रवि सेन्चुरी

राष्ट्रिय दलितपत्रकार संघ, नेपाल, एक उदाहरणीय बन्ने छ । कुनै वाद र क्षेत्रको नाममा कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन । दलित समुदायको सुन्दर साझा बगैचा बन्ने छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन यतिबेला लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटकीय केन्द्रबिन्दु बुटवलमा चलिरहेछ । जसले गर्दा, यो बीच दलित तथा गैरदलित पत्रकारहरूको निकै नै चहलपहल, सरगर्मी बढेको छ । यस महाधिवेशनलाई नेपाल तथा नेपालबाहिर बसेर पत्रकारिता गरिरहेका र समाजिक न्यायका निम्ति काम गरिरहेका पत्रकार तथा अन्य व्यक्तिहरूको पनि ध्यानार्कषण गराएको छ । फागुन २८,२९ र चेत्र १ गतेसम्म हुने यस महाधिवेशनले पत्रकारिता क्षेत्र, त्यसमा पनि शदियौदेखि विभिन्न नाममा किनाराकृत पाँरिदै आएका, दलनमा परेका दलित समुदायकालागि समाजिक रूपान्तरण र समाजिक न्यायका निम्ति एक ऐतिहासिक कोशे ढुङ्गा सावित हुनेछ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै, अबका कार्यदिशा र विभिन्न रणनीतिहरू निर्माण गर्नेछ । दलित पत्रकारका निम्ति रोजगारीको सुनिश्चितता, उचित ज्यालाको पहलकदमी, सुरक्षाको प्रत्याभुति र विभिन्न मिडिया लगायत पत्रकार महासंघसँग जोड्ने सेतु बन्ने छ ।

पत्रकारितालाई राज्यको चौथौ अङ्गका रूपमा लिने गरिन्छ । नेपाल पत्रकार महासंघको अनुसार पत्रकार भन्नाले महासंघको सदस्यता प्राप्त गर्न योग्यता पुगेको, छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसंचारका माध्यमसँग आबद्ध समाचार संकलन, उत्पादन, सम्पादन, संप्रेषण, समाचार लेखन, पुनर्लेखन गर्ने कार्यका सबै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटोपत्रकार, प्रेस, क्यामेरा पर्सन, समाचार तथा समाचार मुलक कार्यक्रम निर्माता तथा संचालक, समीक्षक, साजसज्जा, भाषा सम्पादक एवम् स्वतन्त्र पत्रकार समेतलाई जनाउँछ भनेर उल्लेख गरेको पाइन्छ ।

महाधिवेशनकाे प्रभातफेरी स्राेतः पत्रकार विनाेद परियारकाे फेसबुकबाट

पत्रकार जो आफ्नो पत्रकारिताको माध्यमबाट समाजमा रहेका विकृतिहरू, सत्यतथ्यहरूलाई बाहिर ल्याइदिने कामगर्दछ । समाजिक, आर्थिक, धार्मिक, राजनीतिकलगायतका मुद्दाहरूलाई आवाज दिने काम गर्छन । पत्रकारहरू सुसुचित, आत्मनिर्भर, समतामुलक तथा न्यायपूर्ण समाजका निम्ति संघर्ष गरिरहेका हुन्छन् ।

विशेषगरि २०६२/६३ को जनआन्दोलन साथै प्रविधिक विकासले गर्दा पछिल्लो दशकमा विभिन्न सञ्चार माध्यमहरू नेपालमा स्थापित भएका छन् । जस्तै रेडियो, छापा तथा अनलाइन पत्रपत्रिका, टेलिभिजनसँगै विभिन्न समाजिक सञ्जालले गर्दा पत्रकारिता क्षेत्रमाक्रान्ति नै भएको छ । आज यो क्षेत्र पनि रोजगारीका प्रमुख माध्यम बन्दै छ । पछिल्लो समयमा दलित युवा युवतीहरू यस क्षेत्रमा पनि आर्कषित भएको पाइन्छ । सञ्चार माध्यमहरूमा कुनै न कुनै माध्यमबाट दलित समुदायका पत्रकारहरूको प्रतिनिधित्व भएको पाइन्छ । के, कसरी दलित पत्रकारहरूको नेतृत्वदायी भूमिका सृजना गर्न सकिन्छ भन्ने विषय यस महाधिवेशनको प्रमुख मुद्दा मध्ये एक हुनेछ । अझै पनि दलित पत्रकारले आफ्नो क्षमता अभिवृद्धि गर्ने पर्याप्त अवसर पाउन सकेका छैनन । क्षमता भएकाले पनि आफ्नो क्षमता अनुकुलको भुमिका प्राप्त गर्न सकिरहेका छैनन ।

अझै पनि दलित समुदायका लगानीमा ठुला सञ्चार माध्यमहरू छैनन् । राज्य नियान्त्रिक सञ्चार माध्यमहरूमा दलित पत्रकारको सन्तोषजनक उपस्थिति छैन । नीजि क्षेत्रका मिडियामा दलित पत्रकारको केहि उपस्थिति छ, तर उनीहरूको निर्णायक तहमा नगन्यमात्रमा उपस्थिति रहेको पाइन्छ ।
आयोजकका अनुसार यस प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन देशभरिबाट ४ सय बढि पत्रकारहरू सहभागी हुने बताइएको छ । जुन आफैमा ऐतिहासिक हो किनकी यस राष्ट्रिय महाधिवेशनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विभिन्न जिल्लाका दलित पत्रकारहरूलाई एकै ठाउँमा ल्याउने साथै उनिहरूलाई एक आपसमा परिचय, विचार तथा अनुभव आदानप्रदान गर्ने वातावरण सृजना गर्छ । जसले गर्दा दलित पत्रकारहरूलाई आफ्नो क्षेत्रमा काम गर्न थप उर्जा मिल्ने छ ।

नेपाल लगायत दक्षिण एसियामा जातव्यवस्थाले मानिसहरूलाई आपसमा ठुलो सानो, पानी चल्ने/नचल्ने, पवित्र/अपवित्रभनेर आपसमा शदियौदेखि विभाजित गर्दै आयो । मनुस्मृतिका ती विभेदकारी श्लोकहरू जसलाई हिन्दु शास्त्रमा आधारित राज्यशासनव्यवस्था अनुरूप जय स्थिति मल्लको मानवन्यायशास्त्र, रामशाह र पृथ्वीनारायण शाहको असलीहिन्दुस्तान र जगबहादुर राणामुलुकी ऐन १९१० ले मजबुत बनाउन मलजल गर्ने काम गर्यो । दलित समुदाय र उनीहरूका सन्ततिहरूलाई शताब्दियौदेखि यस जातव्यवस्थाले उनीहरूको मौलिकअधिकार खोसेर पशुतुल्य जीवन जिउन बाध्य बनाई रह्यो । दलित समुदाय, सीप र क्षमता हुँदाहुँदै पनि जातिय आधारमा राज्यको पहुँच र स्रोतसाधनबाट सँधै बञ्चित बनिरहे । आफु माथि हुने अन्याय, अपराध र विभेदहरू दलित समुदायलाई पूर्व–जन्मको कर्मका रूपमा स्वीकार्न लगाई भाग्यवादी बनाइयो । दलितहरूले पनि आफुमाथि हुने हरेक विभेदलाई खुनको आँसु पिएर स्विकार गर्न बाध्य भए । भुमिहिन, आर्थिक अभाव, शिक्षामा कमि, राज्यका स्रोतसाधनमा पहुँचको कमिआदि कारणले गर्दा दलितहरू सँधै मारमा परिरहे ।

अहिले बिस्तारै समय फेरिएको छ । दलितहरूले पनि प्रश्न गर्न थालेका छन् । अन्याय अत्याचार विरुद्ध खुलेर बोल्न थालेका छन् । आज नेपालको कुनै एक ठाउँमा दलितमाथि हुने विभेद विरुद्ध नेपाल भरि आन्दोलन हुने वातावरण सृजना भएको छ । न्यायका निम्ति सघर्ष हुने गर्छ । यसको पछाडी कहि न कहि पत्रपत्रिका र पत्रकारको भुमिका रहेको छ । त्यसमा पनि दलित पत्रकारको भुमिका महत्वपुर्ण रहेको पाइन्छ छ । रुकुमको नरसंहार, अंगिरा प्यासी, अजित मिजार, माया वि.क साथै राजु सदा, शम्भु सदा लगायत नेपाल भरि हुने कुनै पनि प्रकारकाविभेद्ध विरुद्ध ससक्त आवाज उठाइरहेका छन् । यी आवाजहरूले दोषिलाई कानुनी कठघरामा ल्याउने काम गरेको छ । अझै पनि नेपाली समाजमा दलितमाथि हुने विभेदलाई सामान्य रूपमा लिने गरिन्छ । यिनिहरू माथि भैरहेको गम्भिर विभेद्धलाई अनदेखा गरिन्छ । कतिलाई घटनाहरू दबाइन्छ । कतिलाई मिलापत्र गराईन्छ । समयमा कानुनी सहयोग नहुँदा मुद्दाहरू तुहिएर जान्छन् । यी सबैका निम्ति, सत्यतथ्य बाहिर ल्याउन, राज्य र सम्बन्धित निकायलाई झकझकाउन दलित पत्रकारको अह्म भूमिका रहेको छ । आज गुपचुप पारेका त्यस्ता घटनाहरूलाई बाहिर ल्याइदिएर, दोषीलाई कानुनी कारबाही गरेका धेरै उदाहरणहरू छन् ।तर काहिलेकाहिव्यक्तिगत स्वर्थले गर्दा पत्रकारहरू आफ्नो जिम्मेवारीबाट विमुख भएको पाइन्छ । यस्तो बेलामा हामीले निरन्तर उनीहरूलाई खबरदारी गर्न आवश्यक छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्वपनि चयन गर्ने भएकाले अब कस्तो नेतृत्व आउँछन्, त्यो महत्त्वपूर्ण हुन्छ । ती नयाँ नेतृत्व कतिको समावेशी हुन्छ । दलित समुदायले समावेशी आवाज उठाइरहदाँ, यस राष्ट्रिय दलित पत्रकार संघ, नेपाल आफैमा कतिको समावेशी हुन्छ । त्यस भित्र फरक आर्थिक, समाजिक, भौगोलिक भएका महिला, दलित भित्रका अन्य जातिहरूलाई कसरी समावेश गरिन्छ । समावेश देखाउनका निम्तिमात्र हुन्छ कि साँच्चिनै जिम्मेवारी भुमिका प्रदान गरिन्छ, जस्ता प्रश्नहरू रहेका छन् । यी सबै प्रश्नका व्यावहारिक उत्तरले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको औचित्यलाई पुष्टि गर्नेछ । किनकि अहिलेसम्मका इतिहासलाई नियाल्दा जिल्ला तह, केन्द्रमा धेरै कमिटी बनेको पाइन्छ । तर निरन्तरताको अभावको कारण खोज्न जरुरी छ । दलित पत्रकार, जसले समाजलाई नै मार्गदर्शन गर्न सक्छन । विकृति विसंगति विरुद्ध जनमानव संगठित गर्न सक्छन् ।

राष्ट्रिय दलितपत्रकार संघ, नेपाल, एक उदाहरणीय बन्ने छ । कुनै वाद र क्षेत्रको नाममा कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन । दलित समुदायको सुन्दर साझा बगैचा बन्ने छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको सफलताको कामना व्यक्त गर्दछु ।