तानसेन नगरपालिकाले व्यवस्थापकीय सुधारमा ध्यान दिएको छैन । श्रीनगर भरी फोहोरै फोहरले भरिएको छ, बनेको शौचालयमा भित्र बसेर दिसा पिसाब गर्ने अवस्था छैन, जहाँ मन लाग्यो त्यही वनभोज गरिएको छ, महिलाहरुको लागि शौचालय नहुँदा घुम्न तथा पिकनिकको लागि पुगेका पर्यटकहरु खिन्न भएका छन् । दैनिक हजारौ पर्यटकहरु पुग्ने स्थानमा नगरपालिकाले खानेपानीको व्यवस्था समेत गर्न सकेको छैन । प्राकृतिक रुपमा स्वर्गीय आनन्द दिने श्रीनगरमा तानसेन नगरपालिकाले व्यवस्थापकीय ध्यान नदिँदा पर्यटकहरुको मन खिन्न हुने गरेको सल्यानबाट तानसेन श्रीनगर घुम्न आएका कमल थापाले बताए ।
श्रीनगरमा दैनिक एक हजारसम्म आन्तरीक पर्यटकहरु घुम्न आउने गरेको भए पनि स्थानीय सरकारको व्यवस्थापन फितलो हुँदा खुसी भएर आएका पर्यटकहरु दुःखी भएर जाने गरेको तानसेनका ईन्द्रबहादुर थापाले गुनासो गरे । बन्द अवस्थामा रहेको पर्यटन व्यवसाय एक वर्षपछि पुनःलयमा फर्किदा पर्यटकीय पूर्वाधारहरु चुस्तदुस्त भएमा पर्यटकहरुको आर्कषण बढ्ने देखिन्छ । लामो बन्दा बन्दीको कारण श्रीनगरमा व्यवस्थापन गर्न नसकिएको तानसेन नगरपालिकाले जनाएको छ । कोरोना संक्रमण अगाडि ठेक्का पक्रियाबाट श्रीनगरको व्यवस्थापन हुँदै आएको, कोरोनापछि ठेक्का प्रक्रिया रद्ध भएको, करीव एक वर्षको अवधिमा नियमित सरसफाइ नहँुदा फोहोर भएको, पानीका पाईपहरु चोरी भएको र पर्यटकहरुको आगमनसंगै नगरपालिकाले श्रीनगरमा सरसफाइदेखि खानेपानी तथा शौचालय व्यवस्थापनको लागि काम सुरु गरेको नगर प्रमुख अशोककुमार शाहीले बताए । नयाँ वर्षलाई लक्षित गरेर सरसफाइदेखि पर्याप्त खानेपानीको व्यवस्थापनामा नगर सरकार खटिएको नगर प्रमुख शाहीले बताए ।
बन्दाबन्दीको समयमा पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटकहरुलाई उपहारको रुपमा नयाँ रुप, आर्कषण दिनु पर्नेमा, भएका पूर्वाधारहरु समेत भताभुङ्ग अवस्थाले व्यवसायी पर्यटन व्यवसायमा ठुलो असर गरेको देखिन्छ, आउँदो नयाँ वर्षलाई लक्षित गरी तानसेन नगरपालिकाले श्रीनगरको सरसफाइदेखि खानेपानी बिजुलीमा ध्यान दिएमा बन्द अवस्थामा रहेको तानसेनको आर्थतन्त्र चलायमान हुने देखिन्छ ।