भैरहवा । लुम्बिनी प्रेस क्लबले पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्रदान गर्नका लागि मूल्यांकन समितिको बैठक प्रथम चरणमा बसेको छ । बैठकले पुरस्कारका लागि मापदण्ड निर्धारण गरेको छ ।
अग्रज पत्रकार नारायण सापकोटाले आफ्नी आमाको सम्झनामा स्थापना गरेको भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी क्षेत्रमा रहेर पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई प्रदान गर्नका लागि विभिन्न मापदण्ड बनाई ५० हजार राशीको पुरस्कार प्रदान गरिने मूल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए । लुम्बिनी प्रेस क्लबले कुलमणि ज्ञवालीको संयोजकत्वमा, पुरस्कार संस्थापक नारायण सापकोटा र कार्यसमिति सदस्य शशि पन्थीको प्रथम बैठकबाट पर्यटन विज्ञलाई समेत बैठकको सदस्य पदमा मनोनित गरी मूल्यांकनका चरणहरू सुरु गर्न पत्राचार गरेको लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले बताए । समितिको प्रथम बैठकले मूल्यांकन समितिमा दुई जना सदस्यहरू पर्यटन विज्ञका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक प्रा.डा.गितु गिरी र पर्यटन कार्यालय बेलहियाका प्रमुखलाई मनोनित गरी पाँच सदस्यीय मूल्यांकन समितिको बैठक आवश्यकता बमोजिम बस्ने मूल्यांकन समितिका संयोजक कुलमणि ज्ञवालीले बताए ।
भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ छनौटका लागि यस क्षेत्रका पत्रकारहरूलाई आह्वान गर्ने र पुरस्कार छनौटका लागि लुम्बिनी प्रेस क्लब रूपन्देही भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७५ नियमावलिमा उल्लेख भएको व्यवस्थाअनुसार गर्ने मूल्यांकन समितिका सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले बताए ।
लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा, गोटिहवा, कुदानलगायत लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विषय बस्तु हुनुपर्ने मूल्यांकन समितिले जनाएको छ । लेख, रचना, फिचर, रिर्पोटिङहरू खोज अनुसन्धान मूलक हुनुपर्ने मूल्यांकन समितिले निर्णय गरेको छ । त्यसैगरी कला, संस्कृति झल्कीने, नयाँ पर्यटकीय गन्तव्य पहिचान हुने ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व बोकेका विषयवस्तु समेटेर प्रकाशन प्रशारण भएका ५÷५ वटा लेख, रचना, फिचर वा रिर्पोटिङलाई मूल्यांकनमा समावेश गरिने पुरस्कार संस्थापक तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार नारायणप्रसाद सापकोटाले बताए ।
भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार लुम्बिनी प्रेस क्लबको आयोजनामा प्रत्येक वर्ष असोज २२ गते कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले बताए । हालसम्म यो पुरस्कार कान्तिपुर दैनिकका लुम्बिनी प्रदेश ब्युरो प्रमुख दिपेन्द्र बढुवालले पाइसकेका छन् ।