“शायद पहाडले भन्दो हो मेरो सबैभन्दा ठूलो शत्रु डोजर हो ।”
परिस्थितिलाई व्याख्या गर्नका लागि झरनालाई यसो भन्दै गर्दा हामीले राजनीति, संरक्षण, जीविकोपार्जन लगायत विषयमा केही छलफल गरिसकेका थियौं ।

रामचन्द्र श्रेष्ठ

“तिमीहरू भाग्यमानी हौ । पानी खसेको डेभिज फल्स सबैले देख्छन् । पानी बिनाको देख्ने अवसर कमैले पाउँछन् । तिमीहरूले यो अवसर पायौ ।”

पानी बिनाको सुख्खा, गहिरो डेभिज फल्स देखेर उदास अनुहार लगाएका विद्यार्थीहरूलाई सकारात्मक भाव दिन म यसो भन्दै थिएँ ।

फागुन १७ गते सोमबार, बिहान पौने दश बजेतिर यसो भन्दै गर्दा पोखराको तापक्रम न्यानो थियो ।

पानी बिनाकै भए पनि गहिरो छाँगाको अवलोकन गरी हामी रमाइरहेको पलको ५९ वर्ष ७ महिना पहिला भने यहाँ शोक मच्चिएको थियो । त्यो सोमबार कै दिन थियो । सन् १९६१ जुलाई ३१ (२०२१ असार १) गते एकजोडी स्वीस दम्पत्ति यो छाँगोभन्दा केही माथि नुहाइरहेका थिए । एक्कासी ती दुई मध्ये श्रीमती डेभिड बाढीका कारण बगिन् र यो छाँगोबाट खसिन् । तीन दिनको कडा मिहिनेत पछि उनको शव फुस्रे नदीमा भेटियो । उनको पिताले उनको सम्झनामा यो छाँगोको नाम ‘डेभिड्स फल्स’ राख्न खोजेका थिएँ । तर, यो अप्रभंस भई डेभिज फल्स बन्न पुगेको छ । नेपालीमा भने यसको नाम ‘पाताले छाँगो’ हो । फेवातालको पानी कहाँ पुग्यो भन्ने अनुमान गर्न गाह्रो भएकाले जमिन मुनि पातालतिर भासिएको आशंकामा यसको नाम पाताले छाँगो राखिएको हुनुपर्छ । त्यहाँ राखिएको सुचना बोर्ड अनुसार पाताले छाँगोको लम्बाई ५०० मिटर छ भने गहिराई १०० फिट छ ।

पाताले छाँगोको दृश्यावलोकन गर्दा मलाई स्कुले कालमा पढेको नेपाली कमिक्स ‘जुँगे हवल्दार’को सम्झना भयो । ‘जुँगे हवल्दार’ कमिक्स बुटवलबाट प्रकाशित हुन्थ्यो । कुनै संयोगले त्यसको कुनै अंक हाम्रो हातमा परेको थियो । त्यो मन परेपछि बाँकी अंक पढ्नको लागि हामीले पत्र लेखेका थियौं । अनि हाम्रो अनुरोधमा कमिक्सको लागत शुल्क पठाएपछि हरेक अंक हुलाक मार्फत प्राप्त भएको थियो । त्यो समय नै बेग्लै थियो । मनोरञ्जन वा सुचनाको लागि रेडियो बाहेक अरु केही थिएन । तर, ब्याट्री धेरै खर्च हुने कारणले रेडियो नियमित सुन्न पनि गाह्रो थियो । हुलाकमार्फत कमिक्स गाउँमा पुग्नु र हाम्रा किशोर दिनलाई रोमाञ्चित गराउनुमा कमिक्सका प्रकाशकहरू धन्यवादका पात्र हुन् । तर, कमिक्स धेरै साथीले पढ्दा पढ्दै हराए । अनि बुटवल आएपछि पनि मैले कमिक्स प्रकाशकहरूबारे खासै जानकारी पाएन ।

‘जुँगे हवल्दार’को कुनै एउटा अंकमा पाताले छाँगोको चर्चा थियो । स्मृतिको धमिलो पर्दामा कमिक्सको कथानक विलुप्त प्राय भईसकेको छ । तर, सम्झनाको सुदुर क्षितिज पाताले छाँगाको चर्चा, त्यहाँ पुगेर जुँगे हवल्दारले गरेको कष्टपूर्ण संघर्ष भने अझै ताजै छ ।

पोखरा भ्रमणको हाम्रो साइत १६ गते आइतबार बिहान भएको थियो । कक्षा ८ र ९का ६० जति विद्यार्थीलाई लिएर कुल, सचिन र शान्ति म्याडमको टोली बिहान ७ बजेतिर स्कुल छाडेको थियो । म राजमार्ग चौराहाबाट यात्रामा सामेल भएको थिएँ । दुईवटा बस मध्ये मेरो बसमा धेरै छात्राहरू थिए । मसँगै सीटमा कक्षा ९ की छात्रा झरना थिइन । झरना कम बोल्ने, गम्भीर र जेहेन्दार छिन् । बाटोमा उनका कैयौं जिज्ञासाहरूबारे हामी छलफल गर्दै गयौं । सिद्धबाबा पुग्ने बेलामा उनले ‘माता उत्रने’ बारे जिज्ञासा राखिन् । मनोवैज्ञानिक र मनोस्वास्थ्यका केही लेखहरू पढेको आधारमा मैले उनलाई ‘माता उत्रने’ खासमा मानसिक समस्या भएको र त्यसको उपचार हुने बताए ।

पुतलीबजार स्याङ्जा

विज्ञानले उन्नतिको शिखर उक्लिरहँदा हामीमा अन्धविश्वासले जरा गाडेकै छ । उसो त स्युडो साइन्सको प्रभाव पनि उत्तिकै छ । विज्ञानलाई केवल पाठ्यपुस्तकको सीमामा कैद गर्नु र त्यसमा पनि घोकन्ते विषयको रूपमा मात्र सीमित पार्नुले वैज्ञानिक चेतनाको प्रसार भईरहेको छैन । वैज्ञानिक चेतना भनेको प्रश्न गर्नु, कार्यकारण सम्बन्ध खोज्नु र तथ्यको आधारमा सत्य पत्ता लगाउनु हो भन्ने धेरैलाई बोध भएको छैन । झरनासँग कुरा गरिरहँदा मलाई भित्रैबाट हामीले विज्ञानका कोरा तथ्यहरूभन्दा बढी वैज्ञानिक चेतनालाई प्रसार गर्नुपर्ने र त्यसका लागि विज्ञान साहित्यलाई प्रचार गर्नुपर्ने आवश्यकता महसुस गरें । शायद यहीं भएर होला प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङले आफ्नी छोरीसँग मिलेर केयौं विज्ञान साहित्य लेखेका । उनी दुई लिखित ‘जर्जको ब्रह्माण्ड यात्रा’ लगायत बाल विज्ञान उपन्यास स्कुले विद्यार्थीको लागि निकै पठनीय छ ।

केराबारीबाट उकालो लाग्दै गर्दा हामीले पहाड ताछिएको नमिठो दृश्यहरू देख्यौं । तिनाउ नदीको उत्तरी तटका पहाडहरू ढुंगाका लागि ताछिएका दृश्य निकै विरक्त लाग्दो छ । मलाई थाहा छैन यसरी ढुंगा उत्खनन् गरिनुअघि वातावरण प्रभाव मुल्यांकन (इआइए) भयो कि भएन, वा भएर पनि केवल नाममात्रको भयो, त्यसका सुझावहरूलाई नजरअन्दाज गरियो । जे सुकै होस्, तिनाउको उत्तरी भागमा यसरी वन विनाश र प्राकृतिक स्रोतको अति दोहन गरिने हो भने निकट भविष्यमै भावर र नदीको दक्षिणी भू–भागमा निकै ठूलो संकट उत्पन्न हुनेछ । सबैभन्दा प्रमुख संकट पानीको हुनेछ । भावर क्षेत्रको पानीको स्रोत नदी नै हो । तर, नदीको स्रोतमा नै खेलबाड गरिने हो भने भावरको भूमिगत जलभण्डारमा असर पर्नेछ । यसको असर प्रष्ट देखिइसकेको छ ।

लुम्बिनी टाइम्स म्यागाजिनको प्रवेशांकमा जीवराज चालिसेले चुरेको दोहनबारे एउटा रिपोर्ट लेखेका छन् । उक्त रिपोर्टमा उल्लेख भएअनुसार अर्थ मूभर्स प्रालिले २०५८ सालमा खनेको १८ मिटर गहिरो इनारमा केही वर्षसम्ममात्रै पानी आयो तर त्यही इनारमा २०६७÷६८ तिर सुख्खायाममा पानी सुकेको भेटियो । इनारको तल्लो सतह र खोलाको सतहको फरक करिब १० फिट भएको पाइएको थियो । नदीजन्य स्रोतको असीमित दोहनका कारण नदी गहिरिनु र नदीको माथिल्लो तटीय क्षेत्रमा वनविनाश हुनुका कारण पानीको स्रोतमा समस्या देखिन थालेको छ । अनुमान गर्न सकिन्छ, यदी यो अवस्था निरन्तर भईरहने हो भने ३०–४० वर्षमा भावर क्षेत्रमा पानीको असाधारण संकट देखिने छ । पानीको कारण द्वन्द्व हुनेछ । सिँचाईको अभावका कारण खेतीयोग्य जमिनको मरुभूमिकरण हुनेछ ।

झट्ट हेर्दा यी सबै विषय राजनीतिसँग प्रत्यक्ष नजोडिएका लाग्छन् तर यी राजनीति भन्दा पर छैनन् । प्राकृतिक स्रोतको अति दोहन गरी व्यक्तिगत नाफा कुम्ल्याउन राजनीतिले नै भरथेग गरिरहेको छ । हाम्रा राजनीतिक दलहरूको आर्थिक स्रोत, संगठनमा प्रभावशाली व्यक्तिहरू र तिनका पेशालाई मसिनो गरी नियाल्ने हो भने हामीले प्राकृतिक स्रोतको दोहनमा लागि परेकाहरूको ठूलो सञ्जाल देख्छौं । राजनीतिले प्राकृतिक स्रोतको दोहनलाई मलजल गरिरहेछ भन्ने उदाहरण टिप्परमाथि नियन्त्रणको अभावले पुष्टि गर्छ । सुन्नमा आएको थियो, जनप्रतिनिधीहरू नै टिप्पर नियन्त्रणको विपरीत छन् । किनभने तिनका आसेपासेहरू कै लगानीमा टिप्पर सञ्चालित छ । प्राकृतिक स्रोतको दोहनबाट मोटाउनेहरू नै राजनीतिक दलहरुका अर्थका स्रोत हुन् । राजनीतिको संरक्षण बिना प्राकृतिक स्रोतको दोहन सम्भव छैन । बेला–बेलामा काली गण्डकीलाई तिनाउमा मिसाउने योजनाको चर्चा सुनिन्छ तर तिनाउको माथिल्लो तट र नदी किनारको संरक्षणमा ध्यान नदिने हो भने त्यो योजना पनि फोस्रो गफ हुनेछ । किनभने कालान्तरमा, यसै गरी कालीगण्डकीमा पनि समस्या हुनेछ ।

“शायद पहाडले भन्दो हो मेरो सबैभन्दा ठूलो शत्रु डोजर हो ।”
परिस्थितिलाई व्याख्या गर्नका लागि झरनालाई यसो भन्दै गर्दा हामीले राजनीति, संरक्षण, जीविकोपार्जन लगायत विषयमा केही छलफल गरिसकेका थियौं । मलाई लाग्छ, नयाँ पुस्तालाई कसरी दैनन्दिनको विषय राजनीतिसँग प्रत्यक्ष जोडिन्छ भन्ने बताउन र बुझाउन जरुरी छ । किनभने, उनीहरूको भविष्यमाथि भईरहेको खेलबाडबारे उनीहरू जानकार हुन पाउनुपर्छ । यस्तै सन्दर्भहरूको प्रभावले स्वीडेनकी स्कुले छात्रा ग्रेटा थनबर्गले जलवायु परिवर्तनको लागि अभियान नै थालेकी छन् । स्कुलको परिधिबाट पनि सामाजिकदेखि वातावरणीय मुद्दाहरूमा आवाज उठाउन सकिन्छ भन्ने एउटा आइकन बनेकी छन् ग्रेटा । हाम्रा स्कुलहरूले पनि ग्रेटा जन्माउन सक्नुपर्छ । त्यसका लागि दैनिक जीवनमा राजनीति कसरी जोडिन्छ भन्ने राजनीतिक चेत दिलाउनै पर्छ । तर, विडम्बना लगभग सबै राजनीतिक दलहरूले विद्यार्थी संगठन बनाए पनि राजनीतिक चेतना उकास्ने काम भने गरेनन् । केवल ‘यस म्यान’ तयार पार्ने उद्योग बने विद्यार्थी संगठनहरू ।

बाटो खुल्ने प्रतिक्षामा लामबद्ध गाडीहरू भालुपहाडमा

झरनासँग कुरा गर्दै गर्दा बस गौंडे पुल पुगेर रोकियो । यहाँ हामीले नास्ता गर्नु थियो । लघुशंका निवारण गर्नुथियो । पाल्पाली मगर हातले बनेको बटुक, पकौडा र चुकौनीको स्वाद प्रशंसायोग्य नै थियो ।

स्कुले केटाकेटीसँगको यात्रा अलि फरक हुन्छ । यसको रौनक नै अर्कै हुन्छ । किशोरावस्थाका अनेकन परिवर्तन भोगिरहेका किशोरकिशोरीहरूको उमंग, उत्साह र जोश बसभरि कहिले गीत गायनको रूपमा त कहिले नाचको रूपमा छचल्किरहेको थियो । धेरैजना यसरी घर, स्कुलको सीमित परिधिबाट बाहिर एकखालको उन्मुक्त परिवेश महसुस गरिरहेका थिए । उनीहरूको जीवन्त उत्साहले मलाई पनि रोमाञ्चित गराईरहेको थियो । साथमा शिक्षक हुनुको जिम्मेवारी बोध पनि । शिक्षकले एकैपटक धेरै भूमिका निभाउनुपर्छ । उ सँधैभरि जानकारी र ज्ञान प्रसारण गर्न तयार हुनुपर्छ र सिक्न उत्साहित गराउनुपर्छ । उसले अभिभावकको भूमिकामा ख्याल गर्नुपर्छ र साथीको भूमिकामा व्यवहार गर्नुपर्छ । किशोरकिशोरी चङ्गा जस्तै हुन् उनीहरूलाई उड्न मनपर्छ । तर, उड्न अवसर दिइरहँदा लट्टाईको मसिनो धागो चुट्न भने दिनुहुँदैन ।

शिक्षक, अभिभावक र साथीको भूमिका एकैपटक निर्वाह गर्नुपर्ने कर्तव्यबोधलाई महसुस गरिरहँदा पनि मैले स्याङ्जाका घुम्ती, पहाड, धुलो र बस्तीहरू अवलोकन गर्न छुटाएको थिएन । वालिङको बजार निकै फैलिएको देख्दा मलाई पहाडी भेगमा पनि शहरीकरणको बढ्दो सम्भावना महसुस भयो । पुतलीबजार नगरपालिका वार्ड नम्बर एकमा हाम्रो गाडी खानाको लागि रोकियो । ठूलो संख्या भएकाले हामीले पालैपालो खाना खानुपर्ने भयो । हामी केही जना होटलको छतबाट बजारको अवलोकन गर्न थाल्यौ । केही छात्रहरुसँग मैले फोटो खिचें । माडी खोलाको फाँट निकै मनमोहक देखिन्थ्यो । पर–पर केही सिमलका फुलेका बोटहरू राताम्य देखिन्थे । होटलको छतमा पुरानो, बिग्रिएको लगेजमा माटो भरेर धनियाँ र ब्रोकाउली खेती गरेको दृश्य पनि लोभलाग्दो थियो ।

बिग्रिएको लगेजमा तरकारी खेती

म समय चोरेर एकछिन बजार डुले । चोकमा बिपीको शालिक रहेछ । बिपीको शालिक वरीपरी उनको भनाईहरू कुँदिएको रहेछ । बिपीको उक्त प्रतिमा २०५८ भाद्र २४ गते उनका भाई तथा तत्कालिन प्रम गिरिजा प्रसाद कोइरालाले अनावरण गरेका रहेछन् ।

पुतलीबजार शहरीकरणतर्फ यात्रारत रहेको छ भन्ने दृश्यहरू छरपष्ट थिए । उसो त नगरपालिका घोषणा हुनु नै शहरीकरणको प्रक्रिया हो । तर, शहर बन्नका लागि राजनीतिक घोषणाले मात्र पुग्दैन । शहरका केही विशिष्ट चरित्रहरू अंगीकार गर्नुपर्छ । बजार, बस्ती, संस्कृति, पेशा, जनघनत्व लगायत धेरै पक्षहरूको समायोजनले शहरले निश्चित आकृति र गुण ग्रहण गर्दछ । एकठाउँमा ‘ट्याटु सप’ देखियो । यसले मलाई पुतलीबजार शहरी पहिचान ग्रहण गर्न अग्रसर भएको महसुस गरायो । तर, शहरीकरण भनेको पश्चिमाकरण नै पनि होइन । बजारमा पुस्तक पसल र पत्रिकाहरूको अभाव भने खट्कियो । त्यस्तै सार्वजनिक शौचालयको अभाव हाम्रा शहरहरूको चिह्न नै भएको छ ।

बाटो विस्तारको कारण भालुपहाडमा लगभग एक घण्टा जाममा पर्यौं । जामका कारण केही गाडी र मोटरसाइकलको लामो लाइन थियो । पारीपट्टि पनि त्यस्तै दृश्य देखिन्थ्यो । बीचमा डोजरले ढुंगा र माटो फाल्दै थियो । म र कुल सर बसबाट ओर्लियौं । बाटो खुल्ने समयको अनुमान गर्न थाल्यौं । केही फोटो र सेल्फी खिच्यौं । जाममा मानिसहरूको फँसेको मौका पारी केही खुद्रा पसलेहरूले चिप्स, जुस, बदाम र पानीको व्यापार गर्दैथिए । यसरी परिबन्दले जम्मा भएका मानिसलाई पनि सामान बेच्न मान्छेहरु तम्सिहाल्छन् । उसो त बीच बाटोमा पानी र खानेकुरा बेचेर उनीहरुले उद्धार नै गरेका होलान् । तर, यस्तो व्यापारमा सामानको मूल्य भने अचाक्ली बढेको हुन्छ ।

पोखरा पुग्नैलाग्दा पौने पाँच बजेको थियो । गाडी बाटोमा नै रोकेर ‘ह्वाइट टेम्पल’ (श्वेत मन्दिर– खासमा श्वेत गुम्बा) अवलोकनको लागि हामी पैदल लाग्यौ । लगभग आधा घण्टा उकालो चढेर पुग्दा पाँच बजेर दश मिनेट भएको थियो । श्वेत गुम्बा पाँच बजे बन्द हुने रहेछ । लामो यात्रा अनि कष्टसाध्य उकालो हिंडाई पछि पनि गुम्बा हेर्न नपाएका कारण विद्यार्थीहरू निराश थिए । हामीले नजिकैको ‘इलिट’ क्याफेबाट फेवाताल र पोखरा हेर्ने व्यवस्था गर्याैं । क्याफेका सञ्चालकले हार्दिकतापूर्वक हाम्रो अनुरोध स्वीकार गरे । तर, तुँवालोले दृश्य त्यति सफा थिएन । पानीका केही छिटा परेका थिए । केटाकेटीको मन यसै खिन्न थिए । परिस्थितिलाई सामान्य गराउन मैले मजाक गरें—
“ह्वाइट टेम्पल अभागी हो । हामी यत्तिजनाको दर्शन नै पाएन ।”
आखिर परिस्थितिलाई कसरी आत्मसात गर्ने भन्नेले मनस्थिति निर्माणमा यथेष्ट प्रभाव पार्दछ ।

‘इलिट’ क्याफेको मेनुमा ‘चे ग्वेभारा’को फोटो थियो । मैले सञ्चालकलाई भने— “मेनुमा चे ग्वेभाराको फोटो पनि राख्नुभएको रहेछ ।” तर, उनी यसबारे वार्तालाप गर्न खासै उत्साहित देखिएनन् । मलाई भने इलिट शब्दसँग चे ग्वेभाराको फोटो राखेको चित्त बुझेन । मैले कागजको टुक्रामा यसबारे एउटा नोट लेखेर एउटा मेनुको बीचमा खुसुक्क राखिदिएँ ।

विद्यार्थीहरूसँग उकालो उक्लदैं लेखक

आकाशबाट पानीका केही थोपा चुँहिदै गर्दा हामी ओरालो दौडिरह्यौ । लामो समय उकाली ओराली नहिंडेका कारण मलाई आफैमाथि शंका थियो । तर, उकालो पनि मज्जाले हिंड्न सकेको खुशीमा म ओरालो भने दौडिरहेको थिएँ । पेडोमिटरले बतायो मैले लगभग ५३०० पाइला हिंडेछु र चार किलोमिटर पार गरेछु ।

पहिल्यै निर्धारित गरेको होटलमा थाकेको ज्यान पुर्याउँदा पोखरा सन्ध्यासँग रमाउँदै थियो । केहीक्षण पछि हामीले पनि साथ दियौं ।